शारदा खनाल
तिहार हिन्दुधर्मावलम्बीहरूको दसैं पछिको दोस्रो ठूूलो चाड हो । यसलाई यमपञ्चक, दीपावली तथा उज्यालो÷प्रकाशको पर्व पनि भन्ने गरिन्छ । कार्तिक कृष्ण त्रयोदशी तिथिदेखि कार्तिक शुक्लपक्षको द्वितीयासम्म यो चाड मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भन्ने गरिन्छ । तिहारको धार्मिक तथा ऐतिहासिक महत्व रहेको छ । हिन्दुधर्मशास्त्रमा उल्लेख भए अनुसार परापूर्वकालमा कालका देवता यमराजले आफ्नी बहिनी यमुनाको निमन्त्रणा स्वीकार गरी कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्म पाँचदिन बहिनीका घरमा बसेका थिए । बहिनीले दाजुलाई धेरै माया गरेर निकै सेवा सत्कार गरेपछि दाजु यमराज अत्यन्त प्रसन्न भए र बहिनीलाई वर माग्न आग्रह गरे । यमुनाले अहिले जस्तै यही समयमा सधै हामी दाजुबहिनी यसरी नै भेट्न पाऊँ, दाजुभाइको आयु बढोस्, दाजुभाइ तथा दिदीबहिनीको प्रेम अटल बनोस् भनी वरदान मागिन् । यमराजले तथास्तु भनेर उनको चाहना पूरा गरे र अर्को वर्षदेखि यही समयमा दाजुबहिनी भेट गर्ने निर्णयमा पुगे । त्यो बेलादेखि नै तिहार मनाउने प्रचलनको आरम्भ भएको कुरा शास्त्रहरूमा उल्लेख भएको पाइन्छ ।
यमराज र यमुना विश्वकर्माका नातिनातिना हुन् । विश्वकर्माले श्रीकृष्णको द्वारिका र रावणको सुनैसुनको लङ्काको निर्माण गरेका थिए । उनका तीन जना छोरी थिए । उनीहरूको नाम ऋद्धि, सिद्धि र सन्ध्या थियो । ऋद्धि र सिद्धिको विवाह शिवपार्वतीका पुत्र गणेशसँग भयो भने कान्छी छोरी सन्ध्याको सुन्दरता र शालीनताबाट मोहित भएका सूर्यनारायण उनको हात माग्न विश्वकर्मा कहाँ पुगे । त्यहाँ पुग्दा घरमा सन्ध्या मात्र एक्लै थिइन् । बगैंचामा फूल र पुतलीसँग रमाइरहेकी सन्ध्याका अगाडि सूर्यदेव आउँदा उनको तेजले सन्ध्याले आँखा बन्द गरिन् । आफ्नो अपमान गरेको बुझेर सूर्यदेव सन्ध्यासँग असाध्यै रिसाए । उनी सन्ध्यासँग विवाह नै गर्न भनि त्यहाँ आएका थिए । सूर्यदेव एकाएक पड्किएर भने –हे नकच्चरी केटी घरमा आएका पाहुनालाई सेवा सत्कार गर्नु त कता हो कता अझ आँखा चिम्लेर नदेखे जस्तो गरी मलाई अपमान गर्छेस् । म तँलाई श्राप दिन्छु । तँलाई यस्तो छोरा जन्मियोस् कि त्यो सबैको मृत्युको कारण बनोस् । सूर्यदेवका कुराले सन्ध्या अत्यन्त विचलित भइन् र भनिन्–“तपाइँ को हुनुहन्छ मैले चिनेकै छैन, अपमान गरेकी होइन, तपाईं नजिकै आउँदा तपाईंको तेजले आँखा खोल्न नसकेकी मात्र हुँ ।” सन्ध्याको कुरा सुनेपछि उनले आफ्नो तेज घटाए । सन्ध्याले पनि आँखा खोलिन् र भनिन्– “हे अलौकिक महापुरुष तपाईंले मेरो एकै नजरमा मन हरिदिनु भयो ।” सन्ध्याको कुरा सुनेका सूर्यदेवले भने – “तिम्रो सुन्दरताबाट प्रभावित भएर म आएको थिएँ । तिम्रो चञ्चल हालत देखेर म प्रसन्न भएँ । छोराको लागि तिमीलाई श्राप दिएको भए पनि अब म पुत्रीका लागि आशीर्वाद दिन्छु । तिमीलाई यस्ती छोरी जन्मने छन् तिमी जस्तै चञ्चल र विशाल हृदय भएकी हुने छन् ।” यसरी सन्ध्याले पाएको श्रापबाट यमराज र आशीर्वादबाट यमुनाको जन्म भएको कुरा धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ ।
बाल्यकालमा यमुनाले दाजु यमराजलाई अत्यन्त माया गर्थिन् । विवाह गरेर गएदेखि बहिनी माइत आएकी थिइन् । बहिनीलाई भेट्न यमराज आतुर हुन्छन् । संसारका प्राणीहरूको मृत्युको जिम्मा पाएका यमराजलाई आफ्नो कामले कहिलेकाँही वाक्क, दिक्क हुन्थे । यस्तो समयमा पनि उनी आफुलाई माया गर्ने बहिनीलाई सम्झेर व्याकुल हुन्थे । बहिनीको पटक–पटक निमन्त्रणा नआएको पनि होइन । बहिनी पनि दाजुलाई भेट्न त्यत्ति नै आतुर थिइन् । उनले विभिन्न रङ्गीचङ्गी चरालाई माध्यम बनाएर दाजु यमराजलाई निमन्त्रणा पठाएकी थिइन् तर यमराजले आफ्नो कामको जिम्मेवारी अरुलाई दिन नसकेर बहिनी कहाँ जान प्रबल इच्छा भएर पनि जान सकेका थिएनन् । उनलाई बहिनीको साथमा बस्ने रहर पुगेकै थिएन । दाजुलाई केही समय भए पनि कामबाट विश्राम होस् । आफूसँग लामो समयदेखि भेटघाट नभएको भेट पनि होस् भनेर यो पटक कालो नराम्रो चरो कागलाई माध्यम बनाएर दाजुलाई निमन्त्रणा पठाइन् । कागले दिएको समाचार पाएर यमराज खुसीसाथ बहिनी यमुनाको घरमा गए । कागले दाजुलाई बोलाएर ल्याइदियो भनेर यमुनाले कार्तिक त्रयोदशीका दिन कागको पूजा गरेकी थिइन् । यसर्थ अहिले पनि यसै दिनबाट तिहार सुरु भएको मानिन्छ । अहिले पनि कागको पूजा गर्दा फूल र अक्षता आकाशतर्फ छरिन्छ । कागलाई यमराजको दूत वा सन्देशवाहकको रूपमा लिइने गरिएको पाइन्छ ।
बहिनीकहाँ एकदिन बसेपछि यमराजले यमलोक फर्किनका लागि यमुनासँग बिदा मागे । उनले त्यो दिनको आफ्नो कामको जिम्मा शुम्भ र अशुम्भलाई दिएर आएका थिए । तर यमुनाले आज मात्रै होइन अझ केही दिन म कहाँ बस्नुपर्छ भनेर दाजुसँग जिद्दी गर्न लागिन् । यमराजले आफू यमलोक नगए आफूले गर्ने सबै कामकाज ठप्प हुने कुरा गर्दै बहिनीसँग भनेका छन्—“भोलि म फर्कन्छु भनेको छु । मेरो आज्ञाविना उनीहरूले केही पनि गर्दैनन्; यसर्थ म जान्छु ।” अहिले हजुरको काम ठप्प भएको छ र ? यमुनाले आजको काम सम्हाल्नेले भोलिको पनि त सम्हाल्न सक्छन् नि भनेपछि बहिनीको जिद्दीको अगाडि उनको केही सिप लागेन । केही दिन त्यहीँ नबसी सुखै पाएनन् । थप कुराको विवरणसहित केही दिनको जिम्मेवारी पुनः शुम्भअशुम्भलाई थप्नका लागि यमुनाले कुकुरलाई यमलोक पठाइन् । खबर पु¥याएर आएपछि कार्तिक कृष्ण चतुर्दशीका दिन यमुनाले कुकुरको स्वागतसहित पूजा गरिन् । टीकामाला लगाइदिइन् । मिठामिठा खानेकुरा खान दिइन् । यसपछि काग र कुकुर पनि यमदूतका रूपमा यमराजका भक्त बन्न पुगे ।
यसैबेला देवी लक्ष्मीलाई यमराजलाई भेट्नुपर्ने काम परेछ । लक्ष्मीले यमराज बहिनीको घरमा रहेको थाहा पाइन् । उनी अमवस्याको दिन गाईको रूप धारण गरी यमुनाको घरमा पुगिन् । यमुनाले लक्ष्मी आफ्नो घरमा आउन लागेको थाहा पाएपछि उनको भव्य तयारीका साथ स्वागत सत्कार र पूजाअर्चना तथा अनुष्ठान गरिन् । लक्ष्मीलाई प्रसन्न बनाउनका लागि घरमा सबैतिर दीप प्रज्वलन गरी भव्य दीपावली गरिन् । औंसीको दिनलाई गाई तिहार पनि भनिन्छ । यसै दिन सम्पूर्ण पूजा सामग्री तयार गरेर यमुनाले गाईको पनि पूजा गरिन् । अहिले पनि कार्तिक कृष्ण औंसीको दिनलाई लक्ष्मी पूजा तथा गाई तिहार भनेर हिन्दुधर्मावलम्बीहरू पूजा अर्चना गर्ने गर्दछन् ।
चौथो दिन अर्थात् कार्तिक शुक्लपक्षको प्रतिपदाका दिन यमुनाले गोरुको पूजा गरिन् । फूल, अक्षता, चन्दन, टीका, माला, मिठा–मिठा खानेकुरासहित गोरुको पूजा गरेपछि उनले पाँचौं वा अन्तिम दिनमा आफ्नै दाजुको पूजा गर्ने र टीका लगाइदिने तयारी गर्न थालिन् । दाजुलाई सप्तरङ्गी टीका लगाएर खानेकुराका अनेकौं व्यञ्जनहरू, मिष्ठान्न भोजनहरू तयार गरेर खुवाइन् । दाजुको दीर्घायुको कामना गर्दै मखमली माला र दुबो लगाइदिइन् । मेरा दाजुका सबै शत्रुहरू नाश होऊन् भनेर घरको सँघारमा ओंखर फोरिन् । विभिन्न मसला, मिष्ठान्न, रोटी, फल–फूलहरू र भोजन खुवाइन् । उनले दाजुलाई फकाउँदै–फकाउँदै पाँच दिनसम्म आफ्नो घरमा राखिन् । अहिले मात्र होइन अब प्रत्येक वर्ष यीनै दिनहरूमा हामी दाजुबहिनी मेरै घरमा भेट भएर टीका लगाउने गरौं भनी दाजु यमराजसँग प्रस्ताव राखिन् । यमराजले आफ्नी प्राणभन्दा प्यारी बहिनीको प्रस्तावलाई सहर्ष स्वीकार गरे र त्यहाँबाट बिदा भई आफ्नो यमलोकतर्फ प्रस्थान गरे ।
यमुनाले आफ्ना दाजु यमराज आफ्नै घरमा आएको मौका पारी उनी र उनका दूतहरूको समेत पूजाआजा गरी पाँच दिनसम्म राख्न सफल भइन् । बहिनीको अटल माया र सद्भाव पाएर यमराज पनि खुसीले अत्यन्त गद्गद् भए । उनी प्रत्येक वर्ष टीका लगाउन बहिनी यमुना कहाँ जाने र पाँचै दिनसम्म बस्न थाले । यमुनाले पहिलो दिन काग पूजा, दोस्रो दिन कुकुर पूजा, तेस्रो दिन गाई तथा लक्ष्मी पूजा, चौथो दिन गोरु तथा गोवद्र्धन पूजा र पाँचौं दिन दाजुको पूजा गरे जस्तै लोकका मानिसले पनि उनीहरूकै सिको गरी यसै गरी पाँचै दिन यमपञ्चक वा तिहार पर्व मनाउन थाले । यमुनाले जस्तै अन्य दिदीबहिनीहरूले पनि आफ्ना दाजुभाइहरूलाई यसरी नै सप्तरङ्गी टीका र मखमली, गोदावरी, सयपत्री इत्यादि फूलका माला लगाएर माया साट्ने, मिष्ठान्न भोजन तथ विभिन्न किसिमका मसलाहरू तयार गरेर खुवाउने, ओखर फुटाएर शत्रुहरू नाश होऊन् भन्ने कामना गर्ने, आफूसक्दो उपहार दिने गर्न थाले । यसै गरी दाजुभाइले पनि आफ्ना दिदीबहिनीहरूलाई माया गरेर आ–आफ्ना गच्छेअनुसार दक्षिणा र उपहार दिने परम्परा युगौंदेखि चल्दै आएको पाइन्छ ।
यसरी परापूर्वकालदेखि दाजुभाइ र दिदीबहिनीका बिचमा अटल माया र सद्भावका साथमा मनाइँदै आएको महान् चाड तिहारको केही वर्षयतादेखि भने विडम्बना दिनप्रतिदिन महत्व खस्कँदै आएको देखिन्छ । समाजको सर्वाङ्गीण विकासको गतिसँगै मान्छे दिनानुदिन स्वार्थी बन्दै जानु, सम्पत्ति जोड्ने होडबाजीमा मान्छे यान्त्रिक बन्दै जानु, समाजमा संयुक्त परिवारको अवधारणा हट्दै जानु, एकल वा छोटोछरितो परिवारको अवधारणा विकसित हुँदै जानु, श्रीमती, छोराछोरी र यीसँग जोडिएका मान्छे बाहेक परिवारभित्रका अन्य सदस्य (बाबुआमा, दाजुभाइ, दिदीबहिनी) पराया जस्ता लाग्न थाल्नु, श्रीमती र छोराछोरी बाहेक अन्य सदस्यलाई थोरै लगानी गरिहाले पनि त्यो रकम नोक्सान भएको महसुस हुनु, महँगीले आकाश छुनु, मानव जीवन दिनानुदिन भड्किलो बन्दै जानु, मान्छेमा माया, दया, विवेक, दायित्व बोध जस्ता कुराहरू हराउँदै जानु तिहार पर्वका महत्व घटाउने कारक तत्वहरू हुन् ।
अहिलेको अवस्था हेर्दा जे जसरी भए पनि सम्पत्ति जोड्ने र आफ्नो छोटो, छरितो र सुखी परिवारलाई खुसी जुटाउने महत्वाकाङ्क्षा बोकेको स्वार्थी प्रवृत्तिले गर्दा नेपालीहरू दिनानुदिन युरोपियन जस्तो बन्दै गइरहेका छन् । एउटै मातापिताबाट जन्मिएका दाजुभाइ, दिदीबहिनीहरूमध्ये सबैको बुद्धि, किस्मत र आर्थिक अवस्था प्रायः एकै किसिमको हुन सक्दैन । कसैले धेरै राम्रो पढ्न सक्छन् र उच्च ओहोदामा पुग्न सक्छन् भने कसैले थोरै पढेका हुन्छन् । कसैको सम्पत्ति धेरै हुन्छ भने कसैको कम हुन्छ । अहिले यस्तै अवस्थाले पनि तिहार पर्वको महिमा घटाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । आर्थिक रूपले सम्पन्न र उच्च ओहोदामा हुने दिदीबहिनी र भिनाजु ज्वाइँको ससुरालीमा पनि उच्चस्तरको मेजमानी हुन्छ तर सम्पत्ति नहुने, सामान्य जीवन बाँच्ने र दुःख पाउनेहरूको उति मूल्य हुँदैन । यसै गरी कतिपय खराव आचरण भएका दिदीबहिनीले पनि सम्पन्न दाजुभाइलाई जस्तो माया विपन्न दाजुभाइलाई गरेको देखिँदैन । दिदीबहिनीले पनि दाजुभाइलाई दिने उपहारमा समेत विभेद गर्छन् । यस्तै दुर्भावनाका कारणले दिदीभाइ र दाजुबहिनीका बिचमा अटल र निश्छल माया आदान–प्रदान गर्दै एकआपसमा सद्भाव राख्ने र दाजुभाइको दीर्घायुको कामना गर्ने पर्व दिनानुदिन संकटग्रस्त बन्दै गइरहेको देखिन्छ ।
धनसम्पत्तिलाई सबै कुरा ठान्ने, सम्पत्ति आर्जन गर्न उछिनापाछिना गर्ने र अर्कोलाई पछार्न समेत पछि नपर्ने अहिलेको समयमा एकातिर मान्छेलाई फुर्सद पनि कम हुन्छ भने अर्कोतिर दिदीबहिनीलाई भेट्ने, उनीहरूसँग दुःख–सुख सेयर गर्ने, टीका लगाउने, माया गर्ने कुरा उनीहरूलाई बेकारका काम जस्तो लाग्न थालेको आभाष हुन्छ । अहिले ८० प्रतिशत दाजुभाइहरू तिहारमा टीका लगाउनुपर्ने कुरालाई बाध्यात्मक परिस्थितिका रूपमा लिन थालेका छन् । उनीहरूको दिदीबहिनीप्रतिको श्रद्धा घट्दै गएको छ । यस्तो हुनु भनेको धेरैजसो दाजुभाइको दिदीबहिनीप्रति माया नहुनु नै हो । प्रायःजसो दिदीबहिनी सम्पन्न विपन्न जेजस्ता भए पनि श्रद्धापूर्वक भाइटीकाको तयारी गर्दछन् । केही प्रतिशत स्वार्थी र दुष्ट मनोवृत्ति भएका दिदीबहिनीले दाजुभाइले के के दिन्छन् भन्ने अपेक्षा पनि गर्दा हुन् । थोरै दिए भनेर मन खिन्न पनि बनाउँदा हुन् तर धेरै दिदीबहिनीको मनशाय त्यस्तो हुँदैन । तुलनात्मक रूपमा दाजुभाइले भन्दा दिदीबहिनीले नै धेरै माया गर्दछन् । माइतीको कुकुर पनि प्यारो हुन्छ भन्ने जनमानसमा कहाँ वत नै रहेको छ । केही प्रतिशत दाजुभाइले अहिले पनि दिदीबहिनीलाई आत्मैदेखि माया गरेको पनि देखिन्छ । तुलनात्मक रूपमा सम्पन्न दाजुभाइले भन्दा विपन्न दाजुभाइले दिदीबहिनीप्रति माया गर्ने र सद्भाव राख्ने गरेको पाइन्छ ।
केही वर्ष यता तिहार एउटा विकराल समस्या बन्दै गइरहेको छ । सबैभन्दा ठूलो समस्या त धेरै दाजुभाइकी एउटी बहिनीलाई देखिन्छ । सम्पत्तिको होडबाजीले गर्दा अहिले प्रायजसो दाजुभाइका बिचमा सम्बन्ध राम्रो हुँदैन । उस्तै परे बोली र घर बाराबारको स्थिति पनि हुन सक्छ । जब तिहार आउँछ यस्तो अवस्थामा त्यो एउटी बहिनीलाई अत्यन्तै पीडा हुन्छ । टीकाको लागि माइत आएकी त्यो दिदी वा बहिनीलाई सहयोग गरेर दाजुभाइ एकै ठाउँमा जम्मा हुन मान्दैनन् । उनीहरूका घर एउटै सहर वा गाउँमा पनि नहुन सक्छन् । नजिक घर भएका भए दिदी वा बहिनी टीका बोकेर दिनभरि सबैका घर–घर पालैपालो जान्थी होला तर अहिले दाजुभाइका मनका दुरी जति टाढा हुन्छन् प्राय बसोबास गर्ने स्थान पनि त्यत्ति नै टाढा हुन्छन् । दशैंमा जस्तै पूर्णिमासम्म टीका लगाउन मिल्ने भए पनि केही उनलाई केही सजिलो हुन्थ्यो होला । एकै दिन ३÷४ सय कि.मि. टाढा हुने दाजुभाइलाई एक जना दिदी वा बहिनीले कसरी टीका लगाइदिने ? ऊ कता जाने ? एकातिर छोडेर अर्कातिर गई भने जताबाट धेरै आम्दानी हुन्छ उतै गई भन्ने आरोप खेप्नुपर्छ । कतै नगएर बस्न पनि नहुने ! यसर्थ एउटी छोरी हुनेलाई अहिले तिहारमा सबैभन्दा धेरै पीडा देखिन्छ । दाजुभाइ मिलेका छन् भने एउटी हुनेलाई पनि गाह्रो हुँदैन । यसैले एउटी मात्र दिदीबहिनी हुनेले तिहारमा टीका बोकेर कसैका घर नगई आफ्नै घरमा सबै दाजुभाइलाई निमन्त्रणा गर्ने र त्यहाँ आए जति सबैलाई टीका लगाइदिने गर्ने हो भने उनलाई अलि सहज होला जस्तो लाग्छ । यसो गर्दा जताबाट बढी आम्दानी हुन्छ त्यतै गई भन्ने आरोपबाट पनि बच्न सकिएला ।
धेरै दिदीबहिनी थोरै दाजुभाइ हुनेलाई तिहारमा खास समस्या हुँदैन । दाजुभाइलाई पायक पर्ने अवस्था हेरी दिदीबहिनीले सल्लाह गरेर टीका लगाइदिन सक्छन् । सम्भव भए सबैजना एकै ठाउँमा जम्मा भएर टीका लगाउने सम्भव नभए जसलाई जता पायक पर्छ त्यतै लगाइदिने चलन अहिले पनि छ । तिहारको महत्व खस्कँदै गएको परिप्रेक्ष्यमा पनि कतिपय दाजुभाइले भने अहिले पनि अत्यन्त श्रद्धापूर्वक दिदीबहिनीबाट भाइटीका लगाउँछन् । दिदीबहिनीहरूलाई निकै माया पनि गर्दछन् । यस्तो अवस्थामा उनीहरूका बिचमा लेनदेन, आम्दानी तथा खर्चको हिसावकिताव पनि हुँदैन । उनीहरूका बिचमा भएको मायाममताले यी कुराप्रति कसैलाई वास्ता हुँदैन । दुवै थरिले जेजति पाउँछन् त्यसैमा खुसी हुन्छन् । नपाए पनि गुनासो गर्दैनन् । तर कर फाल्न टीका लगाउने र लगाइदिनेहरूलाई भने तिहारमा नाफानोक्सानको मात्र मतलब देखिन्छ । धेरै लगानी गरेँ आधा पनि उठेन भन्ने दिदीबहिनी र यो टीकाको टन्टाले बिनसित्तीको खर्च मात्रै भयो भन्ने दाजुभाइ अहिले धेरै देखिन्छन् । आपसमा नमिल्ने दाजुभाइलाई टीका लगाइदिनुपर्ने एउटी दिदी वा बहिनीका यो तिहार नआउँदै म किन मरिन होला ? यस्ता दाजुभाइ कसैका पनि नहोऊन् । एउटी छोरी भाग्यमानी भन्थे तर म जस्तो अभागी यो संसारमा कोही पनि रहेनछ । दाजुभाइका कारणले सधै दुःखी हुनुपरेको छ । यो तिहार सूतक परेर सधै छेक्किए पनि हुन्थ्यो नि । तिहारकै बेला म नछुने हुन पाए पनि आनन्दै हुन्थ्यो भन्ने आवाज धेरै सुनिन थालेका छन् ।
तिहारको ऐतिहासिक महत्व वा गरिमालाई अक्षुण्ण राख्ने हो भने दाजुभाइ तथा दिदीबहिनीका बिचमा सधै बाल्यकालको जस्तो अटल र निस्वार्थ माया रहिरहन आवश्यक छ । संयुक्त परिवारबाट एकल परिवारतर्फ संकुचित हुँदै जाँदा स्वार्थले धुमिल बन्दै गएको मायाममतालाई अलि फराकिलो बनाउनुपर्ने देखिन्छ । चार दिनको जिन्दगीमा अभिमान लिनुहुँदैन । सबैको मनमा मरेर जाने चोलामा कसैसित वैरभाव राख्नुहुँदैन भन्ने भावना हुनुपर्छ । एउटै कोखबाट जन्मेका सबै दाजुभाइ दिदीबहिनीका बिचमा आपसी सद्भाव हुनुपर्छ । सबैमा मानवीय भावना हुनुपर्छ र सबैले विवेकशील दृष्टिकोण राख्नुपर्छ । धनसम्पत्ति मात्रै सबै कुरा हो भन्ने धारणा त्याग्नुपर्छ । सबैमा पारिवारिक कर्तव्य तथा दायित्वबोध हुनुपर्छ । अनावश्यक तडकभडक र उपहारको लेनदेन गर्ने होडबाजीको अन्त्य गरी आपसी सद्भाव र अटल मायाको आदान–प्रदान गर्ने हो भने यमराज र यमुनाको जस्तो आत्मिक माया रहिरहन सक्छ । यदि यसो हुन सकेन भने हिन्दुहरूको महान् चाड ‘तिहार’ उज्यालो, खुसी वा प्रकाशको पर्व नभएर अँध्यारो तथा आँसुको पर्व बन्न जाने कुरा निश्चित देखिन्छ । यस्तै अवस्था बढ्दै गएमा यो पर्व दिनप्रतिदिन विकृत र घाँडो बन्दै जाने कुरामा पनि दुई मत हुने छैन् । (लेखक त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक समेत हुन् )