शुक्रबार राती आएको विनाशकारी भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सयौं घरहरू भत्किएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला शोकमा डुबेको हो । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबार विहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ । नेपाल प्रहरीका अनुसार भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेका छ भने करिब २०० जना घाइते अवस्थामा छन् । क्षतिको जानकारी आउने क्रम जारी रहेकाले भूकम्पबाट मृत्यु हुने र घाइते हुनेको संख्या अझ बढ्न सक्ने छ । भूकम्प पीडितको उद्धार र राहतका लागि सहयोग उपलब्ध गराउने काम पनि जारी छ ।
स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले राहत घोषणा गरेका छन् । भूकम्प प्रभावित क्षेत्र मात्र नभई अन्यत्र प्रदेश र सरकारहरूले पनि सहयोग दिने बताएका छन् । त्यसैगरी विभिन्न सामाजिक व्यक्ति, संस्था आदि पनि सहयोगका लागि जुटेका छन् । तर यतिले मात्र पुग्दैन सबै तह र क्षेत्रबाट राहत र उद्धारमा सक्रियता देखाउन आवश्यक छ । त्यहाँका नागरिकहरु एकातिर आफन्त गुमाएको पीडा अर्कोतर्फ विस्थापित हु्नुपर्दा गाँस, बास र कपासकै समस्याले आक्रान्त छन् । उनीहरूले अहिले जीवनकै सबैभन्दा ठूलो पीडा भोग्नुपरिरहेको छ । उनीहरूको पीडा हामी सबै नेपालीको साझा पीडा हो । यो पीडामा सहयोगी मन र हातहरूको खाँचो छ । एउटा नेपालीलाई दुख्दा अर्को नेपालीको मन मुटु पनि दुख्नुपर्छ । यो हामी नेपालीको संस्कार हो । यस्तो विपतिको बेलामा सबैले सहयोगी र हातेमालोको संस्कार देखाउनुपर्छ । यसर्थ बिपद्को यस घडीमा सबै नेपाली एकतावद्ध भएर उद्धार, राहत र उपचारमा जुटौं ।