जगन्नाथ पन्त
असल कर्म गर्नु मानवता हो । देखावटीका लागि गरिने काम मानवता होइन । राम्रो विचार, राम्रो कर्म भनेको अरुको सेवा गर्नु , उपकार गर्नु ,चहुओर संसारका लागि जीउनु, अरुको पिडामा दुःख लाग्नु मानवता हो । अरुको भलो हुने कार्य गर्नु मानवियता हो । अरुलाई दुख पुग्ने कार्य अमानवियता हो । अष्टादश पुराणेसु व्यासाय वचनम् द्वय , परोपकार पुण्याय पापाय परपीडनम् । बुद्धि दिग्भ्रमित छ भने मन खराब कार्यमा जान्छ । मनमा अहंकार , कोमल भावनाको अन्त्य पतनको पहिलो संकेत हो । कठोर हृदयमा सुन्दर भावना रहन सक्दैन । समान जनमा कसै प्रति बढी मायाको आशक्ति र कसैप्रति दुर्भावना पलाउनु अधर्म हो । निधारमा टिका , पहेलो बस्त्र धारण , माला जपले झट्ट हेर्छा कोमल व्यक्तित्व झल्किएला तर मन सफा छैन भने , सम भाव छैन भने त्यो केवल आडम्वर हो ।
ब्रह्माण्ड सनातन हो । ब्रह्माण्डका सिर्जनाकार ,सञ्चालक ब्रह्म हुन । ब्रह्म सर्वेश्वर हुन । जीव, जगत र भगवान एकै समयमा उत्पन्न भएका हुन । जगत माया हो । आँखामा मोतिया विन्दु भयो भने दृष्टि गुम्दछ , झ्यालमा पर्दाले सिसाको झ्याल भएर पनि बाह्य दृ्ष्य लुप्त हुन्छ, माया मोहको जालले मनुष्यत्व मर्दछ । यहि माया मोहको जालोले जीवलाई आध्यात्मिक हुन रोक्दछ । आध्यात्मा सनातन हो । मनुष्य जीवहरुमा सर्वश्रेष्ठ जीव हो । मनु्ष्यआत्मा परमात्माको अर्थात् ईश्वरको अंश हो । जगतमा अनिवार्य प्राप्ति हुने बाबु आमा , दाजु भाई , दिदी बहिनी , पति पत्नी , छोरा छोरी , सासु ससुरा , साला साली र अलिपर ईष्टमित्र , संगिहरु , धन सम्पत्ति , पदको मान यीनैमा मोह, आसक्ति, मधुर्यता , मालिन्यताको जालमा फनफनी फन्को लगाउँछ र सकिन्छ मनुष्य । स्वजन प्रतिको कर्तव्य बाट पर भाग्नु त मिल्दैन । स्वजन प्रेम गर्न नसक्ने , अति स्वार्थी , गतिलो देखिन तिकडम गर्नेले ब्रह्मको प्रेम गर्न सक्दैन । उसले ब्रह्मलाई पनि स्वार्थ पुरा भए मात्र विश्वास गर्छ । दुःख मा पुकार्छ तर सुखमा भुलिदिन्छ । मनबाटै , बुद्धि र विवेक समर्पण गरेर ब्रह्मको अंशि हु भनेर हरपल स्विकार गर्ने मौजुदा आठ अर्ब मनुष्यमा मुस्किलले एकसय होलान् । समुन्द्रको पानी वाफ बनेर बादल बन्दछ । बादल वर्षीएर हीउँ , असिना , पानीबाट खोला ,नदीमा बहन्छ । खोला,नदीको पानी समुन्द्रतर्फ बग्दछ । जसरी पानी आफ्नो उत्पत्ति स्थल समुन्द्रतर्फ जान खोज्द छ ,त्यस्तै हो हामीले पनि आनन्द ,सुख खोज्नु । अर्थात् हामी जसको अंशी हो , उहि भगवानमा मिलन हुन जीवात्माले हरदम खोजि रहन्छ ।
मानिस मात्र त्यस्तो जीव हो, जसले पूर्ण अंशी प्राप्त गर्न सक्दछ । एक पटकको जुनिमा सकेन भने पुण्यकर्मले पुनः मनुष्य जुनी पाउला । सम्पन्न कुलमा जन्मयो भने भगवत क्षेत्रमा मन जाला । मरे पछि फेरि जन्मला जीव ? कति जना मरेर गएकाका हामीले जयन्ती मनाउछौ , के उ मरेर पनि बाचेको छैन र ? कति जना शक्तिशाली रुपमा जीउँदै छन् तर सत्तोसराप गालि खाइरहेका हुन्छन् । जीउँदै मरेका र मरेर पनि जीएका मनुष्य छन नि यो धर्तिमा । भष्मी भुतस्य देहस्य पुनरागमनम् कुत । चारबागले भने जस्तै मरेको शरिर त फेरि फर्केर आउदैन नै । तर उसको कृति, यस, योगदान वा बदनाम , अत्याचार , अनाचार त युगौ युगसम्ंम जीवितै रहन्छ । कुहेको वस्तुमा आौशाहरु कति उत्पन्न हुन्छन् । बहुबिज हुने अम्वा कुहिएर पनि कति बिरुवा उम्रन्छन । अरु यस्तै अन्न वनस्पतिको बिजबाट कति जन्म हुन्छन् । मनुष्य शरिर सडेगले पछि शरिर त पुनः धारण गर्दैन । तर मनुष्यको आत्मा अजर अमर रहन्छ । आत्माले नयाँ भू्रणमा प्रवेष गरेर जन्म लिन्छ सनातन शास्त्रको मान्यता छ । अरु जीवात्माले मनुष्य र मनुष्य आत्माले अरु जीवको शरिरमा पनि जुनि फेर्न पर्छ कर्मफलको आधारमा भन्छ सनातन शास्त्रले । हात्ति जत्रो विशाल होस् वा भुसुना जत्रो सानो जीव होस् आत्माको आकार एउटै हुन्छ । यो अदृष्य छ । एक्सरे , सिटिस्क्यान , एमआरआइ वा अल्ट्रासाउण्डले पनि देख्न सक्दैन । त्यसैले त प्राणको रुपमा रहेको आत्माले शरिर छोड्दा कसैले पनि देख्न सक्दैनन् । मुटुले, फोक्सोले काम गर्न छोड्ने पनि त्यही प्राणले छोडेर हो । परान गयो भन्छौ हामी सामान्य बोलिचालिमा । कुनै जीवको आयु एक दिनको , एक साता, एक महिनाको मात्र हुन्छ । जस्तै मच्छर आदि । मनुष्यले पूर्णाअंशी प्राप्त गर्न सकोस् भनेरै लामो आयू पाएको हो ,तर यो पनि क्षणभंगुर छ । कर्मफलको विषयमा एउटा कथा छ । ठूलो पदमा वा जिम्मेवारीमा रहने धेरैले शक्तिको दुरुपयोग गर्छन् र निम्नकोटिको जुनि पाउँछन् भन्ने । सबैमा लागू नहोला यो कथा । प्रतिकात्मक रुपमा बुझिलिनु होला । एउटा मान्छेले बाटोमा डुलि हिड्ने कुकुरलाई ढुङ्गाले हानेर घाइते पारेछ । कुकुर काइकाई गर्दै इश्वरसँग विलाप गरेछ । मेरो केहि गल्ति नहुँदा पनि मलाई कुट्यो भनेर । इश्वरले कुकुरलाई भने छन् अनाहकमा तिमिलाई कुट्नेलाई के सजाए दिऊ भन ? कुकुरले भने छ त्यो मान्छेलाई मन्त्रि बनाइ दिनुहोस् । सजाय दिनु पर्नेलाई पुरस्कार के भन्छ यो कुकुर ! भनेर इश्वर कट्के छन् । भगवान अघिल्लो जुनिमा म मन्त्रि थिए । पदको शक्तिको अभिमानमा मैले धेरै नै नगर्नु गरेछु । अमानवीय भएछु र त्यसको फलस्वरुप यो कुकुर जुनी पाएको हुँ । त्यसलाई पनि मंत्री बनाई दिनुहोस , कुकुरको जुनि पाए पछि थाहा पाउँछ । त्यसले अनाहकमा कुटाई खाएपछि । मृत्यु सत्य छ, जन्मने होस् वा उम्रने सबै जीवको मृत्यु निश्चय छ । तर मानिस मृत्युदेखि सदा भयभित छ । बरु जन्म निश्चित छैन । सत्यमा पनि मानिस शोक गर्दछ । अबुझ छ मानिस मोह जालले गर्दा । संसार झूठो छ भन्छ मनुष्य । कतिपय सन्त पनि ब्रह्म सत्य जगत झूठा भन्दछन् । ब्रह्मले सृष्टि गरेको संसार पनि सत्य नै छ । ब्रह्म पनि सत्य छ । संसारमा हावा , प्रकाश , पानी, अनाज सबै छ । त्यसैले संसार झूठो होइन , सत्य छ । झूठो छ भने अज्ञान छ , अज्ञानी मनुष्य छ । एक जना राजाले आँखाको दृष्टि कमजोर भएर डाक्टरलाई बोलाएर जचाए छन् । साग पात हरियो खानु पर्यो , हरियो वातावरण हेर्नु , हरियो ठाउँमा विचरण गर्नु, घुम्नु , झिलिमिली चमकले गर्दा हो कमजोर दृष्टि भएको ठिक हुन्छ, म एक हप्ता पछि आउछु र फेरि जाँचौला , सुधार भएन भने अरु उपचार गरौंला भनेर डाक्टर एक हप्ता पछि गएछन् दरबार । तर गेटमा पुग्ने वित्तिकै राजाका कामदारले डाक्टरलाई हरियो रंगले पोत्न लागे छन् । डाक्टरले थत के गर्न खोजेको भनेर झपारे पछि कामदारले भने छन् , माहाराजको हुकुम छ सबै हरियो बनाउनु भन्ने । त्यसैले सबै चिज , मान्छे समेत हरियो पारेको । डाक्टरले पनि कामदारलई भनेछ , डाक्टरले भनेको भनेर भनिदिउ कि राजाले हरियो चस्मा लगाउन , रंगाउन पर्दैन । यस्तै बुझाई छ मनुष्यको अनि भन्छ संसार झूठा छ ।
मोक्ष प्राप्त नगर्दा सम्म जन्म र मरणको चक्कर चलिरहन्छ । हे भगवान तिमि नै मेरो जन्मदाता , तिमिनै अन्नदाता , तिमि नै भाई बन्धु ,तिमि नै मेरो विद्याबुद्धि, धन दौलत , तिमी नै साथी , तिमी नै मेरो सर्वश्व हौं भनेर हरेक सासमा लिन सकेमा मात्र आनन्द प्राप्ति हुन सक्छ । गर्न त हामी प्रार्थना गर्छौ , पूजाआजामा हातमा फूल लिएर उच्च स्वरमा भन्छौ नि त्व मेव माता च पीता त्व मेव । पूजा सकियो , इश्वर भुलियो । तुरुन्तै जगको नाता , पद , धन, मान , अपमानमा फर्कियो । कोहि एकजना पनि यस्तो छैन् जसले बावु , आमा , छोराछोरी, श्रीमान , श्रीमति , धन ,पद, खाना बाट अविचलित सुख पाएको होस् । यस्ता सुख क्षणिक हुन्छन् , ह्रास नियम लागु हुन्छ । केहि क्षण सुख दिएको त्यहि विषयले एकक्षण पछि कष्ट दिन थाल्दछ । स्वार्थ्य सकियो, सुख पनि सकियो ।
अहिले मानिस एक्लो पनामा बाँचेको छ । हुन त सपरिवारमा होला , संगठनमा होला , कार्यालयमा होला , दलमा होला , हुलमा होला तर उ एक्लै छ । जन्म्यो एक्लै , मर्ने एक्लै , नाङ्गै जन्म्यो ,नाङ्गै हुन्छ मरेर भनेर एक्लो भएको भए त ज्ञानी हो । तर संसारिक विषय भोगमा आशक्त भएर एक्लो छ । उसका लागि अरुले सबै गरि देओस , जस र फल आफूले पाऊ भनेर एक्लो छ । दैहिक , दैविक र भौतिक दुखमा रहन्छ मनुष्य । तन, मन, धन आदि व्याधि र उपाधिले ग्रस्त छ । मन ( आध्यात्मिक समेत) छ । धन छ तर तन(शरिर )मा अनेक रोग छ ,शरिर स्वस्थ्य छ , मन पनि छ तर धन छैन । तन छ धन छ तर मन छैन् । कसैसँग तन ,मन, धन तिनवटै दुख एकसाथ छ । अधो हीतोपदेशका साथ बिट मार्दछु ।
मुर्खको संगतले ज्ञान घट्दछ
विषय भोगको चित्तले विबेक घट्दछ ।
अबैध परसम्बन्धले तेज घट्दछ ।
धेरै खाना खानेको बुद्धि घट्दछ ।
दिनँहु माग्नाले प्रेम घट्दछ ।
दिनँहु अरुकोमा जादा मान घट्दछ ।
सत्यसँग गर मनले सदा मनुष्य
हरिको नाम संकृ्र्तनले पाप घट्दछ ।
दिन रात आठै प्रहर मनले हरि सम्झेमा ।
मोक्ष हुनेछ जीवात्मा यसै जुनिमा ।