Shittalpati
च्याउ चिनेर मात्र सेवन गरौं

गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा त्यस्ता थुप्रै प्रजातिका खानयोग्य र स्वादिलो च्याउहरू पाइन्छ । विशेष गरी वर्षायाम लागेसँगै वन, पाखा, खोला तथा खाली चउरमा समेत प्रशस्त च्याउ उम्रने गर्छ । च्याउ अति नै पौष्टिक तत्व पाइने स्वादिष्ट तरकारी होे । तर, जंगलमा उम्रने सबै च्याउ खानयोग्य हुँदैनन् । कतिपय प्रजातिका च्याउ खाँदा ज्यानै जान सक्छ । विषालु च्याउको सेवनबाट विश्वभरि नै मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि पहाडी तथा दुर्गम क्षेत्रमा विषालु च्याउको सेवन गरेर धेरैले ज्यान गुमाएका छन् । केही दिन अघि गुल्मीको इस्मामा जंगली च्याउ खाँदा तीन जना विरामी भएका छन् । च्याउको पहिचान नै नगरी जथाभावी खाँदा विरामी हुने र ज्यानै जाने जोखिम रहन्छ । कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउन सक्ने सामान्य ज्ञान भएमा पनि विषालु च्याउ खानबाट बचिन्छ । यद्यपि असावधानीवश हामी विषाक्त च्याउ खान पुग्छौं । च्याउमा प्रोटिनको मात्रा मासुको हाराहारिमा पाइन्छ । यसमा दूधमा भन्दा पनि बढी प्रोटिन रहेको तथ्य विज्ञहरुले औंल्याएका छन् । त्यसैले आफूले चिनेको वा कृषकले उत्पादन गरेको च्याउ मात्र खानु पर्दछ । 

च्याउ चिन्न सकिएन भने ज्यान नै जान सक्ने भएकाले जस्तो पायो त्यस्तो च्याउ सेवन गर्नु हुँदैन । कृतिम तरिकाले उत्पादन गरेका च्याउ खाँदा कुनै हानी नोक्सानी हुँदैन । तर जंगलमा उम्रने सबै च्याउहरू विषालु नभए पनि चिन्न सकिंदैन भने ती खान हुँदैन । विषालु च्याउ रहेछ भने त्यस्ता च्याउहरूमा भएको विष पकाउँदा पनि नष्ट हुँदैन । त्यसैले जंगली च्याउ खानु राम्रो होइन । जीवनभन्दा ठूलो केही पनि छैन । यस विषयमा सरकारी तवरबाट समेत सचेतना जगाउन आवश्यक छ ।  कस्तो च्याउ विषादी हुन्छ ? कुन खानु उपयुक्त हुन्छ ? कसरी खाँदा राम्रो हुन्छ भन्ने सामान्य ज्ञान र सचेतना जगाउन सकियो भने मात्र पनि केही हदसम्म विषादी च्याउबाट हुने जोखिम कम गर्न सकिन्छ । यसर्थ यसतर्फ सरकार र सम्बन्धित निकायले समेत ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update