Shittalpati
नेता सुध्रिनुको विकल्प छैन

जुलुस र प्रदर्शनका कार्यक्रमले नेपालको राजनीति तरंगित बनिरहेको छ । बिहीबार काठमाडौंमा युवा संघले भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध र गणतन्त्रको पक्षमा जनप्रदर्शन गर्‍यो भने असंगठित समूहको नेतृत्व गरिरहेका दुर्गा प्रसाईँ समूहले हिन्दुत्व र राजसंस्था पुनःस्थापनाका पक्षमा नाराबाजी गरेको छ । जसले नेपाली राजनीतिमा एक किसिमको तंरग नै ल्याएको छ । यी प्रदर्शनबाट समाज, राजनीतिक दल र राज्यस्तरमा जुन किसिमको प्रतिक्रिया आएको छ, त्यो वास्तवमा चिन्ताजनक छ । यो गणतान्त्रिक लोकतन्त्र हो जहाँ नागरिकले एक्लै वा समूहमा आफ्ना सरोकारका विषयहरुलाई प्रदर्शनकै रूपमा पनि अभिव्यक्त गर्न पाउँछन् । तर यस्ता अभिव्यक्त गर्ने अधिकार प्रयोग गर्दा देशको नीति नियम पालना गर्नुपर्ने दायित्व  हरेक नागरिकको हो । त्यसको समीक्षा गर्न र आवश्यक परे कानुनी जिम्मेवारी पूरा गर्ने दायित्व सरकारको हो । सरकारले लिने कदम चित्त नबुझेमा आफ्नो आवाज प्रकट गर्ने वैधानिक अधिकार हरेक नागरिक र समूहमा छ, तर नागरिकको प्रदर्शनको विरुद्धमा अर्को प्रदर्शन गरिनु राम्रो होइन् । यो सिधै लोकतन्त्र माथिको प्रहार हो । अहिले जुन किसिमको अवस्था सिर्जना भएको छ यो केही दल र नेताहरुका लागि राम्रै होला तर देश र जनताका लागि भने राम्रो हैन ।

प्रसाईंको योजना र लक्ष्य जेसुकै होस् । उनी अहिले सम्म कुनै संगठित समूहका नेता होइनन् तर कुनै बेला एमालेमा आवद्ध भएर काम गरेका उनलाई देशको ठूलो प्रतिपक्ष दल एमालेले नै उनको प्रर्दशनको विरोधमा एकै दिन कार्यक्रम गर्नु गलत हो । यसले भोलि कस्तो रुपमा लिन्छ अहिले नै भन्न नसकिएला तर यस्ता मुडभेदले आमसर्वसाधारण नागरिक भने त्रसित छन् । बिहीबार जुन प्रदर्शन र जुसुल सडकमा निस्कियो त्यसको प्रमुख कारण राजनीतिक दलका नेताहरु नै हुन् । जसले गणतन्त्रलाई आत्मसाथ गर्न नसक्दा व्यवस्था माथि प्रश्न उठ्न थालेको हो । यसलाई स्वाभाविक नै मान्न सकिन्छ । नेताहरुकै कारण विधि र पद्धतिको अवसान हुनु, समग्र पार्टी कमजोर हुनु तर गुटहरू बलिया हुँदै जानु, राजनीतिका नाममा घृणा र अफवाह फैलाउनु, निम्नस्तरको गालीगलौजमा उत्रिनु पार्टीहरूमा देखिएका समस्या हुन् । सरकारमा गएपछि झन पदीय जिम्मेवारीलाई धनआर्जन र शक्ति दुरुपयोगको लाइसेन्स पाएको ठान्ने, जनताप्रति जिम्मेवार हुनुपर्नेमा भ्रष्ट र नाफाखोर व्यापारीका लागि काम गर्ने अनि तिनैबाट आर्थिक लाभ लिई शीर्षस्थ नेतृत्वलाई रिझाएर जुनै अपराधबाट पनि चोखिने प्रवृत्तिका कारण अहिलेको अवस्था सिर्जना भएको हो । नेताहरुबाटै अहिलेको व्यवस्था माथि खतरा सिर्जना भएको हो । जसको परिणामस्वरुप मुलुकमा व्यवस्थामाथि आवाज उठ्न थालेको छ । यसलाई नेताहरुले छिटो भन्दा छिटो सम्बोधन गर्न आवश्यक छ । त्यसका लागि राजनीतिक दलका नेताहरु सुध्रिनुको विकल्प छैन ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update