पाल्पा,सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी गरेको छ । उसले तिहारमा चिनी अभाव नहोस् भनेर जीटुजीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी थालेको हो ।
भारत सरकारले समेत नेपालाई चिनी आयात गर्न अनुमति दिएको छ । यस अघि चिनी निर्यातमा प्रतिबन्ध गरेको भारत सरकारले हाल नेपाललाई २५ हजार मेट्रिक टनसम्म चिनी निर्यात गर्ने अनुमति दिएको हो । यसअघि भारतले चिनी निर्यातमा प्रतिबन्ध लगायकाले बजारमा चिनी अभाव भएको थियो । विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक भारतले नै उत्पादनमा कमी आएको भन्दै अन्य मुलुकमा निर्यात गर्न रोकेको थियो । भारतले ३–४ महिना अघिदेखि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको थियो । यहाँ भएको चिनी उपभोगका लागि पर्याप्त नहुँदा बजारमा अभाव भएको थियो । नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी आवश्यक पर्छ । नेपाल भित्रै १ लाख ५० हजार मेट्रिक टन चिनी उत्पादन हुन्छ । ५० प्रतिशत जतिमात्रै आन्तरिक उत्पादनले धान्छ । यसपछि बाँकी ५० प्रतिशत आयात नै गर्नुपर्छ । तर पछिल्लो समय भारतबाट आयात नहुँदा आपुर्ती श्रृङ्खला बिग्रिएकोले असहज स्थिति आएको थियो ।
वाणिज्य विभागको तथ्यांक अनुसार, नेपालमा उत्पादन हुने चिनीको सत्तरी प्रतिशत चिनी बिभिन्न पेय पदार्थ, मिठाइ, चकलेट, विस्कुट लगायतका उद्योगहरुमा आपूर्ति हुने गर्दछ ।