हिन्दूहरुको महान् पर्व दशैं, तिहारपछिको महत्वपूर्ण पर्व छठ हर्षाेल्लासका साथ मनाइँदैछ । तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ । एकता, सद्भाव र भातृत्वको प्रतिक समेत मानिने यस पर्वलाई बढो हर्षोल्लासका साथ नदी, ताल तलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको किरणलाई अर्घ दिएर यो चाड मनाइने गरिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन आज छठ अर्थात् षष्ठी हो । वर्षा सकिने र जाडो पनि धेरै नहुने यो मौसम आफैँमा पर्वमय लाग्छ । दशैँ, तिहार र छठ अखण्ड पर्व हुन् । दशैँको सम्बन्ध तिहार र छठसँग छ । छठ शब्द संस्कृतको ‘षष्ठी’ शब्दबाट विकसित भएको इतिहास छ । चार दिवशीय छठ ब्रतमा सबै भन्दा कष्ठ, कठिनाई, दौडधुप, श्रम—शक्ति र महत्वको हिसाबले कात्तिक शुक्लषष्ठीको दिनै हुन्छ । छठ कात्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा धुमधामका साथ मनाइने निकै चर्चित पर्व हो । यो पर्व षष्ठी पूजाको अपभ्रंशका रूपमा आएको हो । यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता (श्रीसपता) को पूजा गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर प्रारम्भ हुने यो व्रत भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विसर्जन हुने गर्छ । निकै पवित्र, सफा सुग्घर र निष्ठापूर्वक मनाइने लोकपर्व धेरै दृष्टिकोणबाट मननयोग्य छ ।
छठको धेरै महत्व छन् । छठले सामाजिक सन्देश र धार्मिक मान्यता विस्तार गर्दै आएको छ । बत्ती बाल्ने वा सूर्यको उपासनाले अन्धकारबाट उज्यालोतर्फको यात्रालाई निःसृत गरेको हुन्छ । मानव र प्रकृतिबीचको सम्बन्धलाई छठले प्रत्येक वर्ष प्रगाढ बनाउँदै आइरहेको छ । मानव जातिको पीडाप्रति सजग गरी छठ पर्वले हरेक बर्ष दीपावली समाप्तिपछि मानव र प्रकृतिबीच हराउँदै, बिलाउँदै, लोप हुँदै गइरहेको संवेदनशील रागात्मक, अटुट संवाद—सम्बन्धको सुत्रधारलाई सबलीकरण गर्दै मानव र प्रकृतिबीच सम्बन्धलाई डोरीको गाँठो जस्तो बाँधने काम गरेको छ । यो आफैमा सकारात्मक पक्ष हो । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा समेत लिइन्छ । तसर्थ अन्य पर्व जस्तै छठ पर्वको धार्मिक महत्वलाई दर्शाउन सकेमा यो पर्वले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ मजबुत बनाउन सक्छ । त्यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।