आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ । क्यारेबियन मुलुक डोमिनिकन गणतन्त्रमा राजनीतिक कार्यकर्ता तीन दिदीबहिनीको हत्याविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धतास्वरूप यो दिवस विश्वभर मनाइने गरिएको छ । नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो । वर्षौंदेखि यो अभियान सञ्चालन भए तापनि हिंसा भने ज्यूूँका त्यूँ नै छ । पहिलो कुरा हिंसा कहाँ–कहाँ हुन्छ, कसले गर्छ, हिंसा नघट्नुका कारण के हुन भन्नेबारे हामी आफँै गम्भीर भएर सोच्नुपर्छ । हिंसा घरबाटै हुने गरेको छ । घरमा हिंसा छ, समाजमा छ, भेला/बैठक, गरिब–धनी, ठूलो जात, सानो जात, सम्पत्ति, योग्यता, पहुँच, अवसर र महिला महिलामा पनि हिंसा छ । सबै हिंसा हाम्रो हरेक क्षणको काममा रुमलिएर आफँै भइरहेको छ । महिला हिंसा अन्त्यका लागि घर र महिलाबाटै अभियान सुरु गर्नुपर्छ । त्यसो गर्न सकियो भने मात्र केही हदसम्म भए पनि महिलाप्रतिको हिंसा अन्त्य गर्न सक्छौं ।
आफ्नो पहिचान, आत्मसम्मान र स्वतन्त्र भई जीवन बाँच्न पाउनु महिलाको नैसर्गिक अधिकार हो । हिंसा कसैउपर पनि हुनु व्यक्तिको मानव अधिकारको हनन् हो । प्रत्येक व्यक्तिको मानव अधिकार र स्वतन्त्रताको संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व हो । पछिल्लो समय महिलामाथि हुने गरेका हिंसात्मक कार्यहरू दिन–प्रतिदिन बढ्दै गएको पाइन्छ । महिला माथि शोषण, दमन, यौन–दुव्र्यवहार र श्रमशोषण गर्न पाइँदैन, नारी–पुरुष समान हुन् भनेर आन्दोलन गरे पनि महिलाले हिंसाबाट मुक्ति पाउन सकेका छैनन् । यो अत्यन्त दुःखको कुरा हो । कतिपय ग्रामीण भेगका महिलाहरूलाई बोक्सीको आरोप लगाउने, कुटपिट गर्ने र बोक्सी भनेर समाजबाट बहिष्कार गर्ने जस्ता हिंसात्मक घटना हाम्रो समाजमा हुने गरेका छन् । बोक्सी भनि कसैलाई आरोप लगाउनु सामाजिक अपराध हो । यस्ता अपराधजन्य हिंसाहरुको अत्यन्त गर्नु आवश्यक छ । साच्चिकै महिला हिंसाविरुद्धको दिवस मनाउने हो भने वास्तविक हिंसामा परेका महिलाहरुलाई अभियानमा समेटिनुपर्छ । उनीहरुलाई अभियानमा समेट्दै आर्थिक र सामाजिक रूपमा सशक्त बनाउनुपर्छ । यसो गर्न सके मात्र उनीहरूमाथि परिवार र समाजका सदस्यले गर्ने हिंसाको अन्त्य हुन सक्छ । अन्यथा हिंसा ज्यूँका त्यूँ रहने र दिवसले सार्थकता प्राप्त गर्न नसक्ने हुन्छ । तसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।