Shittalpati
१६ दिने अभियानको सार्थकता

शनिबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मका १६ दिन विश्वभर लैंगिक हिंसाविरुद्ध अभियानका रूपमा मनाउने चलन छ । आमनागरिकलाई लैंगिक हिंसाविरुद्ध सचेत गराउँदै प्रत्येक परिवार र समुदायलाई जिम्मेवार बनाउने तथा हिंसा न्यूनीकरणमा सबै निकाय तथा नागरिकलाई थप जिम्मेवार बनाउने उद्देश्य यो अभियानले थालेको हो । नेपालमा पनि २०५४ सालदेखि यो अभियान सञ्चालन हुँदै आएको छ । सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आएपनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको अभियान थालनी भएको हो ।

नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै आए पनि विसं २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकबाट हरेक वर्ष नोभम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको १६ दिने अभियान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । यस अभियानलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउन थालिएको पाइन्छ, तर वर्षौंदेखि यो अभियान सञ्चालन भए पनि हिंसा भने ज्यूँका त्यूँ नै छ । यो अत्यन्त दुःखको कुरा हो ।

महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यताका कारण महिला हिंसा अन्त्य हुन सकेको छैन । महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाए पनि समाजमा व्याप्त दाइजो प्रथा, बोक्सी प्रथा, बालविवाह, छाउप्रथाजस्ता अन्धविश्वासले आज पनि महिलाहरु प्रताडित हुँदै आएका छन् । महिला हिंसाविरूद्ध राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिबद्धताहरु व्यक्त गरिएको भएता पनि तिनको व्यावहारिक कार्यान्वयन भने समाजमा हुन सकिरहेको छैन । यसर्थ ति प्रतिवद्धताहरुलाई कार्यान्वयन गर्न सकियो भने मात्र १६ दिने अभियानले  सार्थकता प्राप्त गर्न सक्दछ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update