पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहल जाने तानसेन–रानीमहल सडक जोखिमपूर्ण बन्दै गएकोे धेरै भइसकेको छ । तर त्यहाँ सरोकारवाला निकायको ध्यान भने पुग्न सकेको छैन । सडक भासिएको, खाल्डाखुल्डी हुनुको साथै ढलको व्यवस्था नहुँदा पानीले हिलाम्मे र चिप्लो हुँदा धराप बन्दै गएको छ । बाह्य र आन्तरिक पर्यटक ओहोरदोहोर गर्ने सडकमा खाल्डाखुल्डी र चिप्लोका कारण नै अस्तव्यस्त हुँदा सडक पूर्वाधार कार्यालयले भने बनाउन चासो देखाएको छैन । ठूला–ठूला खाल्डा परेको सडकमा सवारी साधन जोखिमपूर्ण रूपले कुद्नु अस्वाभाविक होइन । पर्यटकहरु दिनहुँ हिँडडुल गर्ने व्यस्त सडकको सामान्य सुधार गर्न पनि सम्बन्धित निकाय उदासीन हुनुलाई स्वाभाविक मान्न सकिन्न । यस सडकखण्डको दूरावस्थाले उक्त निकायको गैरजिम्मेवारीपन उदांगो भएको छ । गुणस्तरहीन सडक निर्माण र समयमा मर्मतसम्भार नहुँदा सडकभरि खाल्टाखुल्टी र भ्वाङ परेको छ । हरेक वर्ष वर्षाको पानी पर्ना साथ सडकमा खाल्टाखुल्टी हुने गरे पनि यसमा सम्बन्धित निकायले चासो देखाएको पाइदैन् । पटक–पटक स्थानीयले सडक मर्मत गर्न आग्रह गरे पनि सुनुवाइ नगर्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो । त्यस क्षेत्रमा सडक विस्तारको जिम्मा लिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले मर्मत सम्भार नगर्दा सडक विजोग बनेको आरोप छ ।
सडकमा सहज आवागमन भइरहोस् भनेर सरकारले सडकको मर्मतसम्भार नियमित रूपमा गर्नुपर्ने हो तर त्यस्तो पाइँदैन । आम जनमानस दिनहुँ हिँडडुल गर्ने व्यस्त सडकको सामान्य सुधार गर्न पनि उदासीन हुनु विडम्बनाको कुरा हो । साँघुरो सडक र अव्यवस्थित सवारी साधनका असुरक्षित सडक हुँदा बेला–बेला दुर्घटनाहरू भइरहन्छ । त्यस्ता दुर्घटनाले मानवीय तथा भौतिक क्षति बढिरहेको छ । दुर्घटना नहोस् भन्नका लागि समेत सडकलाई दुरुस्त राख्नुपर्छ । सडकलाई केवल भौतिक संरचनाको रूपमा मात्र लिइएकाले यो अवस्था आएको हो । नीति निर्माता र योजना कार्यान्वयनकर्ता सबैले सडकलाई भौतिक संरचनाको रूपमा मात्र लिए । तर सडक आम जनताको दैनिक जनजीवनसँग जोडिन्छ । यसलाई केवल भौतिक संचरनाको रूपमा मात्र लिनु मुनासिव हुन्न । समयमा नै सडक मर्मत नुहँदा दुर्घटना बढ्ने गरेको छ । दुर्घटनाबाट मृत्यु हुनेको ग्राफ बढ्नुमा सडक पनि जिम्मेवार छ । तसर्थ यात्रुहरुलाई सहज र सुरक्षित यात्राका लागि सम्बन्धित निकायले सडकको दुरवस्था सुधार्नेतर्फ ध्यान दिन जरुरी छ ।