Shittalpati
निष्क्रिय बन्दै पाल्पा पत्रकार महासंघ    

पाल्पा, पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा विगत एक वर्षदेखि निष्क्रिय जस्तै भएको छ । महासंघ पेशागत संगठनहरु मध्ये जिल्लामा सक्रिय संगठनका रुपमा चिनिदै आएकोमा विगत एक वर्ष यता कुनै पनि गतिविधि नुहँदा निष्क्रिय जस्तै देखिएको हो । 

महासंघको आफ्नै तीन तले सुविधा सम्पन्न भवन छ तर त्यहाँ पत्रकारहरुको उपस्थिति र कार्यक्रमहरु  भने अत्यन्त न्यून छन् । पत्रकारहरुको हकहितका पक्षमा समर्पित हुनुपर्ने महासंघ अहिले कार्यक्रम र  योजनाविहिन बन्न पुगेको जिल्लाका क्रियाशील पत्रकारहरुको गुनासो छ । 

महासंघको विद्यानमा व्यवस्था भए अनुरुप महिनामा एक पटक नियमित बैठक बस्नु पर्ने भए पनि सो समेत एक वर्ष यता हुन सकेको छैन । महासंघ पत्रकारहरुको पेसागत सुरक्षा र हकहितका विषयमा उदासीनजस्तो देखिन्छ । पत्रकारिता पेसालाई मर्यादित बनाउने सन्दर्भमा पनि महासंघको भूमिका देखिँदैन । महासंघलाई सम्मान, भरोसा र विश्वासयोग्य बनाउन आवश्यक भए पनि त्यतर्फ महासंघले एकरत्ति पनि ध्यान दिएको छैन । जिल्लामा हुने हरेक कार्यक्रमका लागि पत्रकारहरुलाई उपस्थित गराउन महासंघलाई निमन्त्रण आउने गरे पनि उसले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई कुनै पनि कार्यक्रममा जानकारी नै नदिने गरेको यहाँका केही क्रियाशिल पत्रकारहरुको गुनासो छ । 

महासंघका जिल्ला अध्यक्ष रेखीराम रानाले भने केन्द्रले देश भरि नै शुद्धीकरणको अभियान शुरु गरेको र समयमा नतिजा नआएका कारण कार्यक्रमहरु केही कम हुन गएको बताए । उनले भने‘ केही गतिविधिहरु भए पनि शिथिल नै भयो भनेर भन्न मिल्दैन ।’ महासंघका सचिव यज्ञमुर्ति तिमिल्सेनाले कतिपय कार्यसमिति भित्र कै साथीहरु समेत शुद्धिकरणपछि बाहिरिने सम्भावनाका कारण कार्यक्रम र क्रियाशिलतामा कमी आएको स्वीकार गरे । महासंघमा गत वर्षसम्म १ सय भन्दा धेरै पत्रकारहरुको सदस्यता नविकरण हुँदै आएको भएता पनि शुद्धीकरणपछि प्रदेश शाखाले ५० जनाको मात्रै नविकरण गर्नु भनि पत्र पठाएको तिमिल्सेनाले बताए । महासंघका गतिविधिहरु हुन छोडेपछि सिंगो पाल्पाली पत्रकारिता क्षेत्रमै आलस्यता उत्पन्न भएको छ । 

  

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update