Shittalpati
लोक भजन संरक्षण गर्न  रिडीमा ‘भजन महोत्सव’ हुँदै, तयारी तीव्र 

पाल्पा, गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा भजन महोत्सव हुन लागेको  छ । रुरु धार्मिक सेवा सञ्चार प्रालिले पुष १ गते नवौ भजन महोत्सव तथा शिखा शुत्र भजन प्रतियोगिताको गर्न लागेको हो । 

विवाह पञ्चमीको अवसरमा महोत्सव तथा प्रतियोगिता गर्न लागिएको रुरु धार्मिक सेवा सञ्चारले जनाएको छ  । पछिल्लो समय लोप हुन लागेका लोक भजनहरुको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको प्रालिका अध्यक्ष चुरामणी तिमिल्सीनाले बताए । उनले  भने ‘सनातन हिन्दू धर्म, संस्कार र संकृतिका रूपमा रहेको लोक भजन संरक्षणका लागि हामीले अगुवाइ गरिरहेका छौं ।’ महोत्सव गरेर होस् वा प्रतियोगिता आयोजना गरेरै किन नहोस् भजनहरुको संरक्षण र प्रवद्र्धन गर्नु पर्छ भनेर नै विगत ८ वर्षदेखि सक्रिय रुपमा लाग्दै आएको तिमिल्सीनाको भनाई छ । ‘युवा पुस्ता विदेश पलायन हुने बूढापाकाको भजनमोह पुस्तान्तरण नहुँदा समस्या छ, लोक भजन संरक्षण गर्नका लागि पुस्तान्तरण गर्न आवश्यक छ’, उनले भने । कार्यक्रममा विगतका वर्षहरुमा जस्तै दोहोरो शंख बजाउने प्रतियोगिता, करोड दीप प्रज्वलन, पत्रकार, उत्कृष्ट  कृषक, असल  बुहारी,उत्कृष्ट विद्यार्थी र  दाताहरुलाई सम्मान  गरिने छ । यस्तै दुना टपरी  प्रतियोगिता, शिखा सुत्र  प्रतियोगिता, विभिन्न  पाठ, चौरासी  पुजा, तुला दान , पाठ पारायण ,तथा विविध कार्यक्रम गर्ने  प्रालिका अध्यक्ष तिमिल्सिनाले जानकारी  दिए ।  

भजन प्रतियोगितामा प्रथम हुनेलाई  ११ हजार र प्रमाणपत्र ,द्धितिय हुनेलाई  ७ हजार र प्रमाणपत्र, तृतीय  हुनेलाई ५ हजार र प्रमाण पत्र र  सान्त्वना हुनेलाई २ हजार र प्रमाणपत्र प्रदान गरिने छ । साथै  सहभागी प्रतियोगीलाई  १  हजार र प्रमाणपत्र समेत दिइने जनाइएको छ । यस्तै शंख बजाउने  प्रतियोगितामा  प्रथम  हुनेलाई  १ हजार ५ र प्रमाणपत्र द्धितिय हुनेलाई  १ हजार र प्रमाणपत्र , तृतीय हुनेलाई  ७ सय र  प्रमाणपत्र, सान्त्वना हुने २ जनालाई  ५ सयका दरले प्रदान गरिने छ ।  यस्तै दुना टपरीतर्फ  प्रथम  हुनेलाई  २ हजार  र प्रमाणपत्र, द्वितीय हुनेलाई  १ हजार ५ सय र प्रमाणपत्र, तृतीय  हुनेलाई  १ हजार र प्रमाणपत्र, सान्त्वना  हुने २ जनालाई  ५ सय  प्रदान गरिने छ । यस्तै  शिखा शुत्र  प्रतियोगितामा  ८ बर्षदेखि  २५ वर्षसम्मकाहरु लागि ५ सयदेखि  १ हजार ५ सय सम्म, २५ बर्ष देखि  ५० सम्मका लागि  ५ सयदेखि  १ हजार ५ सम्म र  ५० वर्षदेखि माथिल्लो  उमेर समूहका लागि पनि उचित पुरस्कार रहेको आयोजकले जनाएको छ ।

महोत्वसको तयारी तीव्र पारिएको रुरु अनलाईन सञ्चार प्रालिका प्रधान  सम्पादक  विष्णु  प्रसाद पाण्डेले जानकारी  दिए ।  उनका अनुसार सम्पूर्ण भक्तजनलाई जानकारीको लागि प्रचार– प्रसारसँगै निमन्त्रणा समेत गरिएको छ । महोत्वस अवलोकन  गर्न आउने सम्पुर्ण भक्तजनहरुलाई भण्डाराको समेत व्यवस्थासँगै सम्पूर्ण पितृहरुको सम्झना गर्दै पितृ महापुराण, पाठपारायण, चुरासी  पुजा, कालीगण्डकीमा तीन  जिल्लामामै  तामाको  तोरण साथै खर, कुस, जनै तथा फुलमालाको तोरण पनि तारिने छ ।  बेद पाठ, चण्डी पाठ, शिवजिको पुजा,ग्रहशान्ती पनि गरिने छ ।  कार्यक्रममा १ हजार भन्दा माथि दान  गर्ने दातालाई सम्मान  गरिने समेत  सम्पादक पाण्डेले जानकारी  दिए ।  कार्यक्रम  रुरुक्षेत्र धामको पवित्र स्थल रुरुधाम रिडीमा गरिने पनि प्रालिका खेमराज ज्ञवालीले  बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update