पाल्पा, पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले तानसेन बसपार्कमा भएको सार्वजनिक कार्यक्रममा आदित्य पोखरेललाई एक प्याकेट कण्डम उपहार दिए । प्रमुख जिल्ला अधिकारी बास्तोलाले दिएको कण्डम उपहार युवक पोखरेलले हासिखुसी स्विकार गरे । पोखरेल नेपाल परिवार नियोजन संघ पाल्पाका युवा संयोजकको रुपमा काम गर्दै आएका छन् । कार्यक्रममा पुरुषले मात्र होईन महिलाले पनि सहज रुपमा कण्डम उपहार ग्रहण गरेका छन् । सार्वजनिक कार्यक्रममै प्रमुख जिल्ला अधिकारी बास्तोलाले बर्षा पाण्डेलाई पनि एक प्याकेट कण्डम उपहार दिए । पाण्डे अन्तर्राष्ट्रिय युवा कमिटी सदस्य हुन् ।
पोखरेल र पाण्डेको अगुवाइमा नेपाल परिवार नियोजन संघ पाल्पाले शनिबार मात्र बसपार्क, लहरेपिपल लगायत बजार क्षेत्रमा ८ हजार ५ सय ३० वटा कण्डम वितरण गरेका छन् । शनिवार दिउँसो तानसेनको बसपार्कमा आउने जाने यात्रु, चालक, सहचालक, सर्वधारण, सुरक्षाकर्मीहरुले आवश्यकता अनुसार निशुल्क रुपमा कण्डम पाएका छन् । कण्डम लिन केही चालक, सहचालक तथा यात्रुहरु लजाए पनि अधिकाशंले भने सहताका साथ लिएका छन् । हामीले जती लाज माने पनि श्रीमान श्रीमती, युवा युवती विच यौन सम्पर्क गर्नु मानिसको आधारभुत आवश्यकता भएकाले कण्डम सहि सदुपयोग गर्न सकेमा आफ्नै जीवन, परिवार सुरक्षित हुने भन्दै महिलाहरुले समेत सहज रुपमा कण्डम उपहार लिएका छन् ।
परिवार व्यबस्थापन भन्दा पनि अहिलेको अवस्थामा कण्डमलाई यौनजन्य रोगहरु लाग्न नदिने, साधन प्रयोगकै कारण मानिसले अनावश्यक दुःख पाउन नपर्ने, जीवनलाई दिर्घजिवी निरोगी बनाउन मद्दत गर्दै आएको भए पनि जनचेतनाको कमिको कारण अझै पनि कण्डम प्रयोगमा सहजता नआएको प्रजिअ बास्तोलाले बताए ।
कण्डम पुरुषहरुको अस्थायी साधन भए पनि अनिच्छुक गर्भधारण हँुदा सबैभन्दा पिडा महिलाहरुलाई हुने भएकाले महिलाहरुले समेत पुरुषको लागि भन्दै कण्डमहरु लिएका थिए । हामीले कण्डम मात्र होईन प्रजनन् स्वास्थ्य सम्बन्धी ३ हजार भन्दा बढी पर्चा, पम्पलेट वितरण गरी मानिसहरुमा जागरण पैदा गरेको नेपाल परिवार नियोजन संघ पाल्पाका प्रवन्धक शोवाकान्त न्यौपानेले बताए । संघले कार्यालय अगाडि नै २४ घण्टा आवश्यकता अनुसार जो सुकैले निःशुल्क रुपमा कण्डम लिने व्यबस्था मिलाएको संघका प्रवन्धक न्यौपानेले बताए ।
तानसेन बसपार्कमा अधिकाश व्यक्तिहरुले कण्डम उपहार पाउदा खुसी भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको समन्वयमा नेपाल परिवार नियोजन संघ पाल्पाले आयोजना गरेको कण्डम दिवसको अवशरमा तानसेन बसपार्कमा जनचेतना सहित कण्डम तथा स्वास्थ्य सम्वन्धी प्रर्चा पम्पलेट वितरण गरिएको हो ।
मानव जीवनमा यौन क्रियाकलाप अनिवार्य भए पनि कण्डम प्रयोग गरी सुरक्षित तरिकाको यौन क्रियाकलाप गर्न सकेमा यौन रोग, एचआइभी, जस्ता रोग लाग्नबाट बच्न सकिने, नचाहेको गर्भधारणलाई समयमै रोक्न सकिने भएकोले सबै पुरुषलाई यौन सम्पर्कको समयमा कण्डम प्रयोग गर्न जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताए ।
सोही अवुसरमा जिल्ला प्रशासन कार्यालय पाल्पाले चालक, सहचालक, यात्रु, सवारीधनी, सर्वसाधारणहरुलाई लागु पदार्थ दुव्र्यसनीको बारेमा जनचेतनामुलक कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक हेरम्व शर्माले लागुपदार्थको प्रयोग, प्रयोग गर्दा हुने असर, कारोवारको अवस्था, पारिवारिक तथा सामाजिक अवस्था, कानुनी व्यबस्था दण्ड सजायको अवस्थाको बारेमा जानकारी दिए । सामान्य किसिमको लागुपदार्थ सेवन बाटै ठूूलो स्तरको सेवनकर्ता हँुदै मानिस मृत्युको मुखमा जाने, सानो तिनो पैसाको लोभमा ठूला–ठूला अपराधका घटनाहरु गर्ने, दुई चार सयको लोभका मानिसको हत्या सम्म गर्ने घटना लागुपदार्थ सेवनकै कारण भईरहेको प्रहरी प्रमुख शर्माले बताए । विद्यार्थी अवस्थामा १४ बर्ष उमेर देखी २४ बर्ष सम्म, कक्षा ८ देखी १२ सम्म लागु पदार्थ सेवनको संख्या अत्याधिक रहेकोले बालबालिकालेहरुले लागेको जिज्ञासा परिवार तथा शिक्षक समक्ष राख्ने, अविभावकहरुले आफ्ना वालवालिकाहरुलाई नियमितमा रेखदेख गरिरहन प्रहरी प्रमुख शर्माले अनुरोध गरे ।
कार्यक्रममा तानसेन नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष सागरमान महर्जनले हामी सबैको सहयोग र हातेमालोबाट जनतालाई स्वस्थ्य निरोगी राख्न, निरोगी समाज निर्माण गर्न, लागु पदार्थ दुव्र्यसनी नियन्त्रण गर्न, सभ्य समाज निर्माण गर्न सकिने बताए । कार्यक्रममा संघका कोषाध्यक्ष माधव अर्यालले अस्थायी साधन कण्डमको फाईदा र प्रयोगको बारेमा अझै पनि जनतामा जनचेतनाको कमी रहेको बताए । कार्यक्रमको सञ्चालन संघका कार्यसमिती सदस्य कमल बस्यालले गरेका थिए ।