हरेक वर्ष ५ डिसेम्बरमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ । सन् १९८५ देखि संयुक्त राष्ट्रसंघको आयोजनामा हरेक वर्ष यो दिवस मनाइँदै आइएको हो । यस वर्ष नेपालमा पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट राष्ट्रिय, स्थानीय तथा समुदायस्तरमा मनाइँदै छ । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिनलाई नेपालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवक दिवसका रूपमा मनाउने गरिएको छ । यो दिवसले स्वयंसेवा गरिरहेका व्यक्ति वा संस्थालाई हौसला बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नयाँ पुस्तालाई स्वयंसेवा के हो र किन गरिन्छ भन्ने सन्देश समेत यसले दिएको छ ।
यस दिवसलाई खासगरी महिला स्वास्थ्य स्वयंसेविकाको कदर र मनोबल उच्च राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको भएता पनि त्यसो हुन सकेको छैन । प्रत्येक वर्ष मनाइने यस दिवसले महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र सम्मानमा के भूमिका खेल्दै आइरहेको छ भन्ने प्रश्न जहाँको त्यहीँ नै छ । महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । यिनीहरूको भूमिका गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय छ । जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् त्यस्तो ठाउँमा उनीहरुले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन्, तर पनि उनीहरुको कदर र मनोबल उच्च राख्ने काम हुन सकेको छैन । यो अत्यन्त दुःखको कुरा हो । नेपालमा स्वयंसेवाको अभ्यास धेरै पुरानो भएपनि पछिल्ला दिनमा नयाँ पुस्तालाई आकर्षित गर्न सकिएको छैन । स्वयंसेवक विकास र परिचालन सम्बन्धी कुनै निश्चित निकाय नहुनु, स्वयंसेवी कार्यको कुनै मापदण्ड नहुनु र स्वयंसेवकको कामको मूल्याङ्कन कतै नहुनुले यस कामलाई व्यवस्थित गर्न नसकिएको हो । यसर्थ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसले नयाँ स्वयंसेवकहरुलाई आकर्षित गर्नुको साथै पुरानाहरुको कामको कदर गर्दै उनीहरुलाई थप काम गर्न हौसल्ला प्रदान गर्ने वातावरण सिर्जना गर्न सकोस् ।