Shittalpati
रामपुरको भूपू सैनिक राईजिङ स्कुलले रजत महोत्सव मनाउँदै

सुशीला रेग्मी
रामपुर (पाल्पा),  भुपु सैनिक राईजिङ ईङ्गलिस सेकेण्डरी स्कुल रामपुर पाल्पाले रजत महोत्सव मनाउने भएको छ । विद्यालयले २५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा मंिसर १४ गतेदेखि रजत महोत्सव मनाउने भएको हो । 

उसले पत्रकार सम्मेलन गरी महोत्सवको जानकारी गराएको छ ।  महोत्सवको तयारी तिव्र पारिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठले बताए । रजत महोत्सवका अवसरमा अन्तर मावि लगायत विभिन्न कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल गोपि सिग्देलले  जानकारी दिए ।  सोही अवसरमा रजत स्मारिका विमोचन, रजत स्तम्भ अनावरण, पुरस्कार वितरण लगायतका कार्यक्रम पनि गरिने छ । 

महोत्सवको उद्घाटन भारतीय राजदुतावासका रक्षा सहचारी सहायक नविन जानुले गर्ने छन् । पूर्वी पाल्पाको शैक्षिक क्षेत्रको विकासका लागि वि.सं २०२५ सालमा स्थापना भएको यस विद्यालय हाल सुविधा सम्पन्न भवनमा सञ्चालित छ । विद्यालय भवन अभावमा चउर, कोठा भाडा हुँदै अहिले भौतिक पूर्वाधारमा आफ्नै करिव पाँच रोपनी चार आना जग्गामा विद्यालय भइरहेको विद्यालयका प्रबन्ध निर्देशक तथा संस्थापक अध्यक्ष अनेरी क्याप्टेन रोमनबहादुर रानाले बताए ।  विद्यालयले उत्पादन गरेका विद्यार्थी नेपाल सरकारका विभिन्न निकाय, डाक्टर, इन्जिनियर, भारतीय सेनामा उच्च पदमा कार्यरत रहेका छन् । 

रामपुर नगरपालिका वडा नं ५ स्थित मटेरीमा ६० जना विद्यार्थीबाट सुरु गरिएको यस विद्यालयमा हाल एक हजार ५० जना विद्यार्थी अध्ययनरत छन् भने ५८ जना शिक्षक कर्मचारी कार्यरत छन् । पूर्वप्राथमिक तहदेखि १२ कक्षासम्म पठनपाठन भइरहेको छ । कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा पठनपाठन सुरु गरेपछि उच्च शिक्षाका लागि विद्यार्थीलाई धेरै सहज भएको छ । दशवर्षे द्धन्द्धकालमा निकै चुनौतीलाई सामाना गर्दै नियमित पठनपाठन गरेको यस विद्यालयले पाल्पा जिल्लामै छुट्टै पहिचान दिन सफल भएको छ । संस्थागत शैक्षिक गुठी अन्तर्गत सञ्चालित यस विद्यालयले सैद्धान्तिक सिकाईका अलवा अन्य विद्यालयको तुलनामा फरक खालका गुन्द्री बुन्ने, दुनाटपरी बुन्ने, बत्ति कात्ने, कृषि कार्य जस्ता अतिरिक्त व्यावहारिक क्रियाकलाप, बालमनोविज्ञानमा पठनपाठन, खेलकुद लगायतका विभिन्न कार्यक्रममा जोड दिएको छ । 

टाढाका विद्यार्थीलाई मध्यनजर गर्दै तीनवटा स्कुल बस सेवा नियमित रुपमा सञ्चालन भइरहेको छ । दुईवटा विद्यालयको आन्तरिक स्रोतमा र एकवटा भारतीय दुतावासको सहयोगमा स्कुल बस सेवा सञ्चालन गरिएको छ । विद्यालयको आन्तरिक खर्चबाट रजत महोत्सव समारोह सम्पन्न गरिने जनाइएको छ । विद्यालयमा छात्रावासको आवश्यकता रहेकाले अब छात्रावास सञ्चालनमा जोड दिने, समयानुकुल शिक्षा सञ्चालन गर्दै जाने पत्रकार भेटघाटमा जानकारी दिइएको छ । कार्यक्रममा सहायक प्रधानाध्यापक कमल शर्माको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक हरिप्रसाद भट्टराईले गरेका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update