Shittalpati
पाल्पा रारा सहकारीको २३ औं साधारण सभा

पाल्पा, तानसेनमा रहेको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाले २३ औं साधारण सभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा गरेको हो ।

सभाको जिल्ला बचत तथा ऋण सहकारी संस्था पाल्पाका अध्यक्ष जगदीश भट्टराईले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका भट्टराइले सामुहिक भावनाबाट मात्र सहकारी अगाडि बढ्ने बताए । उनले समुदायमा आधारित रहेका सहकारीहरुले शेयर सदस्यहरुलाई उचित तालिमको व्यवस्था गरी आर्थिक रुपमा सक्षम र बलियो बनाउने उद्देश्य राखेको धारणा व्यक्त गरे । 

नेपाली काँग्रेस गुल्मीका जिल्ला सचिव समेत रहेका भट्टराईले सहकारीले नाफा कति भयो भन्दा पनि संस्थाले आफ्ना सदस्यहरुलाई सेवा सुविधा कस्तो ढंगले प्रवाह गरेको छ भन्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । सहकारी सञ्चालक सदस्य सञ्जय प्रदान, शेयर सदस्य गोमा गैरेले जिल्लामा रारा सहकारी अब्बल बन्दै गएकोमा खुसी व्यक्त गरे ।

सभामा सहकारीको बार्षिक प्रगति विवरण सार्वजनिक गर्दै सहकारीका अध्यक्ष  भीमसेन  कार्कीले न्यून आय भएका विपन्न, पीछडिएका वर्गहरुको जीवनस्तर उकास्न सहकारीले उल्लेखीय काम गरेको बताए । उनले बचतको माध्यमबाट उद्यमशील महिलाहरुलाई समूह बनाई विना धितो लगानी गर्दै आएको समेत बताए । सहकारीले गत आर्थिक वर्ष १५ करोड ४८ लाख १८ हजार ४ सय ५० निक्षेप संकलन गरेको छ । उसले ७२ लाख १२ हजार ६ सय ८४ खुद नाफा गरेको छ । संस्थाले निक्षेपतर्फ दैनिक बचत सञ्चालन, लगानीतर्फ व्यापार, कुटिर उद्योग, घरायसी प्रयोजन, कृषि, हायर पर्चेज, पाल्पा रारा गृहणी बचत तथा युवा उद्यमी ऋण जस्ता क्षेत्रमा लगानी गर्दै आएको सहकारीका अध्यक्ष कार्कीले बताए ।

सहकारीमा २ हजार ५ सय १५ जना शेयर सदस्य रहेका छन् । जसमा १ हजार ७ सय ५६ जना महिला र ७ सय ५९ जना पुरुष रहेका छन् । कार्यक्रममा सहकारीका लेखा समितिका संयोजक  माधव अर्यालले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष भीमसेन कार्कीको अध्यक्षता, कोषाध्यक्ष अरुण कुमार श्रेष्ठको  स्वागत, सचिव अजयमान कर्मचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update