Shittalpati
भाग्य महिमा 

जगन्नाथ पन्त

कर्म र भाग्यका सन्दर्भमा मानिसहरुका बीच विवाद र बहस सताब्दीयौँ पहिलेदेखि हुँदै आएको छ ।  अहिले पनि यो जारी छ सताब्दीयौँसम्म  रहने छ ,तर यो कहिल्यै टुङ्गिने बहस भने होइन, यदि हामीले चाहने हो भने । कर्म हामीले गर्नुपर्ने कामको नाम हो भने भाग्य हामीले प्राप्त गरेको हैसियत । हामीसँग भएको योग्यता नै हाम्रो भाग्य हो । जे हुन्छु भनेर सोचिएको थियो जीवनमा त्यो भइराखेको हुँदैन र जे भइराखेको छ, त्यसबारेमा सोचिएकै हुँदैन । हरेक मानिसलाई नियाल्दा यही अवस्था देखिन्छ । त्यस्तै भरपूर क्षमता भएका मान्छेहरु पनि सफल भइरहेका हुँदैनन् र क्षमता नभएकाहरु पनि सफल भइरहेका हुन्छन् ।  कहिलेकाहीँ कुनै सानो मिहिनेत गर्दा पनि त्यो निकै सफल भइराखेको हुन्छ र कहिले निकै मिहिनेतका साथ काम गर्दा पनि सफल भइराखेको हुँदैन् । सायद त्यसैले पनि भाग्यभन्दा धेरै र समयभन्दा पहिला कुनै पनि चिज प्राप्त हुँदैन भनिएको होला । जीवन भाग्यमा आधारित हुन्छ भनियो भने कर्मको अस्तित्व के त भन्ने प्रश्न उठ्छ । भाग्य छ भन्दैमा डोकोमा दूध दुहुन पनि मिल्दैन । फाइदा  प्राप्त हुँदा  वा नोक्सान हुँदा   हामी भाग्यले  गर्दा भयो भन्छौं । पदार्थ र मनुष्यको  सम्बन्धमा पहिले देखि नै निश्चित र अनिवार्य  व्यवस्था वा क्रममा  भाग्य निर्भर गरेको हुन्छ । हामीले गर्ने हरेक क्रियाकलापहरु अर्थपूर्ण छन् । ती सम्पूर्ण क्रियाकलापहरुले हामीलाई केही न केही परिणाम अवश्य दिन्छन् ।यसर्थ यही भाग्य र त्यसको महिमाका विषयमा केन्द्रीत रहेर यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ । 

 भविष्यमा कुनै निश्चित व्यक्ति अथवा थोकमा अवश्य नै घट्ने घटना अथवा भविष्यमा हुने कुरालाई नियन्त्रण गर्न सक्ने गुप्त ऊर्जा नै ‘भाग्य’को परिभाषा हो । सजिलोसँग भन्ने हो भने योचाहिँ मानिसको शक्तिद्वारा परिवर्तन हुन नसक्ने कुरा हो । नेपाली र हिन्दीमा भनिने भाग्यलाई उर्दुमा किस्मत , तकदिर , नसिव भनिन्छ । अचानक  मनग्य धन दौलत हात पर्यो भने भाग्य र गुम्यो भने दुर्भाग्य । एक निमेशले दुर्घटनामा ज्यान बच्छ , जान्छ पनि । विज्ञानले संयोग भन्दछ । जन्मेको छैठौ दिनलाई छैठी  भनिन्छ । छैठीका दिन भाविले राम्रो भाग्य लेखि देओस् भनेर रातभरी दियो बालिदिने चलन छ ।  दुःख  पाइयो भने भाविले फुटेको कर्म लेखि दिए छ भनेर चित्त शान्त पार्ने पनि छन् यो जगतमा । भनिन्छ पति पत्नीले एक अर्कालाई सुख दिन सक्लान्  तर खुसी पार्न सक्दैनन् । उमेर र बुझाईको स्तर नमिलेका जोडिले आफु कसरी खुसी हुने भन्दा पनि अरुको देखासिखीमा पिरोलिन्छन् । अनि त सँग पर्नु मेरो फुटेको कर्म भनेर थप झगडा गर्छन् । विवाहमा सात फेरे लिदा पंडितले भन्ने मन्त्रमा सँगै काम गरेर कमाउला , सल्लाहमा खर्च गरौंला, सुख ,दुख बराबर गरौंला, जन्मिने सन्तानको लालन पोषण मिलेर गरौंला  आदि वाचा गराइएको हुन्छ । भाग्य बदल्न नसके पनि भविश्य बदल्न सकिन्छ भन्ने सोच भाग्यमा अन्ध विश्वास गर्नेले गरेको पाइँदैन । कर्म नगरी भाग्यले केहि पाईदैन । भाग्य छ भन्दैमा चाल्नामा दुध दुहेर अडिदैन भन्थ्ये बुढा पाकाहरु । चिठ्ठा  पर्न त चिठ्ठा  किन्नै पर्छ भने मेहनत नगरी के पाइन्छ र ?

ढोग गर्दा  भाग्यमानी भए भनेर आशिर्वाद दिदा मख्ख हुन्थिम सानो छँदा । मान गरेको देखाउन  उहाँलाई ढोग गर ,  आशिर्वाद  दिनुहुन्छ भनेर अह्र्‍याइन्थ्यो । ढोगेकै भरमा भाग्यमानी भएका कति जना हुन्छौं कुन्नि ? ढोग पाउँदा कति गतिलो रहेछौं र नढोग्दा मात्तिएको उपमा पाईन्थ्यो । आजकल जस्तो हातमा निधार तानेर  वा निधारमा हात जोेमकेर दर्शन भनेर छुट थिएन पहिलेको जमानामा ।  बुहारिले त बिचरा भुईमा ढोग्नु  पर्ने  गुडुल्की परेर । जेहोस् ढोग पाउनेले आफ्नो महिमा र गरिमा बढेको चाहि मान्दथे । खुट्टा कमजोर भएका तर मान भएका सबैका जेठा–बाठा  एक जना सज्जनले हिड्डुल गर्न सहजताका लागि घोडा पालेका रहेछन् । उनलाई भेट्ने धेरैले  ठूूला बा भनेर रिकापिमै अडाएको खुट्टा ढोग्ने चलनले ढोग गर्ने मान्छे देखा परेकी  घोडा स्वःतफूर्त  टक्क अडिने अभ्यास नै परेको थियो ।  पछि नाति त्यो घोडा चढे छन् , मान्छे देखो कि घोडा टक्क  अडिदो रहेछ । नाति घोडाबाट ओर्लदै  ढोग्दै गर्नु पर्ने भए छ  । घोडा  अलि टाढा बेचि दिए छन्  । महिमा आ– आफ्नो । हामी सबैले कोहि आफन्त नाता वा चिने जानेकाले कुनै नियुक्ति , बढुवा वा सरुवा राम्रो  ठाउँमा पायो भनेर बधाई दिदा  पद , निकाय ,ठाउँ खुलाएर यस्तो गरिमामय पदमा आदि ईत्यादी भन्दै बधाई ,शुभकामना भन्छौ । उसले चिनोस् कि  कतिले त वाइडेन , सुनकलाई समेत बधाई दिन्छौ । वलिवुडका हिरोनिको जन्म दिनमा बधाई त कतिकति , कता नै नचिनेको हो र । तर गरिमामय पद के हो हेक्का गर्दैनौ । भित्रभित्रै मन भतभति पोलको किन  नहोस् बधाई छ , शुभकामना छ , कार्यकाल सफलता । काम गर्न नथाल्दै आक्षेप । गरिमामय हुने काम गर्नु भने  पो हुन्छ  र सबैलाई मिल्छ पनि । एउटा मात्र पद हो भने अथवा त्यो पद पाउनेले देशको, समाजको , जनताको गरिमा बढाउने गरि काम गर्छ भने मात्र गरिमामय भयो । पदको कुरा गर्दा नेपालमा विग सिक्स अर्थात् राष्ट्रपति , उपराष्ट्रपति  , प्रधानमन्त्री, प्रधान न्यायाधिश , प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष जस्ता पद गरिमामय हुन । मु्ख्य सचिव , प्रधान सेनापति , प्रहरी महानिरीक्षक गरिमामय पद होलान् । अरु यस्तै भाग्यले पाउने  एकल पद  । गरिमा राख्न सक्ने नसक्ने कुरा अलग्गै छ । फलाना भातृ संगठन , संघको केन्द्रीय सदस्यमा मनोनीत भएकोमा, नासु भएकोमा, अधिकृत भएकोमा पनि गरिमामय पद  भनेर बधाई हुन्छ र ?  एकाध  मनोनित हुनु भएकाले त गरिमा होइन गरिखान नदिने हुन्छन् ।

पदार्थको पनि भाग्य के भन्छ नभन्नु होला । मनुष्यको मात्र होइन , पदार्थको पनि भाग्य , दुर्भाग्य हुन्छ ।  एका देशको एउटा नगरमा देवि दुर्गाको  भव्य सुन्दर मन्दिर निर्माण गर्ने निर्णय भए छ । मन्दिर निर्माण समितिले तदारुकताका साथ काम गरेछ । एकजना नामुद कारिगढलाई पाषाणको कलात्मक देविको मूर्ति बनाई दिनु भनेर  पेश्कि ज्याला समेत दिए छन् । प्राण प्रतिष्ठानको सुदिन भन्दा दुई दिन पहिले मूर्ति तयार गर्नु थियो कारिगढलाई । कारिगढले बढेमाका दुईवटा पत्थर ढुङ्गा खोजेर कोप्न थाले छन् । एउटा ढुङ्गाले अह्या, आत्थु दुखो नकोप ,सहन सक्दिन भनेर विलाप गरेछ । अनि कारिगढले दोस्रो ढुङ्गा कोप्न थाले छन् । दुखे पनि दोस्रो ढुङ्गाले सहेर कुनै गुनासो गरेन छ । केहि समयपछि मूर्ति तयार भएछ । समितिका पदाधिकारीले अवलोकन गरी कारिगढलाई तोकिएको ज्याला र  वक्सिस समेत थपेर भव्य मूर्ति बनाएकोमा धन्यवाद पनि दिए छन् । मूर्तिसँंगै त्यो अर्को ढुङ्गा पनि कारिगढको अनुमतिले सँगै लगे छन् । बाजागाजा ,नाचगान ,भजनकिर्तन , स्वस्तिवाचन  ,पुजा पाठका साथ देविको प्राण प्रतिष्ठान भयो । मन्दिरको भव्य उद्घाटन समारोहमा भयो । नित्य पुजा चलिरह्यो । मन्दिरको पेटि नजिक राखिएको अर्को ढुङ्गाले केहि समयपछि  देवीसँंग पिर पोख्दै भने छ , हेर तिमी र म  एउटै चट्टान थियौ , ठूूलो बाढीले तिमी र मलाई दुई फ्याक पार्यो ।  मानिसहरु तिमीलाई चन्दन , अक्षता ,सुगन्धित फूल , माला , धुप , नैवेध्य  , फल , प्रसाद , भेटी ,   बस्त्र चढाउछन् । आरती गर्छन् । वरदान माग्छन् । कतिले त सुन ,चादिका गहना , प्रतिमा अर्पण पनि गर्छन् । समय–समयमा तिम्रो नाममा उत्सव  ,जात्रा गर्छन् , टाढा –टाढा सम्म तिम्रो कति राम्रो महिमा छ । मेरो थाप्लोमा भने नरिवलको चोट मात्रै भाग्यमा रहेछ । कारिगढले कोप्दा चोइटाउँदा नसहेर ठूलो भुल गरेछु । मेरो भाग्यै खोटो रहेछ भनेर गनगन गरेर  समय विताउँदो रहेछ । 

एउटै बगैचाका , एउटै बोटका फूलका थुङ्गा कुनै भगवान वा देवि देवतालाई अर्पित हुन्छन् , कुनै पार्थिव शरिरमा । सँगै एउटै भट्टिमा पोलिएका ईटा कुनै मन्दिरमा, कुनै शौचालयमा  निर्माणमा पुग्छन् । स्थान र महत्व कति फरक पाउँछन् । केहि पुजित  हुन्छन् , माथाले स्पर्ष पाउँछन् , केहिले मलमुत्रको दुर्गन्ध । सँगै संघर्ष र क्रान्ति गरेका कोहि राष्ट्राध्यक्ष , प्रधानमन्त्री , मन्त्री हुन्छन् , कोहि के खाऊ के लाऊको अवस्थामा  । एउटै व्याचको साथी कोहि ठूलो हाकिम , कोहि उसैको  सहायक । एउटै उदरका सन्तान कोहि संपन्न , कोहि विपन्न , कोहि नामि ,कोहि गुमानामी , बदनामी । अचम्म छ विधिको लेखन , भाविले दिएको भाग्य । फरक छ महिमा, फरक छ  गरिमा । हुन त हामीलाई ज्ञान नभएर मात्र पिरलिने त होइनौ । स्वस्थानी माताको कथा सुन्दै भट्याउदै गर्छौ नि । 
कायेन वाचा मनसेन्द्रियैवा 
बुध्यातमना वा प्रकृतिस्वभावत् । 
करोमि यध्यत्सकलं परस्मै 
नारायणायेति समर्पये तत् ।

 अर्थात  काया (जीऊ) , बोलि ,मन , ईन्द्रिय ,बुद्धि , आत्मा  वा प्रकृतिगत स्वभावले गरेका  पाप , पुण्य जस्ता सम्पूर्ण मेरा कर्म नारायण भगवानमा समर्पण गर्दछु । बुझेर श्लोक पढेकै त हौला नि । बुझे पछि के को भाग्य , के को महिमाको पिर । सबै सृष्टिकर्तालाई अर्पण गर्ने रहेछौ । तर “पाप” कर्मको फल भने फेरि पनि दुर्भाग्य नै हो है ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update