जाजरकोट रुकुम पश्चिमका अधिकांस भूकम्प पीडितहरु अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन् । शुक्रबार रातिदेखि पीडितहरु खुला आकाशमुनि रात बिताउँदै आएका छन् । राहतका सामान पुग्ने क्रम जारी छ र केही ठाउँमा राहतको त्रिपाल पुगे पनि अधिकांश ठाउँमा पीडितहरु खुला आकाशलाई छानो बनाएर बिना त्रिपाल र कति ठाउँमा आगोको भरमा रात बिताएका समाचारहरु आइरहेका छन् । जाजरकोटको बारेकोट–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले त्यहाँका हजारौं परिवार घरविहीन बनेका छन् । मृत्यु भएकाहरुको परिवार शोकमा छन् भने घर भत्किएर विस्थापित भएकाहरु पनि कहाँ बस्ने, के खाने र के लगाउने भन्ने समस्याले आक्रान्त छन् । त्यसैले यतिखेर त्यहाँका बासिन्दाका लागि सहानुभूति होइन, तत्काल राहत र पुर्नस्थापनाको खाँचो छ ।
प्रकृतिबाट बज्रपात भोगेका पीडितहरुलाई सरकारले नै छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्छ । पीडितहरुलाई झन् पीडित हुने अवस्था कुनै हालतमा पनि आउन दिनुहुँदैन । चिसोयाममा खुला ठाउँको बसाइले खासगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूका लागि कष्टप्रद बनेको छ । उनीहरूका लागि जतिसक्दो छिटो सुरक्षित बसोबास र खानाको प्रबन्ध मिलाउन अत्यावश्यक छ । धेरैका लत्ताकपडा र खाद्यान्न भत्किएको घरमै पुरिएकाले उनीहरुलाई समस्या भएको हो । व्यक्तिको खोजी तथा उद्धारको काम लगभग सकिएकाले अबको ध्यान घाइतेहरूको उपचार र विस्थापितहरूको व्यवस्थापनतर्फ हुनुुपर्छ । दिनप्रतिदिन चिसो बढ्दै गएकाले न्यानो आवासको व्यवस्था हुन नसके थप स्वास्थ्य समस्या निम्तिन सक्छ। सुगम र सडक सञ्जाल पुगेका ठाउँहरुमा राहत सामाग्री छिट्टै पुग्ने भएपनि दुर्गम र ग्रामीण क्षेत्रमा भने नपुग्न सक्छ । यस्तो अवस्थामा सरकार बढी चनाखो भएर राहत वितरण कार्यमा ध्यान दिनुपर्छ । सोमबारसम्म पनि अधिकाँंस पीडितहरुले राहत सामग्री नपाएको गुनासो गरेका छन् । सरकार र सम्बन्धित निकायले यस्ता गुनासो आउने वातावरण सिर्जना गर्नु हुँदैन । तसर्थ छिटो भन्दा छिटो गाँसबासको उचित प्रबन्ध गर्ने कुरामा ध्यान दिन जरुरी छ ।