Shittalpati
यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, पश्चिमी वायुको प्रभावले सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको छ । उनले पश्चिमी वायुको प्रभावले आज दिनभरजसो देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहने बताए । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । 

    “आज देशभर नै आंशिकदेखि सामान्य बदली रहने देखिएको छ । अहिले कोशी र बागमती प्रदेशमा आंशिक बदली रहेको छ । विशेषगरी देशका पश्चिमी भेगमा बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ”, मौसमविद् लामिछानेले भने ।

    महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । आज दिनभर बदली रहे पनि भोलिदेखि मौसम क्रमिकरुपमा सुधार आउने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update