Shittalpati
रामपुरका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’

पाल्पा, पाल्पाको रामपुर नगरपालिका भित्रका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको छ । रामपुर नगरपालिकाले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।  

विद्यालयमा हरेक शुक्रबार विद्यार्थीहरुलाई व्यवहारिक सिप सिकाइदै आइएको छ । उक्त कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीहरु सीप सिक्न उत्साहित हुने गरेका छन् । विद्यालयहरुमा सञ्चालित कार्यक्रमको नगर प्रमुख सहितको एक टोलीले अनुगमन  समेत गरेको छ । टोलीले कार्यक्रम प्रभावकारी भए नभएको अनुुगमन गरेको हो । कालिका माध्यमिक विद्यालय रामपुर ४ देविस्थान , रामपुर आधारभूत विद्यालय रामपुर ५ कान्जीहाउस र नवदुर्गा माध्यमिक विद्यालय रामपुर ६ तिलकपुरमा सञ्चालित बुक फ्रि फ्राई डे कार्यक्रमको अनुगमन गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

कार्यक्रमको अनुगमन गर्दै नगर प्रमुख रमण बहादुर थापाले विद्यार्थीहरुलाई संस्कार सहितको व्यवहारिक ज्ञान प्रदान गर्नका लागि बुक फ्रि फ्राई डे कार्यक्रम सञ्चालन गरिएको बताए । साथै विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराई सोही कला र क्षमताको विकास गर्न यो कार्यक्रमको अवधारणा ल्याईएको उनले बताए । नगर प्रमुख थापाले विद्यार्थीहरुको आवश्यकता र चहानालाई समेटेर हरेक विद्यालयले यो कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरे । विद्यालयमा दिईने सैद्धान्तिक ज्ञान व्यवहारिक नहुने र असल व्यक्ति नहुने भन्दै व्यवहारिक ज्ञानले मात्र असल व्यक्ति बनाउने उल्लेख गरे । किताबी ज्ञानले मात्र सबै शिक्षा पुरा नहुने भन्दै बुक फ्रि फ्राई डे कार्यक्रमले व्यवहारिक र जीवन उपयोगी सिप सिकाउने उनले बताए । नगर प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले कक्षामा दिईने शिक्षाले केही हद सम्मको शिक्षा प्रदान गरे पनि व्यवहारिक शिक्षा प्राप्त नहुने बताए । 

नगर क्षेत्रको शिक्षालाई व्यवहारिक र प्रभावकारी बनाउनका लागि नगरपालिकाले बुक फ्रि फ्राई डे कार्यक्रम सञ्चालन गरेको बताए । शिक्षा शाखा प्रमुख विकल कफ्लेले नगरले लिएको शिक्षा नीति अन्तर्गत सबै विद्यालयले यो कार्यक्रमलाई निरन्तरता दिदाँ विद्यार्थीहरुको व्यवहारमा समेत परिवर्तन आएको बताए । वार्षिक कार्यतालिका बनाएर विद्यार्थीहरुलाई विभिन्न व्यवहारिक सिप सिकाउँदै आइएको नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त न्यौपानेले बताए । विद्यार्थीहरुमा रहेको प्रतिभाको पहिचान र विद्यार्थीको क्षमतालाई वृद्धि गरि विद्यार्थीहरुको भविष्य निर्माणमा सहज हुने विश्वास लिएको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक मनीराज अधिकारीले बताए । विद्यार्थीहरुलाई हस्तकलाका सामग्री निर्माण , रहन सहन , कला संस्कृति सम्बन्धी सिकाईसँगै विद्यार्थीहरुको दिगो सिकाईका निम्ती सहयोग पुर्‍याएको रामपुर आधारभुत विद्यायका प्रधानाध्यापक विजय शर्माले बताए । कार्यक्रम अन्तर्गत यी विद्यालयहरुमा शुक्रबार विद्यार्थीहरुलाई फुलको माला बनाउन सिकाईएको थियो । हाम्रो नर्सरी फम रामपुरका सञ्चालक दिल बहादुर थापाले फुलको माला गाँस्न सिकाउने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update