Shittalpati
रिगलको कैद मिनाह बदर

पाल्पा, सर्वोच्च अदालतले योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको हो ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपनाप्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले विहीबार गरेको फैसलामा यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्तरुपमा  खुलाएर मात्र निर्णय गर्ने गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी गरेको छ ।

अदालतको फैसलामा भनिएको छ, ‘निज प्रत्यर्थी रिगल ढकाललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी हुने ठहर्छ ।’

संविधान दिवसका अवसरमा गत असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकाल (रिगल) को कैद मिनाहा भएको थियो । उक्त निर्णयविरुद्ध रिगलद्वारा हत्या गरिएका चेतन मानन्धरका पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

रिगलले २०७२ असार २८ गते नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेबापत् तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए । खुँडाले मान्छे काट्नेजस्तो जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाह गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै भारतीले कसुरदारलाई पुनः कैद गरिपाऊँ भनी रिट दायर गरेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update