Shittalpati
सर्वोच्चको आदेशपछि रिगल पक्राउ

पाल्पा, सर्वोच्च अदालतको परमादेशसँगै योगराज ढकाल (रिगल) पक्राउ परेका छन् । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको हो । उनलाई जेल चलान गर्न लागिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले उनको ६० प्रतिशत कैद कट्टा गर्ने निर्णय गरेकोमा सर्वोच्चले त्यसलाई बिहीबार खारेज गरेको हो ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपनाप्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले विहीबार गरेको फैसलामा यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्तरुपमा  खुलाएर मात्र निर्णय गर्ने गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी गरेको छ ।

अदालतको फैसलामा भनिएको छ, ‘निज प्रत्यर्थी रिगल ढकाललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी हुने ठहर्छ ।’

संविधान दिवसका अवसरमा गत असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकाल (रिगल) को कैद मिनाहा भएको थियो । उक्त निर्णयविरुद्ध रिगलद्वारा हत्या गरिएका चेतन मानन्धरका पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update