Shittalpati
राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक

पाल्पा, निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको हो ।

आयोगको बिहीबारको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन गर्ने र मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम छ । दल दर्तापश्चात आगामी पुस १ गते राजनीतिक दललाई निर्वाचन चिÞन प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने छ ।  आगामी माघ ११ गते बिहान ९ देखि अपराÞन ३ बजेसम्म मतदान हुनेछ । स्वीकृत कार्यतालिका अनुसार २०८० पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।

राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद्को आगामी फागुन २१ गतेदेखि कार्यकाल सकिदै छ । विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलो पटक दुई, चार र छ वर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसद्को कार्यकाल सकिन लागेको हो । राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एकतिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । सरकारले यही मंसिर १३ गते निर्वाचनको मिति घोषणा गरेको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update