नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विहीबार मनाइएको छ । विशेष गरी नागरिक उड्डयन प्राधिकरणले दिवसलाई विशेष महत्वका साथ लिने गर्दछ । शिकागो कन्भेन्सन लागु भएपछि सन् १९९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले यो दिवस मनाउँदै आएको छ । संयुक्त राष्ट्रसंघको महासभाले १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो । आइकाओमा नेपालसहित १ सय ९२ राष्ट्र सदस्य छन् । हाल नेपालमा सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमसहित एक दर्जन निजी कम्पनीका साना ठूला विमानहरूले बाह्य तथा आन्तरिक उडान गर्दै आएका छन् । नेपालमा यो दिवस मनाउँदै गर्दा हवाइ सेवालाई सुरक्षित, भरपर्दो बनाउन नसकिएको व्यापक गुनासो हुने गरेको छ । यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिए पनि बर्सेनि विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित रहेको हो कि भन्ने आशंका उत्पन्न हुने गरेको छ ।
विश्वमा सर्वाधिक विमान दुर्घटना हुने देशमध्ये नेपाल पनि एक हो । स्थानीय मौसमको अवस्था पूर्वानुमान गर्ने परिपाटीको अभाव, छोटा रनवे र न्याभिगेशनका लागि पर्याप्त प्रविधि नहुँदा दुर्घटना हुने गरेको हो । त्यति मात्र होइन कमजोर नियमन, व्यापारिक दवाब, चालक दलका सदस्यहरूले निर्धारण गरिएको नियमको पालना नगर्दा पनि दुर्घटना दोहोरिने गरेका छन् । घटनाहरु दोहोरिन नदिनका लागि उड्डयन तथा हवाइ सुरक्षालाई सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । यसका लागि स्तरीय हवाइ सेवाका लागि चाहिने भौतिक पूर्वाधार, विमानस्थलहरुको स्तरोन्नति, हवाई नियम र अन्तर्राष्ट्रिय मापदण्डको पालना गरिनुुपर्छ । उड्डयनका सन्दर्भमा भवितव्य बाहेकका क्षेत्रमा सतर्कता अपनाउने विषयमा सरकारले नीति, नियम तय गरी नेपालको नागरिक उड्डयनलाई विश्वासिलो र सुरक्षित बनाउनु अहिलेको आवश्यकता हो । तसर्थ यसतर्फ सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।