कृष्ण पोखरेल
पाल्पा, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागु गरेको लकडाउनका कारण अधिकांश क्षेत्र बन्द भएपनि विकास निर्माणका केही आयोजना भने सञ्चालनमा छन् । सरकारले मुलुकभर लकडाउन गरेपनि जिल्लाका केही स्थानीय तहहरुले उच्च सतर्कता अपनाउँदै विकास निर्माण कार्यलाई निरन्तरता दिएका हुन् । लकडाउनको समयमा जिल्लाका दुई मुख्य राजमार्गमा धमाधम सडक स्तरोन्नतीको काम भईरहेको छ । लकडाउनले सुरुका केही दिन समस्या भएपनि सरकारले निर्माण कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिएपछि विकास निर्माणका कामले तीव्रता पाएको हो । लकडाउनले जिल्लाका सडकहरु सुनसान छन् । सुनसान सडकमा भने दैनिक १८ घण्टा नियमित काम हुँदै आएको छ ।
तानसेन नगरपालिकाले लकडाउन भएदेखि नै तानसेन तम्घास सडक र डिभिजन सडक कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक सुधारको काम गर्दै आएका छन् । लकडाउनको समयमा दुबै सडकमा दैनिक १८ घण्टासम्म काम हुँदै आएको छ । तानसेन तम्घास सडकको तानसेनदेखि भैरवस्थानसम्म एक लेनको सडकलाई चौडा बनाउने, साघुरा मोड तथा घुम्तीहरु कटान गर्ने, विभिन्न स्थानमा टेका पर्खाल लगाउने, नाली काट्ने जस्ता कामहरु निरन्तर भईरहेको छ । तानसेन क्षेत्रमा दैनिक ६ देखि ७ वटा डोजर स्काभेटरको प्रयोग गरी काम तीव्र गतिमा भएको छ ।
६३ लाख रुपैयाँमा तानसेनको ढुङ्गाखानीदेखि भैरवस्थान सम्मको ३ किलो सडक चौडा पार्ने काम अन्तिम चरणमा पुगेको छ । सडक लकडाउनको समयमा सडक चौडाको काम निकै उपयुक्त भएको र समयको सदुपयोग गर्दै लकडाउनको समयमा काम भईरहेको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए । लकडाउनको समयमा डिभिजन सडक कार्यालयले सडक तथा पुल निर्माणको काम गरिरहेको छ । तानसेन– बुटवल सडक खण्डको गौडेपुल, कालीमाटी र चर्चरे क्षेत्रको सबैभन्दा जोखिम र खतरायुक्त घुम्ती तथा मोडहरु कटानको काम भईरहेको छ । तिनाउ खोला, दोभान खोला र कचल खोलाको पुल निर्माणको काम लकडाउनमा समेत रोकिएको छैन । लकडाउनको अवधीमा कालीमाटी क्षेत्रका ४ वटाभन्दा बढी जोखिमयुक्त घुम्ती कटान भईसकेको छ । तिनाउ र दोभान खोलामा पुल निर्माण कार्य पुरा भई अहिले फिनिसि·को काम भइरहेको छ ।
तानसेन–बुटवल सडक खण्डको कालीमाटी क्षेत्रमा प्रदिप कन्ट्रक्सन रुपन्देहीले २०७७ जेठ मसान्त भित्र काम सम्पन्न गर्ने गरी भ्याट बाहेक १ करोड ५ लाख ९१ हजार ६ सय २५ रुपैयाँमा ठेक्का सम्झौता गरी लकडाउनको प्रवाह नगरी काम गर्दै आएको हो । निर्माण व्यवसायीले घुम्ती, मोड कटानसँगै नाली निर्माण तथा कालोपत्रे समेत गर्ने छ । लकडाउनको समयमा सडकमा अत्यावश्यक बाहेकका सवारी सधान नगुड्दा काम गर्न सहज भएकाले कामलाई निरन्तरता दिएको डिभिजन सडक कार्यालयका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले बताए । घुम्ती कटानबाट मात्र टाढा टाढा सम्मका सवारी साधन देखिने, दुर्घटना जोखिम घट्ने र यात्रुहरुको यात्रा समेत सुरक्षित हुने कार्यालयले जनाएको छ लकडाउनको समयमा सडक क्षेत्रमा काम गर्न सहज हुने भएकोले तानसेन नगरपालिका र डिभिजन सडक कार्यालय पाल्पाले कामलाई निरन्तरता दिएका हुन् ।