Shittalpati
काँग्रेस पाल्पाद्वारा मीनबहादुर केसीको निधनप्रति शोक व्यक्त

पाल्पा, नेपाली काँग्रेस पाल्पाले पाल्पाका शैक्षिक, सामाजिक एवं पार्टीका अग्रज तथा पूर्व जिल्ला सदस्य मीनबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले एक शोक विज्ञप्ती जारी गर्दै पाल्पाको शैक्षिक, सामाजिक र राजनीतिक आन्दोलनमा पुर्‍याएको सक्रिय भूमिकाको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुको साथै दुख व्यक्त गरेका हुन् ।
तानसेन नगरपालिका–३ बसन्तपुर निवासी केसीको ७८ वर्षको उमेरमा आइतबार निधन भएको थियो । खुट्टामा समस्यादेखिए पछि उपचार गराउने क्रममा उनको निधन भएको हो । 

काँग्रेस सभापति श्रेष्ठले  उनको आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले स्व.केसीको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्व गुमाउनुुको साथै  कर्मठ शिक्षा प्रेमी र समाजसेवी गुमाउनु परेको उल्लेख गरेका छन् । ‘अत्यन्त सरल र मृदुभाषी शिक्षाविद, समाजसेवी स्व. के.सी.को निधनले नेपाली काँग्रेस पाल्पा स्तब्ध भएको छ’ सभापति श्रेष्ठद्वारा जारी शोक विज्ञप्तीमा भनिएको छ ।

केसीले नेपाल शिक्षक संघको संस्थापक अध्यक्ष ,केन्द्रीय उपाध्यक्ष, सेन माविकाको प्रअ, जनता नमूना मावि लगायतका शैक्षिक संस्थामा कुसलपूर्वक जिम्मेवारी सम्हालिसकेका थिए । उनको जिल्लाको सामाजिक क्षेत्रमा समेत उत्तिकै योगदान रहेको थियो । केसीले नागरिक समाज, बाकल्याण, रेडक्रस, क्षयरोग, नेत्रज्योति संघ, लायन्स क्लव, सहयोगी समाज बसन्तपुर लगायतका दर्जानौं सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका छन् । उनी नेपाली काँग्रेसका विभिन्न तह र तप्कामा रहेर समेत काम गर्नुको साथै साहित्यक क्षेत्रमा समेत उत्तिकै सक्रिय थिए ।  केसीको एक श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update