Shittalpati
अस्ताए पाल्पाका शैक्षिक, सामाजिक  क्षेत्रका धरोहर केसी  

पाल्पा, पाल्पाको शैक्षिक, सामाजिक क्षेत्रका धरोहर मीनबहादुर केसीको ७८ वर्षको उमेरमा आइतबार निधन भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर निवासी केसीको उपचारकै क्रममा घरमै निधन भएको हो ।

केही समय अघि खुट्टामा समस्यादेखिए पछि उपचारका लागि तत्कालै युनाइटेड मिसन अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएकाले क्रिमसन अस्पताल रुपन्देही लगिएको थियो । केसीको एक हप्ता अस्पतालमै राखेर उपचार गरी घर ल्याएको केही समयमै निधन भएको नेपाली काँग्रेसका युवा नेता तथा स्थानीय शंकर भण्डारीले जानकारी दिए । केसीको निधनले पाल्पाले शिक्षा क्षेत्रको एक धरोहर मात्र गुमाएको छैन् सामाजिक र राजनीतिक क्षेत्रको एक होनाहार व्यक्तित्व समेत गुमाएको छ । संस्थागत तथा सामुदायिक दुवै विद्यालयको सुधार नभएसम्म देशमा शिक्षा क्षेत्रको सुधार हुन सक्दैन भन्ने उनको मूल मान्यता थियो । उनी जिल्लाकै शैक्षिक इतिहासमा अमूल्य योगदान दिने कर्मशील योद्धा थिए । केसीले नेपाल शिक्षक संघको संस्थापक अध्यक्ष ,केन्द्रीय उपाध्यक्ष, सेन माविकाको प्रअ, जनता नमूना मावि लगायतका शैक्षिक संस्थामा कुसलपूर्वक जिम्मेवारी सम्हालिसकेका थिए ।

उनको जिल्लाको सामाजिक क्षेत्रमा समेत उत्तिकै योगदान रहेको छ । केसीले नागरिक समाज, बाकल्याण, रेडक्रस, क्षयरोग, नेत्रज्योति संघ, लायन्स क्लव, सहयोगी समाज बसन्तपुर लगायतका दर्जानौं सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका छन् । उनी नेपाली काँग्रेसका विभिन्न तह र तप्कामा रहेर समेत काम गर्नुको साथै साहित्यक क्षेत्रमा समेत उत्तिकै सक्रिय थिए ।  केसी दर्जानौं संघसंस्थाबाट सम्मानित समेत भएका थिए । 

नेपाली समाजमा केसीले पुर्‍याएको योगदानलाई कसैले भुल्न नसक्ने काँग्रेस युवा नेता भण्डारीले बताए ।’ केसीको असामयिक निधनले सिङ्गो पाल्पा नै स्तब्ध भएको छ ,पुराना व्यक्तित्व गुमाउनुको पीडा असह्य भएको छ,’ भण्डारीले भने । केसी विशेषगरी शैक्षिक, सामाजिक र साहित्यिक क्षेत्रका सम्मानित बौद्धिक व्यक्तित्वको रूपमा स्थापित थिए । ‘सदैव आफ्ना रचनात्मक सुझाव, सल्लाहहरू दिएर पाल्पाको शैक्षिक, सामाजिक अभियानको भलाइका पक्षमा वकालत गर्नुहुने उहाँको निधनले पाल्पाली समुदायलाई अपूरणीय क्षति पुगेको छ’ नेता भण्डारीले भने ।

उनको निधनको सन्देश सामाजिक सञ्जालमा फैलिएसँगै उनका समर्थक र शुभेच्छुक शोकमा डुबेका छन् । यसबाहेक विभिन्न क्षेत्रका प्रख्यात व्यवसायी र राजनीतिक दल र सम्बद्ध नेताहरूले पनि समवेदना व्यक्त गरेका छन् । उनको आइतबार नै राम्दीमा अन्तिम दाहासंस्कार गरिदै छ । । केसीको एक श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । 


 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update