जगन्नाथ पन्त
तिहार नेपाली समाजमा ठूला पर्वमध्येमा पर्छ । तिहारको सांस्कृतिक, पारिवारिक एवं सामाजिक महत्व छ । वर्षको एक पटक दिदी बहिनीले दाजुभाइहरूसँग भेटघाट गरी भाइटीका लगाइदिने चलन भएकाले सामाजिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ भने किंवदन्तीअनुसार मृत्युदेव यमराज पाँच दिनसम्म आफ्नो सम्पूर्ण कार्यभार चित्रगुप्तलाई सुम्पेर आफ्नी बहिनी यमुनाको घरमा गएको र बहिनी यमुनाले आफ्नो दाई आएको खुसीयालीमा दीपावली गरी उनको पूजा गरेकी थिइन् भन्ने शास्त्रीय मान्यता रहेको छ । यसरी हेर्दा तिहारलाई सांस्कृतिक एवं सामाजिक पर्वको रूपमा मान्ने चलन छ । हरेक वर्ष कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुक्ल पक्षको द्वितीय तिथिका बीचका पाँच दिनसम्म मनाइने चाड नै तिहार हो । तिहारलाई फूलमाला र बत्तीको पर्व पनि भन्ने गरिन्छ । हाम्रो शास्त्रीय मान्यताअनुसार उज्यालोलाई समृद्धिको प्रतीकको रूपमा लिइन्छ । हाम्रा धार्मिक आस्थासँग जोडिएको दियो बालेर शुभारम्भ गरिने शास्त्रीय परम्परा रहेकोले यस पर्वलाई उज्यालोको पर्व अर्थात् विकास र समृद्धिको पर्व पनि भन्ने गरिन्छ । तराई मधेशमा यो पर्वलाई त्योहार भन्ने चलन छ । अंग्रेजीमा फेस्टिभल र नेपालीमा समारोह, उत्सव,मेला आदि पर्यायवाची नामले पनि पर्वलाई सम्बोधन गर्ने गरेको पाईन्छ । तिहार हिन्दूहरुको दोस्रो ठूलो पर्व हो । यसलाई यमपञ्चक र दिपावली पनि भनिन्छ । यसर्थ तिहार पर्वको शास्त्रीय मान्यता, यसको महत्व र तिहार मनाउँदाका स्मरणहरुलाई यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।
तिहार हिन्दू धर्मावलम्बीको दसैंपछिको दोस्रो महान् पर्व हो । चान्द्रमास अनुसार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भनिन्छ । पौराणिक इतिहासका आधारमा सूर्यपुत्र यमराज (यमलोक वा मृत्युलोकका मालिक) ले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीकै घरमा उत्सव मनाएको आधारमा यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यो अवधिमा यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक मान्यता छ । यमराज यमलोकमा बस्छन भने उनकी बहिनी पृथ्वी लोकमा । बहिनीको निम्तो स्वीकार गरी यमराज कुनै समय यमुनाको घरमा गएछन् । उनी कार्तिक कृष्ण पक्षको त्रयोदशी देखी शुक्लपक्षको द्वितीया सम्म पाँच दिन बहिनीको घरमा बसेका हुनाले यमपञ्चक भनिएको भन्ने भनाइ छ । अर्थात् पृथ्वीमा यमका पाँच दिन । बहिनी यमुनाले दाजु यमराजलाई पाँच दिन सम्म गरेको सेवाबाट यम अत्यन्तै प्रसन्न भई यमुनालाई वरदान माग भने छन् । अनि बहिनीले हरेक वर्पको यसै दिन मलाई भेट्न आउनु , दिदी भाइ दाजु बहिनीको प्रेम सदा अटल बनोस , दाजु भाइको आयू , यस ,कीर्ति बढोस् भनेर वरदान मागिछन् । तथास्तु भन्दै यमराजले भातृपूजा गर्नेको पनि सदा प्रगति र कीर्ति रहने छ भनेर बचन दिएको संझना स्वरुप भाइ टिकाको प्रचलन बसेको भन्ने विश्वास रहेको छ । त्यसैले भाइ टिकाका दिन दिदी बहिनीले दाजु भाइलाई आफ्नो घर वा निवासमा निमन्त्रण गरी टिका लगाइ दिने , मिठा–मिठा परिकार खुवाउने उपहार दिने र दाजु भाइले पनि यथासक्दो दक्षिणा दिने चलन रहन गयो । वरदान दिन सामथ्र्य नभएकाले शुभकामना दिइन्छ अहिले । यसै गरी तिहारमा टिका लगाउन हिडेको भाइलाई बाटोमा रोकि जेमजुते (यमका दुत) ले तिम्रो आयु सकियो म तिमीलाई खान्छु र तिम्रो शुक्ष्म शरिरलाई यमका समक्ष लैजान्छु भनेको प्रसंग पनि छ । तिम्रै यमराजले चलाएको चलन मान्न जान मलाई नरोक , दिदीको हातको टिका लगाउन दिऊ , अहिले नखाऊ भन्ने देउसीको भाका नै छ । भाई टिकाका दिन जेमजुतेलाई लय मिलाई भाका हालि ज्यान वक्सिस मागेको र पाएको हुँदा लय मिलाई देउसी खेल्ने चलन चल्यो होला भन्न सकिन्छ । बलि राजालाई वामन अवतार लिई नारायण भगवानले तीन पाऊ जमिन दान दिने वाचा गराई पुरै राज्यच्युत गरी पाताल लोक पठाएको पुराणमा वर्णन सुनेका छौं । यमपञ्चकमा इन्द्रादि दश दिक्पालहरुले बलि राजालाई उनले हड्पेको राज्य छाडि दिन्छन रे । त्यसैको प्रतिक स्वरुप देउसी भट्याउदा – त्यसै हामी आएनौ , बलि राजाले पढाएको भन्ने भाका हालेर दक्षिणा माग्ने गरिएको हो । राज्य त अहिले मागेर कहाँ पाउनु ?
अहिले एक दिन भाई टिका र यम पञ्चकको अरु दिन अरु पूजा गर्ने चलन कालान्तरमा रहन गयो । पहिलो दिनलाई काग तिहार भनेर कागको पूजा गरिन्छ । काग यमराजको संदेशवाहक दुत र भक्त भएकाले, चलाख पंक्षी , अन्नबालिका किराफ्ट्याग्रा खाइदिने भएकाले कागलाई पूजा गरिन्छ । कागलाई समातेर पूजा गर्न नसकिने भएकाले चिउरीको पातको दुना खुटी भात, रोटी र फूलको थुङ्गा राखी कागले देख्ने ठाउँमा राखिदिने गरिन्छ । यसै दिन धन्वन्तरी जयन्ती पनि पर्छ । धनतेसर पनि भन्ने गरिन्छ । आयुर्वेदका आविष्कारक धन्वन्तरीको प्राकट्य दिन । यस दिन सुन ,चादिका असर्फि , सिक्का वा सामन किनेर लक्ष्मी पूजाका दिन पूजा गर्दा संमृद्धि हुने विश्वास छ । दोस्रो दिन अर्थात् चतुर्दशीका दिन यम र भैरवको वाहन , आज्ञापालक , अपराधी पत्ता लगाउन सहयोग गर्ने , घरको सुरक्षा गर्ने भएकाले र दैवी विपत्तिको पू्र्व सूचना संकेत दिने भएकाले पनि कुकुरको पूजा गरिन्छ । यसदिनलाई नरक चतुर्दशी अर्थात नर्क फाल्ने पनि भनिन्छ । बिहानीको प्रथम प्रहरमा दिदी बहिनीले जलासयमा नुहाई चिउरीको पात गासेर बनाइएको टपरिमा फूलका थुङगा, टिकाले सजाई धुप , दिप वाली आफ्नो शिरमा घुमाई दाजु भाइलाई कुनै नराम्रो नहोस् भन्ने कामना गरी दाजु भाईको नर्के जा भनेर त्यो टपरिलाई नदीमा बगाई दिने भएकाले यसलाई नर्के फाल्ने भनिन्छ । तेस्रो दिन अमावश्यका दिन गाईको पूजा गरिन्छ । हाम्रो देशको राष्ट्रिय जनावर , गौमाताको स्थान पाएको गाईको मुत्रमा आौषधिय गुण रहेको, पूजा आजामा पञ्चकव्य र सुत्केरा , मानिस मरेको जुठो फुकाउन गाईको मुत्रलाई पवित्र मानिन्छ । जसलाई मन्त्रेपछि गहुत भनिन्छ । गहुत मन्त्रदा यसलाई छानेर सफा गरिन्छ । गोबरले लिप्दा किटाणु नास हुने , भूमि शुद्ध हुने , गोबरले बालिनाली सप्रिने र गाईको दुध अमृत समान हुने , दही ,घीऊ पोषिलो हुने हुँदा पनि गाईलाई पूजा गरिनु स्वभाविक छ । मृत्यु भएपछि यमराजका दुतले स्वर्ग वा नर्क कहा पठाउने भनेर यमराज समक्ष पेश गर्न लैजाने बाटोमा पर्ने बैतर्णि नामको भयानक अफ्ठेरो नदी पार गर्दा कष्ट भोग्न नपरोस् भनेर गाईको पूजा गरी गौ दान गरेमा गाईको पुच्छर समाउन पाई सहजै बैतर्णि नदि पार गर्न सकिने भन्ने गरुड पुराणमा वर्णन गरिएको छ । गाईको महिमा आमाको जस्तै भएकाले पनि गाई पूजाको सार्थकता रहेको छ । औसीका दिन निष्पट अध्यारो हुन्छ । यस दिन सूर्य र चन्द्रमासँगै अस्ताउने हुनाले रातमा चन्द्रमाको प्रकाश नहुँदा अध्यारो हुन्छ । माटाका दियोमा कपासको ज्योति बनाएर तिलको तेलमा प्रज्वलन गरी जगमग झिलिमिली उज्यालो बनाएर धनधान्यकी देवी महालक्ष्मीको पूजा गर्नाले कहिल्यै दरिद्र हुन नपर्ने विश्वास छ । यस दिनलाई दिपमालिका पनि भनिन्छ । आजकल भने विजुलिका झिलिमिली बाल्ने सुविधाले गर्दा असाध्यै मनमोहक बनाईन्छ रात । आगनमा रेखि हालेर रंगोलि , शुभलाभ बनाउने , केराका थम्मन गाडेर स्वागत द्वार बनाउने , गेटदेखि पूजाकोठा सम्म रातो माटोले लिपेर लक्ष्मीको पाईला बनाउने गर्नाले लक्ष्मीले बास गर्छिन् भन्ने विश्वास रहि आएको छ । लक्ष्मी पूजाको रातलाई सुखरात्री पनि भनिन्छ । सनातन धर्ममा चार वटा रात्रीको विशेष महत्व छ । शिवरात्री , मोहरात्री (कृष्णाष्टमी ) , कालरात्री र सुखरात्री ।
चौथो दिन अर्थात कार्तिक शुक्ल प्रतिपतदाका दिनलाई गरु पूजा , गोवद्र्धन पूजा , महपूजा , नेपाल संवतको नयाँ वर्ष आरम्भ , सांख्यधर दिवसको रुपमा मनाईन्छ । तिथीहरुको घट ,बढ परेमा गाई पूजा र गोवद्र्धन पूजा एकै दिन पनि पर्दछ । रक्षा बन्धनका दिन लगाएको डोरोलाई यस दिन फुकाएर गाईको पुच्छरमा चढाउनाले पु्ण्य मिल्छ भनिन्छ । गाई वा गोवद्र्धन पूजाक दिन गोबरको पर्वत बनाएर पूजा गरिन्छ । खर वा बावियोको डोरी बुनेर ,त्यसमा , बर ,पिपल , समि , आपका पात , फूल, सेलरोटिले सजाएर पूजा गरी गोठदेखि नदी पार सम्म वा बाटो कटाउने गरी तोरण तार्नाले वस्तुभाऊलाई रोग नलाग्ने र आफु पनि भवसागरको झण्झटबाट तरिन्छ भन्ने विश्वास रहेको छ । श्रीकृष्णले इन्द्रको पूजा गर्न रोक लगाएको झोकमा गोकुल डुवाउने मनसायले इन्द्रले अतिबृष्टि गराए छन् । अनि कृष्णले पनि गोवद्र्धन नामको पर्वत कान्छि औलाले उठाएर ओत लगाई गोकुल बासी र गाईहरुलाई डुवानबाट जोगाएको सम्झनामा गोवद्र्धन पूजा गर्ने गरिएको महिमा शास्त्रमा वर्णित छ ।
लक्ष्मी पूजाको दिन विशेष रुपमा र यमपञ्चक भरी वत्ति बालि झिलिमिली पारिने भएकाले तिहारलाई दिपावली भनिएको हो । दिपावली वा तिहार उज्यालोको पर्व पनि हो । भगवान श्रीराम बनबास पुरा गरी राज्यमा फर्केको दिन लक्ष्मी पूजाको दिन भएकाले पनि खुसियालीमा दिपावली गरिएको सम्झनामा दिपावली गर्ने गरिएको हो भन्ने मान्यता पनि छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन पनि लक्ष्मी पूजाकै दिन मनाइन्छ । तिहारको पाँचौ दिन भाइ टिका मनाइन्छ । कलश स्थापना गरी , दियो बालेर बेहोरा समेतको पुजा गरी दाजु भाइलाई दिदी बहिनीले प्रेम पूर्वक फूलले पूजा गरी , तेलको घेरा हालि कपाल र कानमा तेल लगाई दिने चलन छ । दुबो र अन्य रंङका सप्तरंगि टिका तिनधर्के वा एक धर्के बनाई निधारमा लगाइ दिने , मखमली र सयपत्री फूल उनेर माला लगाइ दिने , शत्रुबैरी घजाम घुजुम भनि दैलको संघारमा ओखर फुटाउने , ग्रहफाल्ने, तिल,ओखर, काजुकिसमिस मसला र रोटी, मिष्टान्न खुवाउने, स्वादिष्ट भोजन गराउने, दाजुभाइले पनि दिदी बहिनीलाई टिका लगाई दिने, उपहार आदान–प्रदान , दक्षिणा दिने यहि त हो भाइ टिका ।
तिहार असाध्यै रमाइलो पर्व हो । राणाकालमा एकादशीको दिन देखि जुवा खेल्न फुक्यो भनेर झ्यालि पिटिन्थ्यो गरे । धेरै पछि सम्म पनि तिहारको समयमा रकम लेनदेन हुने गरी कौडा , पासा , तास खेल्दा कानुन लाग्दैनथ्यो । जुवामा हार्ने कतिको त घरबास नै उठिबास हुन्थ्यो । मारा मारा भनेर डुक्रेर टोलै थर्काउथे । अहिले तास ,जुवा खेल्न निषेध छ । दुम्सिकोट टिनार रातभरि मेन्टोल बालेर कौडा खेलको रमिता हेरेको झलझलि सम्झना छ । बाटोमा मान्छेले पिसाव गरेर एकहप्ता सम्म गनाउँदा हेर यहाँ जुवा खेलेका रहेछन् भनेर त्यसै थाहा हुन्थ्यो रे । हरेक पटक दाउ जित्ना साथ निश्चित रकम जुवा खेलाउनेले लिन्थे । जिताउरी माग्ने , च्याखे थाप्नेको भिड नै हुन्थ्यो । जुवामा सापटी दाउ दिएर हार्नेको गैह्री खेत सस्तोमा हात पार्ने पनि हुन्थे । एक जनाले जुवामा बीसमुरी खेत हारेछन् । अलिकति बचेको रुपैयाँ घर पुगेर जीताउरी भनेर जहान केटाकेटिलाई बाडे छन् । तर बीऊ राख्ने बेलनमा लाहुर पसे छन् । जहान केटाकेटी बीऊ राख्न जादा पो अर्कैले बीऊ राखेको देखेर बल्ल भेद खुलेछ भन्ने कथा जस्तै फलानो जुवाडे थियो , परिवार विचल्ली बनायो भनेर सुनाउथे तिहार आउँदा । बलि राजाले त तिहारमा राज्य पाउथे रे भने हामीले दक्षिणा किन पो नपाइएलार भनेर खेलिने देउसी र भैलोपछि आएर व्यवसायिक पनि भयो । देउसी भैलोको रौनक भट्याउनेको भाका, लय, शैली र यमराज यमुनाका कथा, जेमजुतेका कथा , लक्ष्मीको महिमा , मादलको स्वर हुन । तिहार रमाईलोका साथै सामाजिक कार्यमा रकम जम्मा गर्न देउसी र भैली खेल्ने चलन बढ्दै छ । कोहि जम्मा गरेको रकमले पिकनिक पनि गर्छन् । सात कक्षा पढ्दा पढाई नै बन्द गरेर हजुरबाहरुले स्थापना गरेको विद्यालय भवन कोठा र कक्षा थप बनाउन भनि रातभरी भैलि खेलको, नाचगानमा अनिवार्य सहभागी भएको अझै ताजै छ । यो नेपाली शिर उचाली संसारमा लम्किन्छ भन्ने गीतमा रातभरी नाचिन्थ्यो । पञ्यायत काल भएकाले राजाको गुणगान गरेका गीत बजाउँदा रकम बढी पाइन्छ भनेर के के छ नानी तिम्रो त्यो रातो झोलामा भन्ने अनि जवाफमा राजा र रानीको तस्विर छ ,यो मेरो रातो झोलामा भन्ने गीतको बोलमा मादलको तालमा कति नाचिन्थ्यो । दिनभरी सुतिन्थ्यो । अरु वर्ष रहर गरी फाट्फुट भैली खेलियो । हाम्रोतिर पुरुषले भैलिजो र महिलाले देउसीरी भनेर खेल्थे । भाई टिकाको भोलि पल्टको दिनलाई देउसीरे भनिन्थ्यो । देउसीरेको अर्को दिन धान काट्ने भनेर पहिलै तय थियो ।
मगरहरुले देउसीरेका दिन सार्वजनिक रुपमा मारुनी नाच्थे । अरु कसैको आग्रहमा अरु दिन घरमै गएर रातभर नाचगान गर्थे । आफुहरुका घरमा पालो पालो झण्डै एक महिना रातभरी नाचगान गर्थे । सोरठी नाचमा एकजनालाई पुरुसिंगे र दुईजना महिलाको भेषमा नाच्नेलाई मारुनी भनिन्छ । जोर मादलको ताल निकै राम्रो हुन्छ । खानपिनमा सौखिन हुन्छन् नाचगान गर्नेहरु । चार मुरि झेलुङे( सिलटुग) स्यहार्ने पनि बैशाखमा बीऊ किन्न हिड्थे । यत्तिका कसरी सकियो र भन्दा के गर्नु बाजे कात्तिक मंसिर भरि सैबो सैबो गरेर विरम्ला बनाएर खाएर सकिगो अहिले दैबो दैबो भन्न परो भनेर सुनाउथे अरे । चिउरीको पातले खुटेका दुनामा वत्ति बालेको , हावाले उढाएर गोठको खरको छाना नजलोस् भनेर ननिभे सम्म तगालोमा बत्ति कुरेको , गोरु चराउँदै घासको भारी पुर्याए पछि खर काटेर खरेनमा गाई तिहारका बिहानै तोरण बाटेको , भैलि खेलेको उ बेलाको रमाईलो अर्कै थियो । अहिले पनि गाउँ सहर जतासुकै समय अनुसार मौलिक र परिमार्जित रुपमा तिहार मनाइन्छ । सेलरोटी , फिनी , झर , अर्सा झिलिङ्गे रोटी , घिऊ र भात मनग्गे खान पाइने भएकाले सधै तिहार आवोस् भन्ने बालबालिकालाई लाग्थ्यो । अहिले पनि तिहार रमाईलै लाग्छ तर सानो छदाका दौतरीसँगै छैनन, गाई छैनन् गोठमा ।