Shittalpati
पर्वत जोगाऔं

नेपाललाई पर्वतहरूको राजधानी भनेर चिन्ने गरिन्छ । प्राकृतिक सौन्दर्यताको प्रतिक, वातावरणीय विविधताको धौतक, हिमश्रृंखला र पहाड हाम्रा पर्वत हुन् । नदी नालाको श्रोत, जल, जमीन अनि जंगलको समिश्रण पनि हाम्रा विशाल पर्वत र हिमश्रृंखला नै हुन् । तर सुन्दर पर्वतहरु अहिले कालापहाड जस्ता देखिन थालेका छन् । हिमालमा हिउँ नै पर्न छोडेको छ । हिमरेखा माथि–माथि सर्दै जान थालेका छन् । पानीको सञ्चिती घटेको छ । पहाडमा समेत खानेपानीका मुहान तथा खोला खोल्साहरूमा पानीको मात्रा घट्दै गएको छ । विश्वव्यापी रूपमा बढिरहेको कार्बन उत्सर्जनका कारण मुलुकको तापक्रम बढिरहेको छ । यसको सीधा असर हिमालय क्षेत्रमा पर्दा हिमाल, हिमनदी र हिमतालहरू पग्लिने र फैलने गति तीव्र भइरहेको छ । हिमालमा हिउँ नपर्नु, परेको हिउँ चाँडै बिलाएर जाने र हिमालका फेदमा हिमतालको क्षेत्रफल बढ्दै जाने गरेको तथ्यले जलवायु परिवर्तनको सीधा असर पर्वतहरुमा परेको सहजै अनुमान गर्न सकिन्छ । नदी नाला र ताल तलैयाहरुको संरक्षण नहुनु चुरे क्षेत्रको दोहनले हिमाल, पहाड र तराईका भू–भागमा बसोवास गर्नेहरु प्रति पर्ने प्रत्यक्ष र अप्रत्यक्ष वातावरणीय असरलाई सुक्ष्म र विस्तृत रुपमा कुनै पनि क्षेत्रबाट अध्ययन नहुने जस्ता घटनाले गर्दा समेत हामी दिनप्रति दिन विभिन्न समस्याबाट घेरिदै गएका छौं ।

हरेक वर्ष ११ डिसेम्बरमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइन्छ । यस वर्ष पनि सोमबार नेपालसहित विश्वभर  विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष यो दिवस मनाउने गरिए पनि जोखिम अवस्थामा रहेका पर्वतहरु जोगाउने विषयमा कसैको पनि ध्यान जान सकेको छैन । यो अत्यन्त दुखको कुरा हो । हाम्रो साझा भविष्यलाई जगेर्ना गर्ने हो भने जलवायुमा भइरहेको परिवर्तनविरुद्ध लडाइँ लड्न आवश्यक छ । सुन्दर पर्वत जोगाउने अहिलेको चुनौती सरकार एक्लैले मात्र थेग्न सक्दैन । नागरिक समाज, निजी क्षेत्र, सामाजिक संघसंस्था, समाजका प्रतिष्ठित संस्था सबैको सहकार्य हुन जरुरी छ । यो मुद्दा कुनै राजनीतिक पार्टी विशेष वा सरकार विशेषको रुचि र प्राथमिकताको विषय मात्रै हुन सक्दैन । यसको प्रत्यक्ष मारमा समाजको सबै वर्ग, समुदाय र क्षेत्र परेको छ । त्यसैले राष्ट्रिय एजेन्डा बनाएर सरकार, राजनीतिक दल, सरोकारवाला निकाय र समाजका सबै तह र तप्काबीच हातेमालो गर्दै यसविरुद्धको लडाइँ लड्न जरुरी छ । यसो गर्न सकियो भने मात्र हाम्रा पर्वतहरु जोगिन सक्छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update