पाल्पा, जिल्लाको माथागढी गाउँपालिका –३ सराई बजारमा यही मंसिर ९ गते भोली शनिबार देखी २१ गतेसम्म दोस्रो माडी सांस्कृतिक पर्यटन कृषि तथा व्यापार महोत्सव २०८० हुने भएको छ । सराई युवा क्वल पाल्पाको आयोजना, गाउँपालिका तथा ३ नं वडा कार्यालययको समन्वयमा महोत्सव हुन लागेको हो ।
सराई बजारलाई प्रचार–प्रसार गर्ने, स्थानीय कला संस्कृतिको प्रचार–प्रसार गर्ने, स्थानीय उत्पादनको प्रचार–प्रसार गर्ने, मगरी कला संस्कृति खानपान, भेषभुषाको प्रचार –प्रसार गर्ने क्लवका युवाहरुलाई पूूर्ण रुपमा परिचालन गरी विकास निर्माणमा सहभागी गराउने अभियानका साथ महोत्सव आयोजना गर्न लागिएको क्लवका अध्यक्ष खोमबहादुर गाहाले जानकारी दिए । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको क्लवले तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । महोत्सवमा विभिन्न प्रकृतिका एक सय वटा स्टलहरु रहने छन् । महोत्सवमा विद्यार्थीहरुका लागि ५० रुपैयाँ, सर्वसाधारणहरुको लागि १ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । साथै ५ बर्षमुनीका बालबालिकाहरुको लागि निःशुल्क गरिएको आयोजकले जनाएको छ । महोत्सवको प्रत्येक दिन राष्ट्रिय कलाकारको प्रस्तुति रहने क्लवले जनाएको छ ।
क्लवका सल्लाहकार एव ३ नं वडाका वडा अध्यक्ष तेजबहादुर घर्तिमगरले क्लवमा १ सय जना भन्दा बढी युवाहरुको प्रत्यक्ष सहभागी रहेकाले महोत्सवबाट युवाहरुलाई परिचालन गरी विकास निर्माणमा जोड्ने बताए । मेला र महोत्सवबाट स्थानीय बजारमा चहल पहल बढ्ने, कृषि उत्पादन तथा पशु उत्पादनको कारोवारमा बृद्धि हुने, खुम्चिएको अर्थतन्त्र चलायमान हुने वडा अध्यक्ष घर्तिले बताए । महोत्सवमा आयोजक पक्षले कृषि, पशु तथा घरेलु उद्योगबाट उत्पादित वस्तु तथा सामग्रीहरुको लागि निःशुल्क स्टलको व्यवस्था गरेको छ । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले सराई युवा क्लव पहिले देखी सामाजिक काममा सक्रिय रहँदै आएको र स्थानीय स्तरमा खेलकुदको विकासमा सक्रिय भुमिका खेल्दै आएको बताए । कार्यक्रममा पत्रकारहरुले टिकट दर महङ्गो भएकोले सस्तो बनाउनु अनुरोध गरेका थिए । पत्रकार सम्मेलनको सञ्चालन क्लवका सचिव नारायण सिंह रानाले गरेका थिए ।