Shittalpati
लोकतन्त्रको विकल्प नखोजौ

सोंंच र हेराईमा परिवर्तन हुनुपर्नेमा त्यो भएको पाइदैन । समस्याहरुको समाधानमा एक्यवद्धता हुनुपर्नेमा त्यसो हुन सकेको छैन । इतिहास भजाएर वर्तमानमा सेवा र सुविधाका कुरा गर्नेहरुले वर्तमान प्रतिको भावना र परिदृश्यलाई परिमार्जन नगरे सम्म मुलुकले नयाँ पिडीलाईसँगै लिएर हिंड्न सक्दैन । त्यस कारण पिडीदर पिडीले इतिहाससँगै वर्तमानको आवश्यकतालाई परिपूर्ति गर्नु नै आजको आवश्यकता हो । दलीय व्यवस्थाको विकल्प भनेकै रुपान्तरित दलीय व्यवस्था नै हो, जसरी लोकतन्त्रमा एउटा सरकार असफल हँुदा अर्को सरकारको परिकल्पना गरिन्छ । त्यसरी नै दलहरुले राम्रो काम गर्न नसक्दा, त्यसको विकल्प अर्को दल हुनुपर्छ । त्यसकारण जुन दलले जसरी कर्म गर्छ त्यसरी फल प्राप्त गर्छ भन्ने कुराको आधारभूत मूल्य र मान्यतालाई परिपूर्ति गर्ने जनता जर्नादन नै लोकतन्त्रका आधारशीला हुन्, तर यहाँ त जनता पनि एक छाक भात र द्रव्यमा आफ्नो मतको मूल्य तोक्ने परिपाटीका कारण लोकतन्त्र प्रतिको वितृष्णा मौलाउँने डर बढेको अवस्था हो ।

सरकारले राम्रो काम नगरेको कुरा राम्रैसंग व्याख्या गर्नेहरुका लागि वैकल्पिक आधारभूत बाटो सरकार परिवर्तनका अवयवहरु नै हुन् । संघीयताको वालापन र संविधानको मूलभूत सिद्धान्तहरु प्रति हुने गरेका अनायासपूर्ण भ्रम छर्ने कामले जनताको कहिल्यै पनि सफलताको बाटो पहिल्याउँन सक्दैन भन्ने कुरामा हामी सबै सचेत हुनुपर्छ । अन्यथा लोकतन्त्र माथिको प्रहारले गर्दा प्राप्त उपलब्धी मै दरार आउँन सक्छ । जनताका आशा र भरोशामाथि कुठाराघाट हुने बाहेक केही पनि हुन सक्दैन । लोकतन्त्रको विकल्प, लोकतान्त्रिक संविधानको सफल कार्यान्वयन बाहेक अरु केही पनि हुन सक्दैन भन्ने कुरा सबैलाई चेतना भया ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update