Shittalpati
रैथाने बाली जोगाउनै मुस्किल

पाल्पा, पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाका जीवन रायमाझी चार दशकअघि अनदी जातका धान खेती गरेको अहिले पनि सम्झिरहन्छन् । चार दशकअघिसम्म उनको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए । खेतैभरि लहरै अनदीको धान फल्दा रायमाझीको मन फुरुंग हुन्थ्यो । आलोपालो गरी गाउँलेले धान रोप्थे । अहिले हाइब्रिड जातको बाली लगाउँदा कृषि उपजको कमाइ केही बढ्ने गरेको देखिए पनि खानमा स्वस्थकर र पोषिलो हुने रैथाने खाद्यान्नको बिउ हराउँदा भने उनलाई चिन्ता लागेको छ । रैनादेवी छहराका किसान विष्णु पोखरेल पहिले–पहिले विषादी र रासायनिक मलको प्रयोगविना खेती हुने रैथानेबाली अहिले हराइसकेको बताउँछन् । उनले भने, ‘अहिले आधुनिक खेती प्रणालीको नाममा माटो र वातावरण बिगार्ने काम मात्र भइरहेको छ, रैथाने जातका धान, गहुँ लगायतका बालीको बिउ पाउनै मुस्किल भइसकेको छ ।’

सोही ठाउँकी मञ्जु पौड्याले पनि उहिले बारीमा पाइने सानो तिते करेलाको बिउ नै पाइन छाडेको बताउँछिन् । ‘बिउ हराएसँगै सानो डल्ले प्रकृतिको करेलो नै हरायो । जब बजारमा लामा लामा बिउ आउन थाले करेला मात्र होइन टमाटरको बिउ समेत पाइन छाड्यो’ उनले भनिन् ।  वैशाखतिर बारीमा मकैसँग छरिने काँक्रो पनि हराएको पौड्यालको भनाई छ । ‘बिउ राख्ने चलन नै हरायो । बजारमा धेरै फल्न्ने हाइब्रिड जातको बिउ आउन लागेपछि स्थानीय रैथाने जातको बिउ नै हरायो’ उनले भनिन् । 

गुल्मी इस्मा गाउँपालिका–२ की कमला मल्ल बारीभरी पहिले गहुँखेती गर्थिन् । रैथाने केराउ खेती पनि हुन्थ्यो । गाउँभरी नै यसको खेती हुन्थ्यो । ‘अहिले अधिकांस खेतबारी बाँझो भयो । खेती किसानी गरे पनि गहुँ र केराउ हुनै छोड्यो,’ उनले भनिन् । सेरा, लसाहा, टारी, छल्दीपनाहाका फाँटहरुमा अनदी धान फल्थ्यो । ढाँडाका बलबहादुर आचार्यका अनुसार हिजोआज केहीले मात्रै उक्त धान लगाउँछन् । ‘अनदी धान गाउँमा खोज्दा पाइँदैन,’ उनले भने । सोही ठाउँकी लक्ष्मी रानाका अनुसार बारीमा १/२ मुरी लट्टे फल्थ्यो । गहुँ, जौ र फापर हुन्थ्यो । ‘अहिले खेती हुनै छाड्यो’ उनले भनिन्, ‘गाउँमा युवा बस्दैनन् । बुढाबुढी सहरबाट चामल लगेर खान थाले । भएका केहीले बजारबाटै धानको बीउ किनेर रोप्न थालेका छन् ।’ उनका अनुसार रैथाने बाली धेरै नफल्ने र बढी समय लाग्ने भएकाले स्थानीयले बजारमा धेरै फल्न्ने हाइब्रिड जातको धान, मकैको बिउमा बल गरे । दशक अघिसम्म ग्रामीण भेगमा रैथाने जातको धान, गहुँ र लट्टे जातका बालीको खेती गरिन्थ्यो । अहिले यी खेती गर्न छाडिएको छ । धान, मकै, कोदोको खेती गरिए पनि बीउ सहरबाट लैजाने गरिएको छ । यसमा रासायनिक मल राखेर फलाउने गरिएको छ ।

हाइब्रेडले बजार लिएपछि पाल्पा र गुल्मीमा रैथाने बाली नासिँदै गएको छ । यहाँका केही ठाउँहरुमा  धान, मकै र कोदो रोप्ने गरिए पनि त्यो रैथाने विउ होइन । ति विउमा रायायनिक मल हालिने गरिएको छ । हाल उपभोगमा रहेको तरकारीका जातमा झण्डै ९० प्रतिशत उन्नत छन्, भने १० प्रतिशत मात्र रैथाने छन् । वर्षौँअघिसम्म खेती गरिने धान, मकै, कोदो, विभिन्न तरकारी जस्ता रैथानेबाली लोप भइसकेका छन् । केही गैरसरकारी एवं सरकारी संस्थाले बढी उत्पादनको आशा देखाएर कृषकलाई विषादी प्रयोग गर्न लगाउँदा रैथानेबाली लोप हुन पुगेको हो । स्वास्थ्यका दृष्टिकोणले रैथाने बाली राम्रो भए पनि त्यसको संरक्षण र प्रवद्र्धनमा यहाँका अधिकांस स्थानीय सरकारले चासो देखाएका छैनन् । हरेक वर्षको बजेटमा कृषिलाई प्रथामिकतामा राखेर बजेट छुट्याए पनि यस्ता रैथाने विउको संरक्षणमा उनीहरुको ध्यान छैन । स्थानीय सरकारले लाखौंका कृषि सामग्री खरिद गरेर कृषकलाई अनुदानमा बाँड्छन् तर सबैभन्दा बढी पौष्टिक तत्व पाइने ती रैथानेबाली जोगाउने विषयमा मौन छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update