आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ । हरेक वर्ष यो दिवस मनाउने गरिए पनि यसले खासै सार्थकता भने पाएको देखिदैन । नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएपनि दासताको परिवर्तित स्वरुपले भो चुनौति दिइरहेको छ । नेपालमा श्री ३ चन्द्र शमसेर राणाले विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा गरेका थिए । पुराना तरिकाका दास तथा दासताका प्रथा घटे पनि मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन व्यवसायमा लगाइने गरेको पाइएको छ ।
२१ औं शताब्दीमा आइपुग्दा पनि मानिस एक अर्कोबाट दास बन्नु परेको छ । नेपालमा विगतका कानुनी मान्यता प्राप्त दासता अहिले पनि यो वा त्यो रुपमा लुकेर क्रियाशील भइरहेका मात्र छैनन् बरु आधुनिक दासताका नयाँ–नयाँ ढाँचा आइरहेका छन् । दासलाई नेपालमा कमैया, कम्हलरी, हली, हरवा, चरवाको रूपमा केही बर्षअघिसम्म सम्बोधन गरिन्थ्यो । सैद्धान्तिक रूपमा अहिले निर्मूल गरिएको निश्चितै छ,तर व्यवहारिक रूपमा अहिलेसम्म कतिपय ठाउँमा कायमै छ । हो, नाम फेरिएको छ । व्यवहारमा केही नरमपना आएको होला, तर प्रवृत्तिले फड्को मार्न सकिरहेको छैन वा यो व्यवहारिक रूपमा निर्मूल भएको छैन । भलै संविधानमा दास प्रथाजन्य कार्यहरूलाई वर्जित गरिएको होस् या उन्मूलनका कानुन नै पारित गरिएको किन नहोस्रु। कृषि, सामन्तवादी, उपनिवेषवादी युग हुँदै पुँजीवादी युगको चरम अवस्थामा पनि गरिब र पछौटे समाजबाट परिवर्तित स्वरूपको दास प्रथामार्फत श्रम बजार भरिएका छन् । यो अत्यन्त दुखको कुरा हो । देशको हकमा दास प्रथाहरू अन्त्य त भए तर ती कानुनी रूपमा मात्र । व्यावहारिक रूपमा भने अन्त्य हुन सकेनन् । कानुनी रूपमा कमैया, कमलरी प्रथा अन्त्य गरियो तर उनीहरूको पुर्नस्थापना हुन सकेन । कानुनी रूपमा मात्र अन्त्य गरेर समस्याको समाधान हुँदैन । जबसम्म व्यावहारिक रूपमा हामीले समस्या समाधान गर्दैनौँ तबसम्म कुनै पनि समस्याको समाधान हुन सक्दैन । यसका लागि जनचेतनामूलक कार्यक्रमहरू गाउँ–गाउँमा पु¥याउन आवश्यक छ । यसो गर्न सकियो भने मात्र दासताका अनेक स्वरूपलाई व्यवहारिक रुपमै उन्मूलन गर्न सकिन्छ । दासता कुनै पनि अर्थमा सही र राम्रो होइन । तसर्थ यस वर्षको दासता उन्मूलन दिवसले व्यवहारबाटै उन्मूलन गर्न सकोस् ।