रासायनिक मलको बढ्दो प्रयोगका कारण खेतीयोग्य जमिनको उर्वराशक्ति खस्कदै गएको छ । कृषि उत्पादनका लागि उर्वर मानिने पाल्पा सहितका पहाडी जिल्लाहरुमा रासायनिक मलको प्रयोग बढी गर्दा माटोमा अम्लीयपन समेत बढ्दै गएको छ । जसका कारण माटोको उर्वराशक्ति खस्किन पुगेको कृषि प्राविधिकहरु बताउने गरेका छन् । कृषिको लागि अत्यन्त उर्वर मानिएको पहाडी जिल्ला पाल्पामा पछिल्लो समय अम्लीपन बढेको छ । यहाँ गत आर्थिक वर्षको डाटालाई हेर्ने हो भने पनि ११ सय ७ माटोको नमूना परीक्षणमा २ सय ८१ नमूना माटो अम्लीय देखिएको छ । यो अत्यन्त धेरै नै हो । यस्तो अम्लीयपनका कारण माटो बिग्रदै गएको हो । यसको समयमै ख्याल गरिएन भने उत्पादनमा धेरै कमी आउने निश्चित छ । माटोको उर्वराशक्ति घट्दै जाँदा समेत कसैको पनि ध्यान जान सकेको छैन । यो अत्यन्त दुःखको कुरा हो । माटोको महत्वलाई बुझाउन सरकारी तवरबाट कार्यक्रम हुने नगरेका होइनन्, तर घट्दो उर्वराशक्ति बढाउनतर्फ कसैको पनि ध्यान छैन । हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाइने गरेको छ । मंगलबार पनि नेपालसहित विश्वभर यो दिवस मनाइएको छ ।
स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ तर दिनहुँ घट्दै गएको माटोको उर्वराशक्ति बढाउनेतर्फ भने कसैले पनि चासो देखाएका छैनन् । दिवसका दिन गरिने कार्यक्रम औपचारिकतामा मात्र सिमित बन्न पुगेको छ । माटोमा भएको अम्लीय पदार्थलाई हटाउन कृषि चुनको प्रयोग गर्नुपर्ने हुन्छ । यसको साथै बढी भन्दा बढी कम्पोष्ट मल, जैविक मल प्रयोग गर्नका लागि कृषकहरुलाई सचेतना जगाउनुको साथै प्रोत्साहनका कार्यक्रम ल्याउन आवश्यक छ । बालीनालीका बोट खेतमा जलाउँदा माटोको गुणस्तर तथा उर्वरा सन्तुलन कायम गर्ने सूक्ष्म जीवहरू मर्नाले र एउटै किसिमका मात्र बाली पटक–पटक लगाइरहनाले पनि माटो बञ्जर बन्दै गएको छ । यही गतिमा उर्वर माटो बिग्रिँदै गए खाद्य उत्पादनमा ठूलो प्रभाव पर्ने देखिन्छ । यसलाई नियन्त्रण गर्न हरियो मल, गोबर तथा प्रांगारिक मलको प्रयोग बढाउने र सकेसम्म रासायनिक मलको प्रयोग कम गर्नतर्फ कृषक र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।