Shittalpati
शौचालय दिवस र यसको सार्थकता

विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी आइतबार मनाइएको छ । यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारा तय गरी दिवस मनाइएको हो । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । बढ्दो शहरीकरण र सार्वजनिक खुला स्थानको अभावले शहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौति बढेर गएको छ । मानव समुदायलाई मानवजन्य दिसापिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधीबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्र संघले हरेक वर्ष १९ नोभेम्बरमा विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो ।

राष्ट्र संघका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट बञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाव गर्छन् । खुला दिसापिसावका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्रको रुपमा आफुलाई घोषणा गरे पनि त्यसले मूर्तरुप लिन सकेको छैन । नेपालमा अझै पनि ४.५ प्रतिशत अर्थात् ३ लाख १ हजार ४ सय ९० मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । हचुवाको भरमा खुला दिशामुक्त घोषणा गर्दा अहिले पनि आमनागरिकले समस्या झेल्नु परेको छ । नेपालका धेरै जिल्ला खुला दिसामुक्त घोषणा भए पनि कार्यान्वयमा यो लागू हुन सकेको छैन । पाल्पालाई पनि २४ चैत्र २०७४ मा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । खुला दिसामुक्त घोषणा गरिएको ६ वर्ष पुग्न लाग्दा पनि यहाँका शहर र राजमार्गमा भने पर्याप्त शौचालय छैनन् । पर्याप्त सार्वजनिक शौचालय नहुँदा यात्रुले चर्को समस्या झेल्नुपरेको छ । भएका शौचालयहरू पनि प्रयोगलायक छैनन् । सरकारले सार्वजनिक शौचालयको महत्व नदिएको होइन, तर, कार्यान्वयन पक्ष फितलो हुँदा समस्या उत्पन्न भएको हो । लाखौं नागरिक संविधानले ग्यारेन्टी गरेको स्वास्थ्य सम्बन्धी न्यूनतम सुविधा शौचालय प्रयोगबाट समेत बञ्चित हुनु दुःखद् हो । सफा शौचालयको सहि प्रयोग सभ्य समाजको अभिन्न अंग पनि हो । यसर्थ खुला दिशामुक्ता भएका जिल्लाहरुलाई सफल कार्यान्वयनको दिशामा अगाडि बढाउन सके मात्र हरेक वर्ष मनाईने विश्व शौचालय दिवसले सार्थकता पाउन सक्छ । यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update