Shittalpati
मीन सरको महाप्रस्थान 

पुष्कर अथक रेग्मी 

“आफै नआए पनि तस्विर पठाए हुन्छ ...” बोलको कवाली गीत गाउँदै हाते रुमाल हल्लाउँदै नाच्ने, गाउने कलाकार पाल्पाको शैक्षिक, सामाजिक, साँस्कृतिक अभियन्ता, आदरणीय गुरु मीन बहादुर के.सी. परलोकगमन हुनु भएकोमा दीवंगत आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त समस्त के.सी. परिवारला धैर्य धारण गर्न सक्ने क्षमता ईश्वरले प्रदान गरुन् भनी हार्दिक समवेदना प्रकट गर्दछु ।

लुम्बिनी प्रदेश पाल्पा तानसेन–३ बसन्तपुर टोल निवासी मीन बहादुर के.सी.को जन्म वि.सं. २००२ साल चैत्र ३० गतेका दिन पिता मानबहादुर के.सी. र माता लिला के.सी.को सुयोग्य पुत्रको रुपमा भएको हो । जनता माध्यमिक विद्यालय तानसेनमै कक्षा १ देखि १० सम्म अध्ययन गरी वि.सं. २०२० सालमा एस.एल.सी उत्तीर्ण गरी त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट वि सं २०२२ सालमा प्रवीणता प्रमाणपत्र, वि.सं. २०२४ सालमा मानविकीतर्फ स्नातक गरी त्रिभुवन विश्वबिद्यालय कीर्तिपुरबाट एक वर्षे बि.एड. उत्र्तीण गर्नुभएका मीन सरले प्रारम्भमा तत्कालीन भगवती स्थान प्रा.वि.बाट शिक्षण सेवा प्रारम्भ गरी सेन माध्यमिक विद्यालयको संस्थापक, शिक्षक, साहायक प्रधानाध्यापक हुँदै लामो समयसम्म प्रधानाध्यापक रही सेवानिवृत हुनुभयो । उहाँले भगवतीस्थान प्रा.वि. मा ३ बर्ष र त्यसपछि सेन मा.वि.मा ३७ वर्ष गरी करीब ४० वर्षसम्म शिक्षण सेवा गर्नु भएको भियो ।

परिवारको एक्लो छोरा सानै उमेरदेखि गाउन, फुटबल खेल्न, मनोरञ्जन गर्नमा रुचि लिने मीन सरको मन पर्ने पोशाक पाइन्ट र निलो आकाशे रड्डको सर्ट थियो भने प्रायजसो उहाँ पाइन्ट र सर्टमा उपस्थित हुनुहुन्थ्यो । दाल, भात, तरकारी, अचार र मासु गरी सामान्य खानानै खान रुचाउने मीन सर सानादेखि ठूलासम्म सबै जनासँग जहाँ जसरी पनि बसेर, गफ गरेर, खाना खाने, खाजा खाने र रमाईलो मनोरञ्जन गर्ने गर्नु हुन्थ्यो । नर्मल तालिम, शैक्षिक तालिम, प्रशिक्षक तालिम, प्रअ तालिम लिई प्रशिक्षक समेत रहनुभएका उहाँले प्रा.वि., नि.मा.वि, मा.वि.का धेरै शिक्षकहरुलाई तालिम दिनुभएको थियो । यसका साथै उहाँ स्थानीय र राष्ट्रिय गोष्ठीका साथै सिंगापुर र बैंककमा भएको अन्तर्राष्ट्रिय शैक्षिक गोष्ठीमा समेत सहभागी हुनुभएको थियो । उहाँले सेन मा.वि. तानसेन, नेपाल शिक्षक संघ र नेपाल ट्रेड युनियन काँग्रेसमा सम्वद्ध रहँदा विभिन्न किसिमका गोष्ठी भेला र सम्मेलनहरुको आयोजना गर्नु भएको थियो । यस्को सिको उहाँ पछिका अरुले पनि गर्दै आएका छन् । नेपाल शिक्षक संघ पाल्पाका संस्थापक अध्यक्ष र केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका मीन सरले शिक्षा समाजसेवा, सचेतना र सम्पदा तथा संस्कृति संरक्षणको क्षेत्रमा समेत उल्लेखनीय कार्य गर्नुभएको थियो । सेन जुनियर रेडक्रस सर्कलको संरक्षक, नेरेसो श्रीनगर उपशाखा मातहतको आजीवन सदस्य, पाल्पा शाखामा लामो समयसम्म सदस्य रही सल्लाहाकार नेपाल नेत्रज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पतालको सदस्य समेत रही सामाजिक अभियन्ताको रुपमा समेत कार्य गर्दै आउनु भएको थियो ।

पाल्पा साहित्य समाजका शुभचिन्तक, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालका आजीवन सदस्य र देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानका उपाध्यक्ष समेत रहि पाल्पा तानसेनको भाषा कला संस्कृति र सम्पदाको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनका लागि योगदान पुर्‍ याउँदै आउनुभएको थियो । नागरिक समाज पाल्पाका सह–संयोजक, सामुदायिक सेवा केन्द्रका सदस्य, नेपाल क्षयरोग निवारण संघका सदस्य, नेपाल ट्रेड युनियन काँगे्रसका अध्यक्ष र सल्लाहकार, सेन मा.वि.विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, लायन्स क्लब पाल्पाका पूर्व अध्यक्ष, सहयोगी समाज बसन्तपुरका संस्थापक उपाध्यक्ष, जनता मा.वि.पूर्व विद्यार्थी समाजका उपाध्यक्ष समेत रहनु भएका मीन सरले स्वदेशका अधिकांश जिल्लाहरुका साथै मित्र राष्ट्र भारतसहित सिंगापुर र थाईल्याडको समेत बैदेशिक भ्रमण गर्नु भएको थियो ।

स्थानीयदेखि राष्ट्रियस्तर सम्मकै विभिन्न संघ संस्थाहरुद्वारा सम्मानित र राष्ट्रिय शिक्षा पुरस्कारद्वारा पुरस्कृत व्यक्तित्व मीन सरले आफ्नो माता पिताको स्मृतिमा सेन मा.वि., प.प. मा.वि. र जनता मा.वि.अक्षयकोष स्थापना गरिदिनुका साथै नेपाल नेत्र ज्योति संघ पाल्पाका लागि चन्दादान र विभिन्न धार्मिक अनुष्ठानहरुमा सहयोग रकम प्रदान गर्नुभएको छ । बाल, युवा, वयस्क, जेष्ठ नागरिक सबैसंग परिचित मीन सर सबैको प्रिय र आर्दशको पात्र हुनुहुन्थ्यो । तत्कालीन समय बि.सं २०४०–२०६० को बिसकमा पाल्पाको तानसेनमा अंग्रेजी  विषयमा ट्यूसन पढाउने शिक्षकको रुपमा मीन सरको नाम अग्रपंक्तिमा आउथ्यो । मीन सरसंग अगे्रजी पढाउने र अंग्रेजीमा धेरै विद्यार्थीलाई एस.एल.सी.मा पास गराउने सुत्रात्मक कला थियो । ल्यत  भए कट ल्य लयत नभए थप भन्दै tag question, I shall, We shalltag question, I shall, We shall भन्दै I र We  मा shall लगाउनु अरुमा will, wh question मा why आयो भने because भनेर उत्तर दिन सुरु गर्नु भनेर तमाम सरल नियमहरु सिकाउनुहन्थ्यो । यस पंक्तिकार अथकले पनि आदरणीय गुरु मीन सर संगनै अंग्रेजीमा ट्युसन पढेर एस.एल.सी उत्र्तीण (२०४२) गरेको थियो । टयुशन पढ्दाका ति दिनहरु म पुरै सम्झन्छु । मीन सरसँग साहित्यको बारेमा कुरा गर्दा “पाल्पामा राजेन्द्र गोपाल सिंह, चित्रवलीराम सुवाल र पुष्कर रेग्मी समेतको पाल्पा साहित्य समाजले धेरै नै काम गरेको छ” भन्दै पाल्पाली साहित्यकारहरुमा माधवप्रसाद देवकोटा र जगतबहादुर जोशी, नेपाल साहित्यकारमा महाकवि देवकोटा र वी.पी. कोईराला तथा अंग्रेजी साहित्यकारमा शेक्यपियर बढी मनपर्छ भन्नुहुन्थ्यो भने आफुलाई प्रेरणा दिने पाल्पाली व्यक्तित्वको रुपमा कविराज दशरथमान सिंह, पूर्णमान शाक्य, जगतबहादुर जोशी, झमेन्द्रप्रसाद नेपाल र राधा भारतीको नाम लिनुहुन्थ्यो । बुद्धिप्रसाद शर्मासँगै विद्यालय शिक्षा पढेर दुबैले शिक्षा र सामाजिक सेवा गर्दै आएकोमा वर्तमान समयमा आफ्नो बाल, युवा, वयस्क, जेष्ठ दौतरी बुद्धिप्रसाद शर्माले समेत पाल्पाको शिक्षा, स्वयम्सेवा र समाज सेवाको क्षेत्रमा पुर्‍ याएको योगदानको तारिफ गर्नुहुन्थ्यो ।

वी.पी. कोईरालाको प्रजातान्त्रिक समाजबादमा आस्थवान मीन सर नेपाली काँगे्रसका क्रियाशील सदस्य रहनुका साथै नेपाली काँग्रेस निकट विभिन्न भातृ एवं शुभेच्छुक संस्थाहरुमा समेत कुनै न कुनै रुपमा संम्बद्ध रहनुभएको थियो । विभिन्न संघ संस्थामा आबद्ध मीन सरले “सामाजिक सेवा नै अहम् सेवा भएकोले सधैँ सबै यसतर्फ सजग रहनुपर्छ” भन्नुहुन्थ्यो । उहाँले बालबालिकाहरुलाई “अद्भुत हुनु, आफ्नो बुवा आमालाई सम्मान गर्नु, आफु भन्दा सानालाई सदैब माया गर्नु र गुरुहरुलाई सदैब आदर गर्नु” भनी अर्ती दिनुहुन्थ्यो । युवाहरुको लागि पनि ‘‘कुलतमा नलाग्नु, पूर्खालाई स्मरण गर्नु, भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्नु र असल नागरिक बन्नु” भनी सन्देश दिईरहनुहुन्थ्यो । उहाँले सामाजिक संघ संस्थाहरुलाई समेत “संस्था भनेका सामाजिक भावनाले ओतप्रोत भएको हुनुपर्दछ । मानव सेवा नै भगवानको सेवा भएकोले मानवीय सेवामुखी कार्य गनुपर्दछ” भनी सुझाब दिनुहुन्थ्यो । राष्ट्रिय राजनीति र मुलुकप्रति चिन्ता गर्दै एक अन्र्तवार्तामा मीन सरले यस पंक्तिकारलाई भन्नु भएको थियो ‘‘राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट हेर्दा देश दिनानुदिन आन्तरिक  द्वन्द्व र चुनौतीको दलदलमा फस्दै गईरहेको हुनाले पार्टी र नेताहरु विद्यमान अभ्यास र निर्णय प्रकियामा रमाउने अहंकारले राजनीतिक सुरक्षामा कमी आएको महशुस हुन थालेको छ । यसतर्फ सर्तक रहन पार्टी र नेताहरुलाई सचेत गराउन चाहान्छु ।” जेष्ठ जीवनमा पनि लठ्ठी टेकेर हिँड्दा समेत निमन्त्रणा गरी बोलाइएका हरेक ठाउँमा पुग्ने र सबैलाई अभिप्रेरणा दिने मीन सरको शारीरिक अस्वस्थ्यता बढ्दै गयो । उहाँ निकै गल्नु भएकाले क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा उपचारका लागि भर्ना गरियो । किड्नीको समस्याको कारण उपचार सफल हुन नसकी उहाँलाई पाल्पा तानसेन–३ बसन्तपुर स्थित आफ्नै घरमा ल्याईयो । घरमा ल्याईएको केही समयमै मिति २०८० साल कार्तिक १९ गते आइतबारका दिन धर्मपत्नी शान्ता के.सी., छोरा द्वय पल्लव र पंकज के.सी, छोरी प्रतिमा, बुहारी द्वय, ज्वाइँ, नाती नातिनीहरु, आफन्तजन, छिमेकी, शुभचिन्तक, मित्रहरु, शिष्यहरु सहित चिनेजाने बुझेका सम्पूर्णलाई स्तब्ध पारी शोकाकुल बनाई आदरणीय गुरु मीनबहादुर के.सी., पाल्पाका शैक्षिक, सामाजिक एवं साँस्कृतिक अभियन्ता सबैका मीन सरको यस लोकबाट परलोकमा महाप्रस्थान भयो । अलविदा मीन सर । बैकुण्ठ बासको कामना ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update