नेपालको कुल जनसंख्याको पच्चिस प्रतिशत युवा अहिले पनि रोजगारीको खोजीमा छन् । उनीहरु कतिपय विदेशी भूमिमा जान बाध्य छन् भने कतिपयले स्वदेशमै आशा बोकेर बसिरहेका छन् । युवा स्वरोजगारी र युवा उद्यमशीलताका विषयमा व्यापक विचार विमर्श हुने गर्छन् तर त्यसको सही कार्यान्वयन भने हुन सकेका छैनन् । समस्याहरु उजागर हुन्छन्, समाधानको प्रयासका लागि योजना बन्छन्, तर सही र वास्तविक कार्यान्वयनमा आउँन गाह्रो छ । नेपालले हरेक आर्थिक वर्षको नीति र कार्यक्रममा यी र यस्ता विभिन्न खालका योजनाहरु समावेश गर्ने गर्छ तर कार्यान्वयनको पाटो भने उपयुक्त र प्रभावकारी देखिदैन । सरकारको नीति र कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा हरेक कोणबाट देशका लाखौ युवाहरु बेरोजगार विहीन भएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता अत्यावश्यक र न्यूनतम जनताका आवश्यकतालाई परिपूर्ति गर्ने तर्फ सरकारको ध्यान पुग्न नसक्दा युवालाई देशमै टिकाउन सक्ने वातावरण बनेको छैन । बेरोजगारका लागि सीप र दक्षता अनुसारको रोजगारी, उनीहरुको जागर र जोसलाई आर्थिक सम्वृद्धिको बाटोमा लग्न सकियो भने मात्र देशले असल, जिम्मेवार नागरिक प्राप्त गर्ने हुँदा राज्यको ध्यान त्यसतर्फ जानु जरुरी छ ।
उच्च शिक्षा प्राप्तिसंगै आर्थिक उपार्जनका लागि विदेशिएका पाँच लाखभन्दा धेरै युवा नेपालमै फर्केर केही गरौं भन्ने सोंचमा देखिन्छन् तर उनीहरुको सोंचसँग हाम्रा नीति र कार्यक्रमहरु तालमेल खादैनन् । उनीहरुका लागि अनुदान भन्दा पनि सही र सदाचारी श्रमको व्यवस्थापनका साथै देश र माटोले मागेको भूगोल, बजारीकरणमा पनि तालमेल खानेखालका नीतिहरुलाई कार्यान्वयन गर्नुको विकल्प छैन । युवा विदेश पलायन भए भनेर चिन्ता गर्नुको साटो विदेशको अनुभव र जागर अनि सीप बोकेर स्वदेश आउँदै गरेका युवालाई स्वदेशमै टिकाउने खालको उच्च सोंच बन्नुपर्ने हुन्छ । अनि मात्र स्वरोजगार र रोजगारीका सम्भावनाहरुले ठाउँ पाउँछन् र युवाले स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रतिफलको आशमा काम सुरु गर्न सक्छन् । अन्यथा भाषण र खोक्रा नीतिले देश बन्दैन, युवा पलायन रोकिदैन ।