Shittalpati
गुल्मीमा पहिलो पटक वितरण गरियो गैर आवासीय नेपाली नागरिकता

गुल्मी, गुल्मीमा पहिलो पटक गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार पहिलो पटक रेसुङ्गा नगरपालिका –१ भिमचोकका भीष्म  मरासिनीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।

मरासिनीलाई प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जिल्लामा पहिलो गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । विगत २० वर्षदेखि अमेरिकामा बस्दै आएका मरासिनीले अमेरिकी नागरिकता लिएका थिए । उनी अमेरिकाको टेक्सासमा बस्दै आएका छन् । मरासिनीले नेपालको संविधानमा भएको व्यवस्था अनुसार कार्तिक १७ गते नेपाली नागरिकता त्याग गरेपछि नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) बमोजिम नागरिकता पाएका हुन् । उपल्लो तम्घास निवासी भीमलाल मरासिनी र आमा एककलाका छोरा भीष्मले दुई दशक पछि गैर आवासीय नेपाली नागरिकताका लागि आवेदन दिएका थिए ।

गुल्मीमा पहिलो पटक गैर आवासीय नेपाली नागरिकता पाएपछि शितलपाटी डटकमका प्रधान सम्पादक जगदीश भट्टराईसँग सामूहिक तस्वीर खिचाउँदै मरासिनी ।  


भीष्मले जिल्ला सदरमूकाम तम्घासको विकासमा चासो दिने उद्यमी युवा हुन् । अमेरिकामा बसे पनि पुनः कुनै न कुनै उद्योग स्वदेशमा गर्ने उद्देश्यले गैरआवासीय नेपाली नागरिकता लिएको  उनले बताए । प्रमुख जिल्ला अधिकारी  टेकबहादुर केसीको हातबाट जिल्लामै पहिलो गैरआवासीय नागरिकता प्राप्त गरेकोमा आफु उत्साहित भएको मरासिनीले बताए । नेपाल नागरिकता नियमावली, २०८० जारी भएसँगै  मरासिनीलाई गैर आवासीय नेपालीलाई नागरिकतको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भए बमोजिम गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था लागू भएको छ । गृह मन्त्रालयले असोज ४ गते राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार सो व्यवस्था कायम भएको हो । पछिल्लो प्रकाशित राजपत्रमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र र विदेशी बुवाको हकमा नेपाली आमाको सन्तानलाई अंगिकृत नागरिकता उपलब्ध गराउने मुख्य दुई विषय रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update