Shittalpati
रामपुरमा महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम 

पाल्पा, महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम भएको छ । रामपुर नगरपालिका न्यायिक समितिको आयोजनामा वडा २ र ३ का महिला दिदीबहिनीहरुको सहभागितामा रामपुर वडा २ मा एक दिने सचेतना कार्यक्रम भएको हो ।

कार्यक्रममा महिलाहरुको हक अधिकार, समाजमा हुने महिला हिंसा र यसको कानुनी उपचारको प्रक्रिया लगायतका विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सभ्य र हिंसा रहित समाज निर्माणका लागि कसैले पनि हिंसा सहेर बस्न नहुने बताए । साथै हिंसा भएको महशुस भए तुरुन्त त्यसको कानुनी उपचार खोज्न महिला दिदीबहिनीहरुलाई आग्रह गरेका छन् । उनले धेरैजसो महिला दिदीबहिनीहरुले पीडा हुन्छ भन्ने डरले हिंसा सहेर बस्दा दिनदिनै हिंसा बढ्दै गएको भन्दै जुनसुकै हिंसाको पनि खुलेर विरोध गर्न आवश्यक रहेको बताए । हिंसा रहित नगर निर्माणका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको नगरप्रमुख थापाले बताए ।  

यस्तै नगर उपप्रमुख बालकुमारी थापाले नगरपालिकामा घरेलु, ज्येष्ठ नागरिक, महिला र बालबालिका हिंसा सम्बन्धी विभिन्न खालका मुद्दा आउने गरेको भन्दै हरेक हिंसाको कानुनी उपचार खोज्न आवश्यक रहेको बताइन् । साथै उनले कुनै पनि किसिमको अन्याय नगर्न र नसहन पनि आग्रह गरिन् । नगर उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा र नगर प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रमको सहजीकरण स्थानीय शासन तथा लैंगिक शासन विज्ञ सोभिता परियार र रामपुर नगरपालिकाका महिला बालबालिका शाखाका प्रमुख पुजा परियारले गरेका थिए । न्यायिक समिति सदस्य खेमराज अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन न्यायिक समिति सचिवालय सचिव पार्वती परियारले गरेकी थिइन् ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update