Shittalpati
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

पाल्पा, आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइँदैछ । यस वर्ष ‘अपाङ्गता भएका व्यक्तिहरूका लागि र तिनीहरूद्वारा नै सहश्राब्दी विकास लक्ष्य प्राप्त गर्न उद्धार र पैरवीमा एकजुट हौं’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

हरेक वर्ष डिसेम्बर– ३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रुपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको हो । अपाङ्गता भएका व्यक्तिहरुले गरेको सकारात्मक र उपलब्धिमूलक कथाहरुलाई पनि आज विश्व समूदायले विभिन्न माध्यम मार्फत् अवलोकन र श्रवण गर्ने गर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचनाका लागि पैरवी पनि गरिन्छ ।

हरेक सरकार अनि संगठनहरुले अपाङ्गता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिवद्धता राखेका हुन्छन् र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन भन्ने समिक्षा पनि आजको दिन गर्ने गरिन्छ । समावेशी र समान समाजको परिकल्पना नै आजको टड्कारो आवश्यक्ता हो । नेपाल सरकार लगायत विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले अपाङ्गताका लागि धेरै परियोजना कानुनतः पैरवीहरु गरिरहेका छन् । नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको यकिन तथ्याड्ढ कति छ भनेर नेपाल सरकारलाई अवगत छैन । अपाङ्गता भएका व्यक्तिहरुको ठोस आँकडा सरकारी निकायसँग नहुँदा उनीहरुको समग्र विकासका लागि गरिने लगानी एकातिर व्यर्थ हुने गरेको छ भने अर्कोतिर उनीहरुको विकासका लागि अन्तर्राष्ट्रिय समुदायले गर्ने लगानी फिर्ता हुने गरेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update