Shittalpati
अपाङ्गमैत्री संरचनाको खाँचो

हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभर अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । विगतका वर्षहरु जस्तै यस वर्ष पनि आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । ‘अपाङ्गता भएका व्यक्तिहरूका लागि र तिनीहरूद्वारा नै सहश्राब्दी विकास लक्ष्य प्राप्त गर्न उद्धार र पैरवीमा एकजुट हौं’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन सन १९९२ देखि दिवस मनाउन थालिएको पाइन्छ । अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयास स्वरुप नेपालमा पनि सन् २०१३ बाट उक्त दिवस मनाउन थालिएको हो । यसरी दिवस मनाइरहँदा विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिहरुप्रति केही सकारात्मक सुधार भएको देखिए पनि अझै कयौं अपाङ्गता भएका व्यक्तिहरुको पिडा उस्तै छ । शिक्षा, रोजगार दिने निकायहरु, सार्वजनिक यातायातका साधनहरु, सार्वजनिक स्थलहरु अपाङ्गता अनकूलको नहुँदा अपाङ्गता भएका व्यक्तिले दिनहुँ समस्या सामना गर्नु परेको छ । सरकारी निकायमा निःशुल्क शिक्षा दिने भने पनि विद्यालयका भौतिक संरचना अपाङ्गतामैत्री हुन सकिरहेका छैनन् ।

भौतिक संरचना अपाङ्गतामैत्री नभएको कारण धेरैजसो अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना दैनिक क्रियाकलाप गर्न धेरै कठिनाइहरूको सामना गर्नुपरेको छ । भौतिक संरचनाकै कारण उनीहरू शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता सेवाबाट विमुख छन् । यसको साथै बजार गएर कुनै सामग्री खरिद तथा बिक्री गर्न, यातायातका साधन प्रयोग गर्न समस्या पर्ने गरेको छ । कतिपय अपाङ्गता भएका व्यक्तिहरूले त भौतिक अवरोधकै कारण सहर÷बजारमा भाडामा कोठा पाउन नसकेको अवस्था छ । अपाङ्गतामैत्री भौतिक संरचनाको अभावमा राज्यले दिने सेवा–सुविधा पनि सहज रूपमा लिन पाएका छैनन् । स्थानीय सरकारका भवनहरू समेत अपाङ्गता मैत्री छैन । आगामी दिनमा सरकारी तथा गैरसरकारी निकायहरूले भौतिक संरचना अपाङ्गतामैत्री बनाउन आवश्यक छ । अर्कोतर्फ नेपाली समाजमा अझै पनि अपाङ्गता भएकाहरुलाई पारिवारिक बोझका रुपमा तिरस्कार गरिएका र दाम्लो÷सिक्रीले बाँधेर पशुवत् व्यवहार गरिएका उदाहरणहरु प्रशस्तै भेटिन्छन् । यसर्थ अपाङ्गता भएका व्यक्तिहरुलाई तिरस्कार होइन, मानव अधिकारको संरक्षण, संवद्र्धन गर्दै समाजमा सम्मानपूर्वक बाँच्ने अवसर प्रदान गर्नुुको साथै अपाङ्गमैत्री भौतिक संरचनामा निर्माणमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update