Shittalpati
जाजरकोट भूकम्प : मृतकको संख्या १३७ पुुग्यो , १६० घाइते

काठमाडौँ, भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय ३७ पुगेको छ । कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार भूकम्पबाट जाजरकोटमा ६९ महिला र ३० पुरुष गरी ९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रुकुम पश्चिममा १९ पुरुष र १९ महिला गरी ३८ जनाको मृत्यु भएको छ ।

भूकम्पबाट जाजरकोटमा ८१, रुकुम पश्चिममा ७२, जुम्ला र दैलेखमा तीन÷तीन तथा  सल्यानमा एक जना घाइते भएका छन् । उनीहरुको जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र बाँकेका विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घाइतेको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ ।

घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै प्रभावित क्षेत्रमा पुगेर उद्धारको पहलमा जुटिरहेका छन् । उनी चिकित्सक टोली र राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेका हुन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार ३३ घाइतेको जिल्ला अस्पताल जाजरकोट र रुकुम पश्चिमबाट हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ । राहत तथा उद्धारका लागि चिकित्सकसहितको टोली घट्नास्थलमा पु¥याउने काम भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए । काठमाडौँ, सुर्खेत र नेपालगञ्जमा चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको उनले बताए । शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update