Shittalpati
चापपानीमा लिफ्टिङ्ग खानेपानी योजनाको शिलान्यास, एक सय ४० घर परिवार लाभम्वित हुने

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका ९ चापपानीमा लिफ्टिङ्ग सहितको खानेपानी योजनाको शिलान्यास गरिएको छ ।
जरुवा खानेपानी लिफ्टिङ्ग उपभोगक्ता समितिले प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १ करोड ४० लाखको लागतमा निर्माण गर्न लागेको आयोजनाको मंगलबार गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले शिलान्यास गरेका हुन् । योजनाको शिलान्यास गर्दै अध्यक्ष बस्यालले जनताको स्वच्छ खानेपानी उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न योजनाले महत्वपूर्ण टेवा पुग्ने बताए । गाउँपालिकाले खानेपानी समस्या समधान गरी प्रत्येक घरहरुमा स्वच्छ खाने पुर्‍याउन एक घर एक धारा अभियानलाई अगाडि बढाएको उनले जानकारी दिए । जरुवा खानेपानी योजना कालीगण्डकी लिफ्टि खानेपानी योजना पछिको ठूलो र गौरबको योजना भएकाले यस क्षेत्रका धेरै उपभोक्ताहरु लाभाम्वित हुने अध्यक्ष बस्यालले विश्वास व्यक्त गरे ।

गाउँपालिका भित्र पानीका प्रशस्त मुहानहरु भएपनि तिनीहरुको व्यवस्थापन गर्न नसक्दा खानेपानीको समस्या भएकाले त्यस्ता ठाउँहरुको पहिचान गरी संघीय र प्रदेश सरकारको समन्वयमा समस्या समधानका लागि थुप्रै योजनाहरु अगाडि बढाइएको उनले बताए । उनले उपझोक्ता समितिलाई समयमै काम सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । अध्यक्ष बस्यालले भने, ‘योजना सम्पन्न गर्न गाउँपालिकाले पूर्णरुपमा सहयोग गर्ने छ ।’ स्वच्छ खानेपानीको अभाव झेल्दै आएका चापपानीका उपभोक्तहरुलाई पर्याप्त स्वच्छ खानेपानी वितरण गर्न उपभोक्ता समिति मार्फत आयोजना सुरु गरिएको वडाअध्यक्ष थानेश्वर तिमिल्सीनाले बताए ।

खानेपानी योजना सञ्चालनपछि उपभोक्तालाई शुद्ध पानी उपलब्ध भएर पानीजन्य रोगको खतरा हटेर जानेमा उनले विश्वास व्यक्त गरे । अध्यक्ष तिमिल्सीनाले भने ‘वडावासीलाई व्यवस्थित खानेपानी घर घरमै पुर्‍याउने लक्ष्यका साथ योजनाको थालनी गरेका हौं, योजनालाई निर्धारित समयमै सम्पन्न गरी वडावासीको दैनिकीलाई सहज बनाइनेछ ।’ यो योजना मार्फत बझादी दवासे, खहरेखोला, सिखरे, जुकीया, फुक्टुङ्ग लगायत आसपासका १ सय ४० घर धुरीका एक हजार उपभोक्ताहरु लाभम्वित हुने तिमिल्सीनाले बताए । यही वर्षमै काम सक्ने गरी योजना अगाडि बढाइएको उपभोक्ता समितिका अध्यक्ष केशर खाँणले बताए ।

१ करोड ४० लागत मध्ये सुरुवातमा २० लाखाको बजेट मार्फ काम थालिएको खाँणले जानकारी दिए । उनले भने ‘दुई लिफ्ट मार्फत काम अगाडि बढ्ने छ ।’ ३ वटा ६०/६० हजार लिटरका ट्याङ्की निर्माण गरी पानी संकलन गरिने अध्यक्ष खाँणले बताए । खोलाको किनारमा भएपनि स्वच्छ खानेपानी उपभोग गर्न नपाउँदा समस्या झेल्नु परेको भन्दै स्थानीय उपभोक्ता ज्ञानराज तिमिल्सीनाले योजना शिलान्यासले खुसी लागेको बताए । उनले भने ‘खेर गईरहेको खोलाको पानी व्यवस्थापन गर्ने आफ्ना वर्षौदेखिको सपना पूरा हुनेभो ।’ वडा कार्यालय र गाउँपालिकाको पहलमा योजना अगाडि बढेको हो । स्वच्छ खानेपानी उपभोग गर्न पाउने भएपछि स्थानीयमा खुसी छाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update