Shittalpati
इतिहास बन्दै ढिकी–जाँतो

पाल्पा, गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो अहिले भने लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् ।

पाल्पा र गुल्मीका गाउँघरमा विद्युत र डिजेलबाट चल्ने मिल चल्न थालेपछि परम्परागत ढिकी–जाँतो र पानी घट्टको प्रयोग घटेको हो । अहिले गाउँ–गाउँमा धमाधम आधुनिक विद्युतीय र डिजेलबाट चल्ने मिल सञ्चालन भइरहेका छन् । जसले गर्दा परम्परागत साधन विस्थापित हुँदै गएका हुन् । गाउँघरमा बिहान सबेरै उठेर महिलाहरुको काम ढिकी र जाँतोमा धान कुट्ने, गहुँ फल्ने, गहुँ, कोदो, मकै, फापर र दाल पिस्ने हुन्थ्यो । गाउँमा सबैका घर ढिकी वा जाँतो हुन्थ्यो । भालेको डाकोसँगै उठेर कुटानी–पिसानी गर्नुपर्ने बाध्यता सबैलाई थियो, तर कुटानी–पिसानीका आधुनिक मिलहरुले आजभोलि सबैलाई सजिलो बनाएको छ । केही वर्षअघि पाल्पाको माथागढी–४ झडेवाकी मनिषा पराजुलीले ढिकीमा धानदेखि गहुँ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकै लगायतको पिठो पिस्ने काम गर्थिन् । तर, पछिल्लो समय गाउँमा ढिकी तथा जाँतोको विकल्पमा विद्युतबाट चल्ने मिलहरु खुलेपछि भने ढिकी तथा जाँतो प्रयोग गर्नै छोडेको उनको भनाई छ । ‘बिहान उज्यालो नहुँदै ढिकी, जाँतोको काम गर्थो, साँझको खाना खाएर पनि राति अबेरसम्म कुट्न, पिस्न पथ्र्यो’, गुल्मी इस्मा गाउँपालिका–२ की कमला मल्लले भनिन्, ‘अहिले जताततै विजुलीबाट चल्ने मिल आएपछि भने सुविस्ता भएको छ ।’ आफ्नो घरसँगै गाउँका प्रत्येक जसो घरहरुमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उनले बताइन् । तानसेन छ्र्लु·की मीना भट्टराईले कुटानी–पिसानीका आधुनिक उपकरणको प्रयोगले आफूहरुलाई समयको बचत गराएको बताइन् । आधुनिक मेसिनले समयको बचत भए पनि अन्नको स्वाद भने नरहेको उनको भनाई छ । 

‘परम्परागत साधनबाट पिसेको अन्नबाट पकाएका परिकार स्वादिला हुन्थ्यो,’ भट्टराईले भनिन्, ‘अहिलेका मेसिनले पिस्न, कुट्न सजिलो बनाएको छ तर जुन मिठोपन थियो त्यो हराएको छ ।’ गाउँ–गाउँमा विद्युत पुगेसँगै जिल्लाका अधिकांस ठाउँमा विद्युतबाट चल्ने मिल राखेर कुटनी पिसनी हुन थालेपछि गाउँमा परम्परागत रुपमा चल्दै आएका ढिकी तथा जाँतो इतिहास बन्न पुगेका छन् । अहिलेसम्मको पुस्ताले जसोतसो ढिकी जाँतो देखे पनि अब नयाँ पुस्ताका लागि भने यी साधन इतिहास बन्ने गुल्मी मुसिकोटका इतिहासका जानकार चामबहादुर थापाले बताए ।   

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update