Shittalpati
भूकम्पमैत्री संरचना बनाऊ

२०७२ को विनाशकारी भूकम्प बिर्सन नपाउँदै देशले फेरि ठूलो भूकम्प व्यहोर्नुपरेको छ । गत शुक्रबार जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पले १ सय ५३ जनाको ज्यानमात्र लगेन, १३ जिल्लाका ३५ हजार परिवारलाई घरबारविहीन बनाएको छ । २०७२ वैशाखपछि सबैभन्दा बढी क्षति यसपटक भएको छ । घरभित्र सुतिरहेको बेला मध्यरातमा भूकम्प गएकाले पनि  यस पटक धेरै क्षति भएको देखिन्छ। ढुंगा–माटोले बनेका कच्ची घरले भूकम्प थेग्न नसक्दा चेपिएर, पुरिएर धेरैले ज्यान गुमाए । घर भत्किनुकै कारणले पशुचौपायाको पनि क्षति हुन गयो । सैयौंको संख्यामा मानिसको मृत्यु र अरू सैयौंको संख्यामा घाइते हुन पुग्नुको कारण कमजोर घरका संरचना नै हो । यसअघिको भूूकम्पबाट पाठ नसिक्दाको परिणाम अहिले पनि भोग्नु परेको छ । यदि घरका संरचनाहरु भूकम्पमैत्री भइदिएको भए यति ठूलो मानविय र भौतिक क्षति हुने थिएन ।

अहिलेसम्म पनि भूकम्पको पूर्वानुमान गर्न सक्ने प्रविधि विकास पनि भइसकेको छैन । त्यसैले भूकम्प गइहाले जतिसक्दो कम मानवीय र भौतिक क्षति होस् भनेर पूर्वतयारी र सतर्कतामा जोड दिइनुु अहिलेको टड्कारो आवश्यकता हो । प्रायः मानवनिर्मित संरचनाकै कारण भूकम्पमा बढी क्षति हुने गरेको छ । तर घर निर्माण गर्दा कहिल्यै पनि भूूकम्पमैत्री बनाउने कुरामा कसैको पनि ध्यान जान सकेन । जसका कारण  भूकम्पबाट ठूलो क्षति व्यहोर्नु परेको छ ।  न त सरकारले  भूकम्प प्रतिरोधात्मक घर बनाउन उत्प्रेरित गरिरहेको छ न भूकम्प गइहाले सुरक्षित रहने बारे सचेतना अभियान नै ।  देशभित्र ठूूल्ठूला भूकम्प पटक–पटक गइरहँदा सरकारले पाठ सिक्न नसक्नु र पूर्वतयारीमा ध्यान नदिनु दुखद् हो । सरकारको गैरजिम्मेवारीपन, घटनाको अतार्किक निष्कर्ष र सही सूचना प्रवाह गर्ने प्रभावकारी वैज्ञानिक संंयन्त्रको अभावका कारण क्षतिका उही प्रकृति बारम्बार दोहोरिँदै जानुु राम्रो होइन । नेपालमा अधिकांस घरहरु भूूकम्पमैत्री छैनन् । जसका कारण भूूकम्पको परकम्प आउनसाथ ठूलो क्षति व्यहोर्नु नेपालीको नियति नै बनेको छ । भूकम्पको कम्पन र पराकम्पनसँगै हुन जाने ठूूल्ठूूला जनधनको क्षतिबाट बस्तीलाई बचाउन भूकम्पमैत्री आवासीय तथा अन्य संरचना निर्माणमा ध्यान दिनैपर्छ । यसका लागि सरकारले छिटो भन्दा छिटो भूूकम्पमैत्री संरचना बनाउन जनतालाई प्रोत्साहन गर्नुको साथै जनताले समेत घर निर्माण गर्दा सोही अनुसारका संरचना निर्माण गर्ने दिशामा ध्यान दिन जरुरी छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update