Shittalpati
आफुलाई अब्बल बनाउने दिशामा कुटुम्ब सहकारी : सहकारी अभियन्ता पाण्डे

पाल्पा,  सहकारी अभियन्ता एवं जिल्ला सहकारी संघ लि पाल्पाका अध्यक्ष भुपती पाण्डेले कुटुम्बले आर्थिक अनुशासनको पालना गर्दै आफुलाई अब्बल बनाउने दिशातर्फ उन्मुख रहेको बताएका छन् । कुटुम्ब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाल्पाको दोस्रो वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै अभियन्ता पाण्डेले सहकारीले आफुलाई अब्बल बनाउने दिशामा लागेको बताएका हुन् । 

उनले धेरै सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्न नसकेको भन्दै  कुटुम्बलाई पनि सामाजिक उत्तरदायित्व बहनमा ध्यान दिन आग्रह गरे । आफ्ना सदस्यलाई सुखी र समृद्ध बनाउनेतर्फ ध्यान सहकारीलाई आग्रह गर्दै संघका अध्यक्ष पाण्डेले भने, ‘सदस्यलाई सुखी र समृद्ध बनाउन ध्यान दिनुभयो भने बाल्यकालमै रहेको यो संस्था बृद्ध अवस्थासम्म तन्दुरुस्त हुन्छ ।’ कुटुम्बले छोँटो समयमा गरेको आर्थिक प्रगतिको प्रशंसा गर्दै उनले आगामी दिनमा थप सफलताका लागि शुभकामना ब्यक्त गरे । सहकारीका अध्यक्ष थानेश्वर गैरेले सहकारी विधिसम्मत् र सेयर सदस्यमैत्री रुपमा सञ्चालन भइरहेको बताए । कुटुम्बले आँफुलाई शसक्त, क्षमतावान र विश्वासिलो बनाउदै गएको बताउँदै अध्यक्ष गैरेले सहकारीलाई आगामी दिनमा पाल्पाकै उत्कृष्ट बनाउने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कुटुम्बमा हालसम्म ५६४ जना सदस्य आवद्ध रहेका छन । संस्थाले निक्षेपतर्फ नियमित बचत,  दैनिक  बचत, मासिक बचत, आवधिक  बचत  तथा  बाल  बचत  र  लगानी  तर्फ  व्यापार, व्यवसाय, हायर पर्चेज र  कृषि क्षेत्रमा लगानी गर्दै आएको सहकारीका उपाध्यक्ष महेश शर्मा आचार्यले बताए । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई बचतको आधारमा बिना धितो लगानी गर्दै  पनि आएको छ । गत आवमा कुटुम्बले ७ करोड १६ लाख २३ हजार ५ सय १६ बराबरको कारोवार गरेको छ । बचत निक्षेप ३ करोड ४० लाख १५ हजार ६ सय संकलन गरेको छ भने २ करोड ५३ लाख ९५ हजार ५ सय ९६  निक्षेप  फिर्ता गरिएको कोषाध्यक्ष विष्णु प्रसाद खनालले बताए ।
  
संस्थाले शेयर सदस्यमा कर्जा लगानी ३ करोड ६२ लाख ६८ हजार २ सय ९५ रुपैयाँ र २ करोड ७१ लाख १ हजार ९ सय ९० रुपैँया कर्जा अशुली गरेको छ । आ.व.२०७८/०७९ मा ३५ जना शेयर सदस्यहरुमा कर्जा लगानी गरिएकोमा आ.व. २०७९/०८० मा ९१ जना शेयर सदस्यहरुमा व्यापार व्यसाय, हायर पर्चेज, कृषि क्षेत्रमा लगानी गरिएको छ । नेपाल सरकारको प्रचलित आयकर ऐन अनुसार ८४ हजार ५७  सम्बन्धित निकायमा दाखिला गरिएको छ । यस आर्थिक वर्ष २०७९/०८० श्रावण देखी आषाढ मसान्त सम्मको कार्यालय प्रशासनिक खर्च , कर्मचारि खर्च, बचतको व्याज खर्च, आयकर कट्टी लगायत सम्पुर्ण कारोबारको खर्च दायित्व पुरा गरेर  संस्थाले १५ लाख ९७ हजार ८५  खुद  नाफा  गर्न  सफल  भएको  छ ।

संस्थाले आ.व. २०८०/०८१ मा शेयर सदस्यता वृद्धि गरी ७ सय जना र बचत तथा निक्षेप संकलनलाई वृद्धि गरी ६ करोड पु्र्‍याउने लक्ष्य लिएको छ । निक्षेप तर्फको सम्पुर्ण व्याजदरलाई समय अनुसार परिवर्तन गरिने छ । आ.व. २०८०/०८१ मा ५ करोड ५० लाख कर्जा लगानी गरी सदस्यहरुलाई अझ व्यसायिक, उद्यमी र स्वरोजगार बनाउने लक्ष्य सहकारीले लिएको छ । संस्थाले वित्तिय कारोवारसंगसंगै शेयर सदस्यहरुलाई उचित तालिमको व्यवस्था गरि आत्मनिर्भर, स्वरोजगार र व्यवसायी बनाउने योजना उसको छ । महिला उद्यमी तथा युवा स्वरोजगार तथा उत्पादमुलक क्षेत्रमा ब्यवसाय गर्नेहरुलाई छनौट गरि ९ प्रतिशतमा कर्जा उपलब्ध गराउने योजना सहकारीले बनाएको छ ।

 साधारण सभाको अवसरमा संस्थामा नियमित बचत, दैनिक बचत र कर्जा कारोबार गर्ने एक/ एक जना सदस्यहरुलाई प्रमाण पत्रसहित सम्मान गरिएको छ । आगामी वर्षबाट संस्थामा आवद्ध जेष्ठ नागरिकलाई सम्मान गर्ने, सदस्यको कम्तिमा ५ लाख सम्मको दुर्घटना बिमा गर्ने र कर्मचारी सञ्चय कोषको व्यवस्था समेत लागु हुने सहकारीले जनाएको छ ।  साधारण सभाको अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डे र पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष भगवान भण्डारीलाई सम्मान समेत गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update