पाल्पा, उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ सकिएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका ब्रतालुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिएको हो ।
चार दिनसम्म मनाइने छठ पर्व कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु भई कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न भएको हो । छठ पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइन्छ । मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वमध्ये छठ पर्व पनि एक मानिन्छ । जसरी दीपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ त्यसरी नै छठ पर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ । यो पर्वमा खासगरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । त्यसले गर्दासमेत यस पर्वको परम्परालाई उक्तरुपले नै देखिन्छ । गरिब, धनी, दलित एवं उँचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन् । सूर्य देवतालाई पहिलो दिनको अघ्र्य अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ्य’ भनिन्छ । सूर्य देवतालाई खास गरी उक्त दिन अर्घ्य दिइने गरिन्छ जुन दिन उदयकालमा केहीबेरका लागि भए पनि षष्ठी तिथि परेको होस् ठीक त्यसैअनुरुप उदयकालमा दिइने अर्घ्यका लागिसमेत त्यही विधि अपनाइन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेकाबेला ‘भोरका अर्घ्य’ दिइन्छ । छठ पूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादका रुपमा अघ्र्य अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ्य’ मा दिइने परम्परा छ । सूर्य देवतालाई अर्पण गरिएको प्रसाद साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राखिन्छ तर केही स्थानमा नदीमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसाद घर लगिन्छ र बिहानपख सूर्य उदाउनुभन्दा अगावै पुनः त्यो प्रसाद घाटमा ल्याई छठ पर्व मनाइन्छ ।
छठ व्रत गर्ने सबैजना चौठी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्दछन् । यही तिथिका दिनदेखि छठ पर्व औपचारिकरुपमा प्रारम्भ हुने गर्दछ । यसदिन व्रत गर्ने महिला र पुरुष नुहाई धुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् । कार्तिक शुक्ल पञ्चमी तिथिका दिनभरि पर्व गर्ने व्रतालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुलोमा नयाँ माटोको भाँडामा अर्वा चामलको खीर बनाउने गरिन्छ । कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् भने पुरुषले सूर्य देवतालाई अघ्र्य अर्पण गर्ने समयसम्म पोखरी, तालतलैयामा हातमा नरिवल वा अन्य फलफूल लिइ उभिरहेका हुन्छन् । साँझको समयमा घण्टौँसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबा लगायतमा राखिएका ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिंगारा, फलफूल, पान, सुपारी, धूप, दीप लगायतले अस्ताउँदो सूर्यलाई अघ्र्य दिने चलन रहेको छ । पुराणका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ जुन की सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ । माता सृष्टी सम्पूर्ण जीवको रक्षिका देवी हुन् । प्रकृतिको छैठौँ अंश भएका कारण उनको नामसमेत षष्ठी छ ।