मानव जीवनको सबैभन्दा आधारभूत तत्व के हो ? अक्सिजन । यही तत्वको एकमात्र स्रोत हो, वन जंगल । क्षेत्रफलको दृष्टिकोणबाट तुलनात्मक रूपले सानो भएपनि धरातलीय तथा मौसमी विविधता (वन, वन्यजन्तु, जैविक विविधता, सिमसार, भौगोलिक र जलवायुजन्य)का कारण हामी सम्पन्न छौँ । यद्यपी हरियो वन नेपालको धन सुनेर अघिल्लो पुस्ता हुर्कियो । वन पैदावारलार्ई स्रोतका रूपमा स्वीकार गरेको यो अवधारणालाई क्रमशः जीविकोपार्जनमुखी सामुदायिक वनको प्रचार–प्रसारले ओझेलमा पार्यो । आजभोलि सामुदायिक वन आफैँ बदलिँदो सामाजिक आर्थिक परिवेशमा अल्मलिएको छ । त्यसैगरी, हरियो वन नेपालको धन भनेर बुझेको हाम्रो पुस्ता उत्पादनलाई नजरअन्दाज गरेर ‘समृद्धिका लागि वन’ भन्ने नारामा रुमलिएको छ । पाल्पामा बनको क्षेत्रफल १३७३ वर्ग कि.मि रहेको छ । जम्मा क्षेत्रफलको ५६.४० प्रतिशत क्षेत्रफल वन क्षेत्रले ओगटेको छ । यहाँ सामुन्द्रिक उचाई अनुसार सामान्यतया न्यानो समष्तिशोण पतझर जंगल रहेको छ । यहाँ साल, चिलाउनी, कटुस, उत्तीस, खयर, काफल लगायत प्रजातिका रुखहरु पाइन्छन् । यहाँ रहेको वन क्षेत्रमा पाइने रुखहरुको क्षेत्र घनत्व कम रहेको छ र अधिकांश रुखहरु वन उद्यमका लागि कम सम्भाव्यता भएका प्रजातिहरु रहेका छन् । सामान्य रुखहरु फर्निचरका लागि प्रयोग गर्न सकिने भएता पनि यसको व्यवसायिक प्रयोग पनि कम नै रहेको छ । यस क्षेत्रका जमिनमा व्यवसायिक प्रयोग र वन उद्यमका लागि सम्भावना बढाउन सकिन्छ । यसर्थ यहाँ वनलाई सामुदायिक वनमा सीमित नराखी बनलाई उद्यमको सम्भावना भित्र केन्द्रीत गरी यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।
बहु–आयामिक महत्व राख्ने रुख विरुवाहरुको रोपण गरी आय आर्जनसँग जोडिनु अहिलेको अत्यावश्यकता हो । बहु–आयामिक महत्व राख्ने रुख विरुवा मध्ये यस क्षेत्रमा सम्भाव्यता बोकेका केही प्रजाति निम, किम्मु, अमला, कागती, तेजपात, टिमुर, ओखर, रुद्राक्ष, काफल लगायतका रुख प्रजाती तथा बाँस, अम्रिसो, कुरिलो लगायतका घाँस प्रजातिको व्यावसायिक प्रयोगका लागि माग बढी रहेको छ । यसका अतिरिक्त वर, पिपल, लहरे पिपल, स्वामी, इपिलिपि, बडहर, खनीयो, काभ्रो, दवदवे, बेंडुलो, लगायतका थुप्रै प्रजातिका रुख विरुवाहरु पाइन्छन् जुन पशुपालन र दाउराका लागि उपयुक्त मानिन्छन् ।
यहाँ बहु–आयामिक प्रयोगका लागि सम्भावना बोकेका केही रुख विरुवाहरु तपसिल बमोजिमका रहेका छन् ।
तेजपात– बोक्रा र पात दुबै मसलाका रुपमा प्रयोगमा आउने यो रुख पहाडी क्षेत्रमा राम्रो हुर्कने र बढ्ने प्रजाति हो । बजारमा अत्याधिक माग रहेको यस रुखका पात तथा बोक्राहरु चिया मसला, गरम मसला, खडा मसला लगायतका विभिन्न खाद्य मसालामा प्रयोग गर्न सकिन्छ ।
टिमुर– झाडी वन प्रजातिमा पर्ने यो बिरुवाको दाना मसलाको रुपमा प्रयोग हुने गर्दछ । साथै दाँतको समस्या र लुतो तथा चर्म रोग निवारणका लागि औषधिकै रुपमा पनि प्रयोग गर्न सकिने यो प्रजातिको व्यवसायिक माग बढ्दै गएको छ ।
किम्मु– पशुपालनका लागि घाँसका रुपमा प्रयोग गरिने यो प्रजाती रेशमी किराको खेतिका लागि पनि प्रयोग हुन्छ । यसलाई व्यवसायिक प्रयोगमा ल्याउन सकेमा रेशम धागो उत्पादन गरी गुणस्तरीय रेशमी कपडा उत्पादन गर्न सकिन्छ । रेशमी कपडाको माग बजारमा अत्याधिक रहेको हुनाले किम्मु खेति गरी व्यवसायिक रुपमा रेशमी किराको पालन गर्न सकिन्छ ।
रिठ्ठा– स्याम्पु, साबुन र सरफ उत्पादनको मुख्य स्रोतका रुपमा प्रयोग गर्न सकिने यो प्रजातीको व्यावसायिक खेति गर्न सके घरेलु उद्यम सिर्जना गरी स्थानीयस्तरमै आयमुलक रोजगार सिर्जना गर्न सकिन्छ ।
ओखर– पहाडी क्षेत्रमा राम्रो उत्पादन हुने ओखरको फल पौष्टिक आहरका रुपमा प्रयोग गरिन्छ साथै क्यान्सर रोग लाग्न बाट बचाउने, मधुमेह रोग नियन्त्रण, मुटु तथा मष्तिष्कको विकास गराउने लगायतका गुण रहेकाले यस क्षेत्रमा व्यावसायिक उत्पादन र बजारीकरणको उच्च सम्भावना रहने गर्दछ ।
यस क्षेत्रमा औषधीका रुपमा प्रयोग गर्न सकिने केही जडिबुटीहरु :
बोझो– रुघाखोकी, रक्तचाप नियन्त्ररण, पेट तथा छालाको समस्या निवारणका लागि उपयोगी मानिने बोझोलाई व्यवसायिक प्रयोग गर्न सकिन्छ ।
कुरिलो– तरकारी र सुपको रुपमा प्रयोग गर्न सकिने कुरिलोलाई शक्तिबर्धक खानाको रुपमा चिनिन्छ । यसको सेवनबाट पत्थरी, पेट तथा पाचनको समस्या, उच्च रक्तचापको समस्या लगायत रोग प्रतिरोधत्मक क्षमता बढाउनका लागि प्रयोग गरिन्छ । सुत्केरी महिलाले सेवनबाट शिशुका लागि प्रशस्त दुध उत्पादनमा समेत उपयोगी हुने मानिन्छ । बजारमा उच्च माग रहेकोले यसको व्यावसायिक खेति गर्नेको संख्या पनि बढ्दै गएको छ ।
अमला– भिटामिन सिको श्रोतका रुपमा रहेको अमला त्रिफला मध्येको एक हो । हर्रो र बर्रोसँग मिलायर औषधीका रुपमा प्रयोग गरिने अमलालाई तितौरा र अचार बनाएर समेत प्रयोग गर्न सकिन्छ ।
सिस्नो– उच्च रक्तचाप, मधुमेह लगायतका रोग नियन्त्रणमा उपयोगी हुने सिस्नोको साग तरकारीका रुपमा समेत प्रयोग गरिन्छ । यस भेगमा प्रशस्त पाइए पनि व्यवसायिक रुपमा प्रयोग गर्न सकिएको छैन । यद्यपि सिस्नोको पातलाई सुकाएर बनाएको धुलो पाउडर बजारमा भने तरकारी र औषधीका रुपमा प्रयोगका लागि माग बढ्दो छ ।
यसैगरी यस भौगलिक क्षेत्रमा व्यावसायिकताका हिसाबले महत्वपूर्ण रहेका घाँसहरुः
इपिलिपिल– गाई, भैंसी बाख्राहरुका लागि पोषिलो मानिने यो प्रजातिको घाँस छिटो बढ्ने र काट्नका लागि प्रयोग हुने गर्दछ । यो बहु–उपयोगि डाले घाँस हो । यसको प्रयोग पर्यावरण संरक्षणका अतिरिक्त भू–संरक्षणका लागि पनि उपयुक्त मानिन्छ । व्यावसायिक प्रयोगमा ल्याउन सके कागज उत्पादन, गुणस्तरीय कोइला अनि बलियो काठबाट व्यावसायिक तथा घरेलु सामाग्री बनाउन समेत प्रयोग गर्न सकिन्छ ।
बाँस– बाँसको चोयाबाट डोको, नाम्ला, सुपो, मान्द्रो लगायतका घरेलु सामग्री बनाउन सकिन्छ । यसका अतिरिक्त पशुपालनका लागि घाँस पनि प्रयोग हुन्छ । यसको तामा तरकारी र अचारका लागि प्रसिद्ध रहेको छ । कागज तथा कपडा उत्पादनमा समेत राम्रो मानिने बाँस पछिल्लो समय घर तथा होटल रेष्टुरेन्ट सजावटका लागि विभिन्न ठाउँमा प्रयोग बढ्दै गई रहेको छ । यसको बजारीकरणमा ध्यान नपुग्दा व्यावसायिक उत्पादन हुन सकेको छैन ।
अम्रिसो– फुलबाट कुचो, डाँठ र पातबाट कागज अनि पशुपालनका लागि घाँसका रुपमा प्रयोग गरिने अम्रिसो भू–क्षय नियन्त्रणका लागि उपयुक्त मानिन्छ । विशेष गरी पूर्वि पाल्पाको निस्दी झिरुवासमा आय आर्जनका अलावा पर्यटन आकर्षणका रुपमा बढेको छ । यि लगायत वन क्षेत्रको उपयोगिता बहुआयामिक र बहु–उपयोगी रहेकाले वन संरक्षण र सम्वद्र्धनमा सबैको ध्यान पुग्न जरुरी छ । वन क्षेत्रको संरक्षणबाट वन्यजन्तुको संरक्षण, जैविक विविधतामा वृद्धि र पारीस्थितिक प्रणालीको सन्तुलन, जल तथा माटोको संरक्षण, कार्बन संचितिकरणबाट जलवायु परिवर्तनका असरहरुको न्यूनिकरण तथा व्यावसायिक प्रयोगमा ल्याउन सके उद्योगहरुका लागि कच्चा पदार्थको श्रोतका रुपमा प्रयोग गर्न सकिन्छ । साथै वनक्षेत्रलाई वन उद्यमसँग जोड्न सक्ने गरी वन पैदावर उत्पादन गर्न सकेको खण्डमा स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुर्याउन सकिन्छ ।
(लेखक समृद्धिका लागि वन परियोजना बगनासकाली गाउँपालिका पाल्पाका फोकल पर्सन समेत हुन् ।)