Shittalpati
राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ मा

पाल्पा, सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि उक्त समयमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगको परामर्शबमोजिम सो दिन निर्वाचन गर्ने निर्णय गरिएको बताइएको छ । राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद्को आगामी फागुन २१ गतेदेखि कार्यकाल सकिदै छ । विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलो पटक दुई, चार र छ वर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसद्को कार्यकाल सकिन लागेको हो । राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एकतिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रिय सभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भइसकेको छ । निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचक मण्डलको व्यवस्था रहेको छ ।

को कसको सकिंदै छ पदावधि ?
नेपाली काँग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ रायमाझी, नेकपा (एमाले) बाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई, (नेकपा माओवादी केन्द्र) बाट बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट नन्दा चपाइँ र सिङबहादुर विश्वकर्मा, स्वतन्त्र डा खिमलाल देवकोटा तथा र मनोनित डा विमला पौड्यालको कार्यकाल सकिन लागेको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update