Shittalpati
विपद्को  सूचनामा संवेदनशील बन्न काउन्सिलको आग्रह

काठमाडौँ, प्रेस काउन्सिल नेपालले प्राकृतिक विपत्का समयमा गरिने सूचना सम्प्रेषण संवेदनशील प्रकृतिको हुने भएकाले गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । युट्युबलगायत सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यमबाट जाजरकोट भूकम्पका बीभत्स दृश्य तथा तस्बिरसहितका सन्देश  पुष्टि  नगरिकन  प्रवाह भएको पाइएकाले काउन्सिलले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।  

काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘को पहिला हुने’ भन्ने होडबाजीमा आधिकारिक तथ्य पुष्टि नगरिकन  मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति र आफन्तजनमा थप पीडा पुग्ने गरी मृतक तथा घाइतेको वीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न, नगराउन भनिएको छ । 

‘मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भई गोपनियताको सम्मान गर्न आम सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, युट्युबलगायत सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ । शुक्रबार राति ११ः४७ बजे जाजरकोट रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर गएको छ दशमलव चार म्यागनिच्युडको भूकम्पका कारण  भएको मानवीय र भौतिक क्षतिप्रति काउन्सिलले दुःख व्यक्त पनि गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update